२४ असार २०८३, बुधबार

महेश बस्नेत चढेको गाडीमा मसी प्रहार गर्ने युवा कांग्रेसका क्रियाशील सदस्य !

मंसिर ७, २०८२
विराटनगर
महेश बस्नेत चढेको गाडीमा मसी प्रहार गर्ने युवा कांग्रेसका क्रियाशील सदस्य !

विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने व्यक्तिहरू नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खुलेको छ ।

बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू चढेको गाडीमा रातो मसी भरिएको बेलुन प्रहार भएको थियो ।

मसी प्रहार गर्ने व्यक्तिहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – १ का २५ वर्षीय संजोग गौतम र विराटनगर– २ का १९ वर्षीय अर्पित कुँवर रहेका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेस निकट रहेको पुष्टि भएको हो । 
 
गौतम गत स्थानीय निर्वाचनमा निर्वाचन परिचालन कमिटीको सचिव थिए । त्यसपछि उनले नगर सभापति दीपक चापागाईंको सचिवालयमा पनि काम गरेका थिए ।

पक्राउ परेका अर्का युवक अर्पित कुँवर पनि कांग्रेसका क्रियाशील सदस्य हुन् । नगर सभापति चापागाईंका अनुसार दुवैजना सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएका थिए ।

तर, गत भदौ २३ र २४ गतेको ‘जेनजी’आन्दोलनपछि उनीहरू पार्टीको गतिविधिमा सक्रिय नरहेको सभापति चापागाईंले बताएका छन् ।

काठमाडौंबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा संघको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रममा सहभागी त्यसतर्फ जाँदै थिए ।

उनीहरू विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाले मसी भरिएको बेलुन प्रहार गरेका थिए ।

बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।

नगरसभापति चापागाईंले बस्नेत चढेको गाडी आफ्नै भाइ पर्ने सुजल लामाको भएको बताउँदै घटना अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् ।

घटनापछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्