
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यतिबेला फेरि सामाजिक सञ्जालमा छाएका छन् । उनी आफ्नो उत्कृष्ट ‘बाइसाइकल किक गोल’ कारण चर्चामा आएका हुन् ।
साउदी प्रो–लिगको आइतबार राति सम्पन्न खेलमा उनले त्यो गोल गरेका हुन् । उक्त खेलमा रोनाल्डोको क्लब अल–नासरले अल–खालिजलाई ४–१ गोलले हराएको थियो ।
रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा उक्त गोल गरेका थिए । त्यसअघि, अल–नासरका लागि जोआओ फेलिक्स, वेस्ली र साडियो मानेले गोल गरेका थिए ।
अल–खालिजका लागि भने एकमात्र गोल निर्धारित समयको ४७औँ मिनेटमा मुराद अल–हवावीले गरेका थिए । रोनाल्डोले आफ्नो सक्रिय खेलजीवनमा गरेको यो नौ सय ५४औँ गोल हो ।
४० वर्षीय पोर्चुगिज स्टार रोनाल्डो आफ्नो सक्रिज खेलजीवनमा गरेको यो तेस्रो ‘बाइसाइकल किक गोल’ हो ।
सन् २०१८ को च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा उनले युभेन्ट्सविरुद्ध यस्तै गोल गरेका थिए । त्यतिबेला उनी रियल म्याड्रिडबाट खेल्थे ।
यसैगरी, उनले सन् २०२४ को नोभेम्बरमा नेसन्स लिगमा पोल्यान्डविरुद्ध पनि यस्तै गोल गरेका थिए । त्यतिबेला उनले आफ्नो राष्ट्रिय टोली पोर्चुगलबाट गोल गरेका थिए ।
आफ्नो पछिल्लो जितसँगै तालिकाको पहिलो स्थानमा आसिन अल–नासरले निकटतम प्रतिद्वन्द्वीसँग चार अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।
पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो सन् २०२३ मा साउदी ब्यवसायीक लिग खेल्न अल–नासरमा आबद्ध भएका हुन् । तर, उनले क्लबलाई उपाधि चुमाउन सकेका छैनन् ।