
सोमबार राजधानी काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा नेपाली कांग्रेसका ९० भन्दा बढी संस्थापनपक्षीय नेताहरू भेला भए । भेलाको 'एजेन्डा' ११ मंसिरमा बस्ने केन्द्रीय समिति बैठकका लागि गुटको रणनीति तय गर्नु थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार ‘जुनसुकै अवस्था’मा निर्वाचनअघि महाधिवेशन हुन नदिने भेलाको निष्कर्ष रह्यो ।
‘मंसिर दोस्रो साता हाम्रा तल्ला तहका समितिहरूको समयावधि सकिन्छ । ११ मंसिरमा बस्ने बैठकबाट समितिको म्याद थप्नुपर्छ र यसका लागि प्रस्ताव ल्याउनुपर्छ भन्नेमा छलफल भयो’ ती नेताले भने ‘महाधिवेशनको कार्यतालिका र मितिको विषयमा पनि कसरी अघि बढ्ने भन्नेमा गहन छलफल गर्यौं ।'
जुनसुकै हालतमा १५ औँ महाधिवेशन वैशाखसम्म धकेल्ने आफूहरूको रणनीति रहेको उनले सुनाए ।
‘विशेष महाधिवेशन पक्षधर तथा महामन्त्रीहरूको पनि फेस सेभ गर्ने गरी वैशाखका लागि कार्यतालिका ल्याउनुपर्छ । यसका लागि केन्द्रीय समितिमै बहुमत पुर्याउनुपर्छ भनेर हामी उठ्यौं‚’ ती नेताले थपे‚ ‘११ गते केन्द्रीय समिति बैठक बस्नुअघि हामी पुनः बस्छौं।’
सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएरै छलफल भइरहेको दाबी ती नेताको छ ।
भेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत पनि सहभागी थिए ।

देउवालाई सक्रिय भूमिकामा तान्ने खेल
पार्टीमा सभापति शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किएसँगै उनीनिकट नेताहरू देउवा निवास पुग्ने र सामूहिक तथा एकल संवाद गर्ने क्रम बढेको छ । त्यसैको सिलसिलामा केही दिनअघि संस्थापन पक्षका नेताहरू अनौपचारिक छलफलमा बसेका थिए ।
‘सात भाइ' समूह भनेर चिनिने प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महतमध्ये केही नेता पनि छलफलमा सहभागी थिए । उक्त बैठकमा सहभागी भएका नेता बालकृष्ण खाँणले प्रश्न उठाए- ‘तपाईंहरूलाई यो संस्थापन टीम १६ औं महाधिवेशनलाई पनि चाहिन्छ कि अहिले नै सिध्याउने?’
संस्थापन पक्षकै २५ केन्द्रीय सदस्य महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा लाग्दै चुनावअघि जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपश्चात् खाँणको यो अभिव्यक्ति आएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवा स्वदेश फिर्ता भएपश्चात् उनीनिकट समूहको ‘आत्मविश्वास’ बढेको छ ।
‘अब कसरी अघि बढ्ने? निर्वाचन र महाधिवेशनमा कसरी जाने? विशेष महाधिवेशन पक्षधरहरूलाई कसरी ट्याकल गर्ने ? जस्ता विषयमा एकल तथा सामूहिक छलफल गर्न तथा उहाँको निर्देशन सुन्न हामी निरन्तर पुग्ने गरेका छौँ,’ सो समूहका एक नेताले भने ।
उनका अनुसार देउवासँग छलफल गर्न सबैभन्दा बढी विमलेन्द्र निधि र कृष्ण सिटौला पुग्ने गरेका छन् । आगामी निर्वाचनमा देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गराउने प्रक्रियामा पनि निधि र सिटौलाको दबाबमूलक भूमिकाले काम गरेको नेताहरू बताउँछन् ।

२८ असोजमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । सोही दिनबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको थियो । देउवा १० कात्तिकमा उपचारका लागि भन्दै सिंगापुर उडे ।
उक्त बैठक डेढ महिनासम्म लम्बिए पनि कांग्रेसले महाधिवेशनबारे निर्णय लिन सकेको छैन ।
दुई हजार ४८७ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरिएको छ । तर, संस्थापन पक्षीय नेताहरू चुनावअघि विशेष वा नियमित कुनै पनि महाधिवेशन गर्न नहुने अडानमा छन् ।
सभापति देउवा कात्तिक २८ मा स्वदेश फर्किएका छन् । यसबीचमा आइतबार मात्र राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दा सभापति देउवाकै हस्ताक्षर प्रयोग भएको छ ।
पार्टीको सक्रिय भूमिकाबाट बिदा लिएको ठानिएका देउवालाई पुरानै भूमिकामा फर्काउने रणनीतिकै हिस्साअन्तर्गत दल दर्ता गराइएको हो । देउवाकै हस्ताक्षरमा दल दर्ता भएपछि कांग्रेस पार्टी पंक्ति तरंगित बनेको छ । महामन्त्री गगन थापाले अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै त्यसबाट आउने नयाँ नेतृत्वले नै चुनावको टिकटमा हस्ताक्षर गर्ने दाबी गरेका छन् ।
गगनले सोमबार फेसबूकमा लेखेका छन्–
अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।
देउवालाई देखाएर शक्ति जोगाउने रणनीति!
देउवाले चाहेर कांग्रेसको नेतृत्व छाडेका हैनन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आफू र पत्नी आरजू राणा देउवा (तत्कालीन अवस्थामा परराष्ट्र मन्त्री)माथि आक्रमण भएपश्चात् ‘नचाहेरै’ उनले पदबाट विश्राम लिनुपर्यो ।
पदबाट विश्राम लिए पनि पार्टीमा उनको प्रभाव कहिल्यै घटेन । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवालाई नसोधी कुनै गतिविधि गरेनन् । त्यसमाथि नेताहरू सिटौला र निधिले पार्टीमा जुनसुकै निर्णय लिनुपूर्व देउवाको निर्देशन लिनुपर्ने अड्डी कसे ।
संस्थापन समूहमै रहेका अर्का एक नेताका अनुसार महामन्त्रीद्वयको दबाब र प्रभावमा परेर खड्का ‘गुटीय भावनाविपरीत’ हिँड्छन् कि भनेर सिटौला र निधिले दबाब बढाइरहे ।
‘कार्यवाहक सभापतिज्यूलाई सात भाइले कन्ट्रोलमा राखेकै हुन् । महामन्त्रीहरूको विचारमा सहमत हुन्छन् कि भनेर कृष्ण दाइ र विमलेन्द्र दाइले सभापति शेरबहादुर देउवालाई देखाएर निरन्तर दबाब दिएकै हो‚’ देउवानिकट अर्का एक नेताले भने ।
ती नेताको दाबी अनुसार ‘पुनः नेतृत्व लिनुपर्यो भन्दै’ संस्थापन समूहका नेताहरू देउवाको पुग्ने गरेका छन् । जसको नेतृत्व उनै सिटौला र निधिले गरिरहेका छन् । यी दुवै नेता १५ औँ महाधिवेशनमा देउवा समूहबाट सभापति बन्ने दाउमा छन् ।

देउवालाई रिझाउनु पर्छ र उनले टीमको नेतृत्व दिन्छन् भन्ने आशमा दुवैले उनलाई जबरजस्ती सक्रिय भूमिकामा तानिरहेको देखिएको छ ।
महामन्त्रीद्वयले भनेअनुसार विशेष महाधिवेशन भए आफूहरूको राजनीतिक करियर पनि समाप्त हुने भय उनीहरूमा देखिन्छ ।
‘शेखर कोइरालालाई नेता मान्न तयार नभएका संस्थापन समूहका नेताले गगन-विश्वलाई नेता मान्न सक्दैनन् । पार्टी उनीहरूको लाइनमा हिँड्यो भने शक्तिहीन हुन्छौं भन्ने भय उनीहरू (सात भाइ)मा देखिन्छ‚’ अर्का एक नेताले भने ।
इतर समूहका नेताहरू पनि सिटौला र निधि हावी भएको तथा उनीहरूले सभापति देउवाको ‘कान फुकेको’कारण महाधिवेशनको कार्यतालिका आउन नसकेको बताउँछन् । आफ्नो स्वार्थका लागि उनीहरूले देउवालाई जबरजस्ती सक्रिय भूमिकामा तानिएको इतर समूहका एक नेताले बताए ।
देउवालाई पुनः सक्रिय भूमिकामा तान्न खोज्नुको अर्को कारण भनेको राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण पनि हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यस्तै, २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने भनेर मिति घोषणा गरिएको छ ।
यी दुवै निर्वाचनमा देउवालेनै टिकट बाँडून्, त्यसो हुँदा आफू निकटलाई पदमा पुर्याउन सकिन्छ भन्नेमा आश सात भाइ समूहमा देखिन्छ । ‘चुनाव आएको छ । टिकट वितरण उहाँले नै गर्नुपर्छ भन्नेमा हामी छौं‚’ संस्थापन पक्षीय एक नेताले थपे ।
निर्वाचन आयोगमा दल दर्ता गराउन सभापति देउवाले हस्ताक्षर गर्नुमा त्यही रणनीतिले काम गरेको देखिन्छ ।
कुनै पनि बहानामा सभापति शेरबहादुर देउवालाई शक्तिमा फर्काउने काम सही नहुने धारणा इतर समूहको छ । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी कार्यवाहक दिएर हिँडिसकेका सभापति देउवालाई पुनः पदमा फर्काउन खोजिनु सबैका लागि प्रत्युत्पादक हुने बताउँछन् ।
‘रस्साकस्सी गराउन सभापतिज्यूलाई फेरि सक्रिय भूमिकामा ल्याउने कुराले कसैलाई फाइदा हुँदैन । घरमा बसेको सिंहलाई धेरै जिस्क्याउने वा उचाल्ने काम राम्रो होइन‚’ भण्डारीले लोकान्तरसँग भने ।
संस्थापननिकट मानिएका केन्द्रीय सदस्य रामहरि खतिवडाले भने सभापति देउवालाई सक्रिय बनाउन कोही पनि नलागेको बताए ।
‘सबै काम कार्यवाहक सभापतिले नै गर्ने हो,’ उनले भने, ‘पार्टीलाई एक बनाउन र आउने जोखिमबाट बचाउन सबैलाई समेटेर लैजानुपर्छ भन्नेमा सभापतिको संकल्प छ ।’