१२ साउन २०८३, मंगलबार
एसीसी यू–१९ प्रिमियर कप क्रिकेट

निरज यादवको उत्कृष्ट शतकसँगै नेपालले साउदीलाई ८ विकेटले हरायो

मंसिर ९, २०८२
काठमाडौं
निरज यादवको उत्कृष्ट शतकसँगै नेपालले साउदीलाई ८ विकेटले हरायो

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने ३०.४ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर ब्याट्सम्यान निरज कुमार यादवले उत्कृष्ट शतकीय पाली खेले । उनले एक सय १४ रन बनाए ।

निरजले यसक्रममा केवल ९० बलको सामना गरी एक छक्का र १३ चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चल क्षेत्रीले पनि अविजित ६६ रनको योगदान गरे ।

निश्चलले ७३ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । अर्का ओपनर वंश क्षेत्रीले पनि ३० रन बनाए । उनले २० बलमा एक छक्का चार चौका प्रहार गरे । सिबरिन श्रेष्ठ एक रनमा अविजित रहे ।

प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा हङकङ पनि छ ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ । यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्