
चर्चित भारतीय कमिडियन कपिल शर्माले क्यानडास्थित आफ्नो क्याफेमा भएको गोलीबारीको घटनाबारे प्रतिक्रिया दिएका छन्। उनले क्यानडाको प्रहरी प्रशासनको क्षमतामाथि प्रश्न उठाउँदै यो विषयले त्यहाँको संसदमा समेत प्रवेश पाएको बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका अनुसार क्यानडाको ‘सरे’ मा रहेको शर्माको क्याफेमा पटक–पटक गोली प्रहारका घटना भएका थिए। हालै एक कार्यक्रममा बोल्दै शर्माले त्यहाँको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरे।
“त्यहाँ तीन पटक फायरिङ भयो,” शर्माले भने, “मलाई लाग्छ कि सायद त्यहाँको प्रहरीसँग यसलाई नियन्त्रण गर्न सक्ने पर्याप्त शक्ति वा क्षमता छैन।”
शर्माले आफ्नो क्याफेमा भएको आक्रमणपछि क्यानडाको संसदमा समेत यसबारे छलफल भएको खुलासा गरे। उनले भने, “मामला दर्ता भएपछि संसदमा यसबारे चर्चा भयो। मलाई धेरै मानिसहरूले फोन गरेर भने कि त्यहाँ धेरै आपराधिक घटनाहरू भइरहेका थिए, तर मेरो क्याफेमा गोली चलेपछि मात्र यो ‘न्यूज’ बन्यो।”
उनले यो घटना चर्चामा आएपछि त्यहाँको कानुन व्यवस्था सुधार्नका लागि कदमहरू चालिन थालेको समेत जानकारी दिए।