
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन् ।
बुधबार सम्पन्न खेलमा एक्लैले पाँच विकेट लिएका उनले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनको पाँच विकेटसँगै चितवनले विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेको थियो । उनले भने, 'विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले पनि सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।'
कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए । कुमारले भने, 'मैदानमा आउदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।'
विराटनगर किङ्ससँगको खेलमा उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे । १९ वर्षीय देब्रे हाते स्पिनर उनी ‘प्लेयर अफ दी म्याच’ समेत भए ।