२९ जेठ २०८३, शुक्रबार

मध्यरातमा बाराकी एक बालिकासँग चिनियाँ नागरिकले बिहे गर्दै गरेको भेटिएपछि...

मंसिर ११, २०८२
काठमाडौं
मध्यरातमा बाराकी एक बालिकासँग चिनियाँ नागरिकले बिहे गर्दै गरेको भेटिएपछि...
प्रतीकात्मक तस्वीर

बाराको करैयामाई गाउँपालिका– १ हरैयामा भएको एक विवाहले गाउँ नै अचम्ममा परेको छ ।​

मध्यराति एक चिनियाँ नागरिक र बालिकाबीच विवाह हुँदै गरेको सूचना पाएपछि प्रहरीले विवाहमण्डपमै पुगेर दुवैलाई नियन्त्रणमा लिएको छ ।

हरैयामा पहिला पनि यस्तै घटना भएको हुन सक्ने आशंकासहित प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले चिनियाँ नागरिक र मुस्लिम बालिकाको नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार चिनियाँ नागरिकले उमेर नपुगेकी बालिकासँग विवाह गर्न लागेको सूचना पाएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो  ।

प्रहरीले मण्डपमा पुगेर वरबधुलाई नियन्त्रणमा लिन खोज्दा दुलही पक्षले आफूहरूले राजीखुशीका साथ विवाह गराइदिन लागेको बताएका थिए । तर, दुलहीको विवाह गर्ने उमेर नपुगेपछि नियन्त्रणमा लिनुपरेको जानकारी एसपी कुँवरले दिए ।

विगतमा काठमाडौंमा म्यारिज ब्युरो खोलेर यसैगरी चिनियाँले नेपाली युवतीलाई विवाह गरेर लैजाने गरेका थिए । ‘चिनियाँ नागरिकले उमेर नै नपुगेकी नेपाली बालिका विवाह गर्न खोज्नुको कारणबारे अनुसन्धान गर्छौं,’ एसपी कुँवरले लोकान्तरसँग भने, ‘उमेर नपुगेकी छोरी चिनियाँलाई दिन किन परिवार राजी भयो भन्ने विषयको पनि कारण खोजिरहेका छौं ।’

चिनियाँ नागरिक बायाँ र बेहुलीका बुवा दायाँ

उनका अनुसार विगतमा पनि चिनियाँ नागरिकले मुस्लिम समुदायकी महिलालाई विवाह गरेर लगेको प्रारम्भिक सूचना आएको छ । त्यसबारे पनि अनुसन्धान भइरहेको परिवारले जनाएको छ ।

मधेश प्रदेशमा चिनियाँ नागरिक र मुस्लिम समुदायका महिलाबीच विवाह हुन लागेको यो घटना नयाँ रहेको प्रहरीले जनाएको छ ।

भारततिरका दुलाहा सामान्य रहे पनि चिनियाँ नागरिकसँगको विवाह नौलो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर चिनियाँलाई छोरी विवाह गरिदिन लागेको आशंका गरिएको छ ।

बेहुलीका बुवा जाकिर हुसेन, चिनियाँ नागरिक र बेहुलीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बेहुली पक्षलाई छुटाउन वाडाध्यक्ष सोनालाल साह जिल्ला प्रहरी कार्यालय बारा पुगेका थिए । तर, प्रहरीले बेहुलीको उमेर नपुगेकाले ‘बाल विवाहलाई प्रोत्साहन नगर्नुस्’ भनेर साहलाई फर्काएको थियो ।

प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकले काठमाडौंमै बस्दा विवाहको चाँजोपाँजो मिलाएका थिए । बालिकाका अभिभावक विवाह गर्न तयार भएपछि उनी बारा पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्