२१ असार २०८३, आइतबार
युक्रेन युद्ध अन्त्य गर्ने प्रयास

पुटिनको अडान– पूरै डोनबासबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्धविराम !

मंसिर १२, २०८२
काठमाडौं
पुटिनको अडान– पूरै डोनबासबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्धविराम !
Photo EPA Via BBC

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि आफ्ना पुराना माग पुनः दोहोर्‍याएका छन् । उनले मस्कोले दाबी गरेका भूभागबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्ध रोक्ने बताएका हुन् ।

पुटिनले बलपूर्वक कब्जा गरिएका युक्रेनी भूभागहरूको कानूनी मान्यता माग्दै आएका छन् । ती भूभागमा २०१४ मा रुसमा मिलाइएको क्राइमिया प्रायद्वीप र अहिले अधिकांश भाग रुसी नियन्त्रणमा रहेको पूर्वी डोनबास क्षेत्र पर्छन् ।

युक्रेनले भने डोनबासको रुसी नियन्त्रण स्वीकार गर्ने विषयमा कहिल्यै विचार नहुने बताउँदै आएको छ । आक्रमणकारीलाई पुरस्कृत गर्नु अस्वीकार्य रहेको युक्रेनको भनाइ छ ।

पुटिनको ताजा अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर झेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्ने वास्तविक प्रयासलाई बेवास्ता गरिरहेको बताए ।

यस्तै, कीर्गिस्तान भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै पुटिनले 'कीभ अन्तिम युक्रेनी रहँदासम्म लड्न चाहन्छ' भन्ने आरोप लगाए । उनले थपे, 'आवश्यक परे रुस पनि त्यसका लागि तयार छ ।'

पुटिनको दाबी अनुसार युद्धभूमि अहिले रुसकै हातमा छ र डोनबासबाट युक्रेनी सेना फिर्ता गए मात्र लडाइँ रोकिनेछ ।

'यदि उनीहरू फिर्ता गएनन् भने हामीले त्यसलाई बल प्रयोगबाटै पूरा गर्छौं,' उनले चेतावनी दिए ।

तर, पूर्वी क्षेत्रमा केही अगाडि बढे पनि रुस ठूलो सैन्य क्षति झेल्दै आएको छ  ।

अमेरिकी अनुसन्धान संस्थान ‘इन्स्टिट्यूट फर द स्टडी अफ वार’ का अनुसार हालको प्रगति निरन्तर रह्यो भने मस्कोलाई डोनेट्स्कको बाँकी क्षेत्र पूर्ण नियन्त्रणमा लिन अझै करिब दुई वर्ष लाग्न सक्छ ।

पुटिनको ताजा टिप्पणीलाई गत हप्तादेखि चलिरहेका कूटनीतिक गतिविधिप्रतिको पहिलो प्रत्यक्ष प्रतिक्रिया मानिएको छ ।

यही अवधिमा अमेरिका र युक्रेनले अक्टोबरमा अमेरिकी तथा रुसी अधिकारीले तयार गरेको भनिएको एक प्रारम्भिक शान्ति–खाकाबारे छलफल गरेका थिए ।

null

मस्कोको मागअनुसार तयार गरिएको प्रारम्भिक प्रस्ताव जेनेभामा अमेरिकी र युक्रेनी प्रतिनिधिबीचको भेटपछि परिमार्जन भएको थियो । युरोपेली प्रतिनिधिहरू पनि छलफलमा सहभागी थिए । तर, सो प्रस्तावले कब्जामा परेका भूभागको प्रश्नलाई स्पष्ट रूपमा सम्बोधन नगरेको बताइन्छ । यही विषय र युक्रेनका लागि सुरक्षा ग्यारेन्टी मस्को–कीभबीच मुख्य विवाद बनेका छन् ।

पुटिनका अनुसार सो नयाँ मस्यौदाको प्रतिलिपि रुसले पाएको छ र त्यो भविष्यको सम्झौताका लागि आधार बन्न सक्छ । तर, उनले केही विशेष बुँदाहरूलाई कूटनीतिक भाषामा परिमार्जन आवश्यक रहेको बताए ।

क्राइमिया र डोनबासलाई कानूनी रूपमा नभए पनि वास्तविक रूपमा रुसी नियन्त्रणमा रहेको मान्ने सम्भावनाबारे सोधिँदा पुटिनले भने, 'यही विषय अमेरिकी समकक्षीसँगको मुख्य छलफल हो ।'

उनका अनुसार विशेष दूत स्टिभ विट्कफसहितको अमेरिकी टोली अर्को हप्ताको शुरूमा मस्को पुग्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विट्कफसँगै आफ्नो ज्वाइँ जारेड कुशनर पनि मस्को जान सक्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बिहीबार राति गरेको सम्बोधनमा अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलले बुँदाहरूलाई शान्ति र सुरक्षातर्फ रूपान्तरण गर्न छलफल गर्ने बताए । उनले कसैको नाम भने लिएनन् । उनका सहयोगी एन्ड्री यरमाकका अनुसार अमेरिकी सेना सचिव ड्यान ड्रिस्कुल सप्ताहन्तमा कीभ आउनेछन् ।

ट्रम्पले बुधबार रुस र युक्रेनबीच केवल केही मतभेदका बुँदाहरू बाँकी रहेको दाबी गरेका थिए । ती बुँदाहरू समाधान गर्न राष्ट्रपति जेलेन्स्कीसँग सम्भावित भेटवार्ताको प्रगतिमा निर्भर हुने उनले बताएका थिए ।

पत्रकारसँगको कुराकानीमा पुटिनले फेरि युक्रेनी नेतृत्वप्रति आलोचना दोहोर्‍याए । उनले हालको युक्रेनी नेतृत्वलाई अवैध भने र तिनीहरूसँग कुनै कागजमा हस्ताक्षर गर्नुको अर्थ छैन भनेर दाबी गरे ।

फेब्रुअरी २०२२ मा रुसले पूर्ण आक्रमण शुरू गरेपछि युक्रेनमा मार्शल ल लागू छ र नियमित चुनाव हुन सकेको छैन । यसअघि युक्रेनी संसदले राष्ट्रपति जेलेन्स्कीको वैधानिकता पुष्टि गरेको थियो । उनको नियमित कार्यकाल यस वर्षको शुरूमा सकिएको थियो ।

युरोपेली नेताहरूले हालै व्यक्त गरेका चेतावनीहरू पुटिनले खारेज गरे । ती चेतावनीमा रुसले आगामी दशकहरूमा युरोपमाथि आक्रमण गर्न सक्ने आशंका व्यक्त गरिएको थियो । पुटिनले भने, 'त्यो कुरा हामीलाई हास्यास्पद लाग्छ ।'

व्हाइट हाउस र राष्ट्रपति ट्रम्प हालको शान्ति पहलप्रति अपेक्षाकृत सकारात्मक देखिए पनि युरोपेली नेताहरूले पुटिनको अभिप्रायप्रति सन्‍देह प्रकट गर्दै आएका छन् ।

बुधबार युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायनले रुस दोस्रो विश्वयुद्धपछिको मानसिकतामा अडिएको बताइन् ।

उनका अनुसार रुस युरोपलाई प्रभाव क्षेत्रको रूपमा हेर्दै स्वतन्त्र राष्ट्रहरूलाई टुक्राउन चाहन्छ ।

– बीबीसीको सहयोगमा

कमेन्ट गर्नुहोस्