१९ असार २०८३, शुक्रबार

झरीमा आइसक्रिम किन्न निस्किँदा हराएकी बालिका १७ वर्षपछि घर फर्किइन्

मंसिर १२, २०८२
काठमाडौं
झरीमा आइसक्रिम किन्न निस्किँदा हराएकी बालिका १७ वर्षपछि घर फर्किइन्

१७ वर्षअघि झरी परिरहेको समयमा आइसक्रिम किन्न घरबाट निस्किएकी बालिकाको अन्ततः आफ्ना आमाबुबा र परिवारसँग पुनर्मिलन भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी–१० बाट हराएकी किरण नामकी ती १० वर्षीया बालिका १७ वर्षपछि आफ्नो जन्मगाउँ कसुर फर्किन सफल भएकी हुन् । 

बीबीसी हिन्दीका अनुसार किरण पाकिस्तानको पञ्जाब प्रान्तको कसुर जिल्लाको एक सानो गाउँकी हुन्। सन् २००८ मा भारी वर्षाबीच आइसक्रिम खोज्न घरबाट निस्केकी उनी बाटो बिराएर हराएकी थिइन्।

घर फर्कने प्रयासमा अनेकौँ घण्टा सडकमा भौंतारिए पनि घर पहिचान गर्न नसक्दा कसैले उनलाई इस्लामाबादस्थित एधी सेन्टरमा बुझाइयो। त्यहीँबाट उनलाई कराँचीको एधी सेन्टर पठाइयो, जहाँ उनले आफ्नो बाल्यकालदेखि युवावस्था सम्मका १७ वर्ष बिताइन्।

परिवारले उनलाई भेट्न अनेकौँ प्रयास गरेका थिए, तर कुनै सुराग नपाएपछि किरण फेला पर्ने आशा नै हराउँदै गएको थियो। परिवारका एक वृद्ध नातेदार असद मुनीरका अनुसार किरण हराएपछि गाउँभरि खोजी गरिए पनि फेला पार्न सकिएको थिएन।

पञ्जाब प्रहरीको ‘सुरक्षित शहर कार्यक्रम’ अन्तर्गत शुरू गरिएको ‘मेरा प्यारा’ परियोजनाले किरणको जीवनमा निर्णायक मोड ल्यायो। कराँचीको एधी सेन्टरको नियमित निरीक्षणका क्रममा परियोजनाको टोलीले किरणको अन्तर्वार्ता लिएर उनका सम्भावित आफन्तहरूको खोजी थालेको थियो। अन्तर्वार्तामा किरणले आफ्नो गाउँ कसुर र बुबा अब्दुल मजीदको नाम मात्र याद रहेको बताइन्। यही न्यून जानकारीलाई आधार मानेर परियोजनाले उनको गृहगाउँ पहिचान गरेको समाचारमा उल्लेख छ । 

करिब एक वर्षअघि शुरू गरिएको ‘मेरा प्यारा’ परियोजनाले अहिलेसम्म ५१ हजार हराएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइसकेको छ। यही पहलअन्तर्गत किरणको परिवारसम्म सूचना पुगेपछि १७ वर्षदेखि टुटेको आशा फेरि बिउँझिएको हो । 

सम्पर्क स्थापित भएपछि पुलिस टोलीले किरणलाई पञ्जाब ल्यायो, जहाँ उनको परिवारले आँसु र खुसीका साथ स्वागत गर्‍यो। किरण अब आफ्नो गाउँमा परिवारसहित नयाँ जीवन शुरू गर्न तयारी गर्दैछिन्। वर्षाको दिन आइसक्रिम खोज्दै निस्किँदा शुरू भएको १७ वर्ष लामो पीडा, संघर्ष र अपमानको यात्रा अन्ततः परिवारको अँगालोमा पुगेर समाप्त भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्