
धरान ६ पुस– पछिल्लो समय राजधानी काठमाडौँ उपत्यका, पोखरा, नारायणगढ, बुटवल, धरान, बिराटनगर लगायतका शहरमा लागूऔषधको कारोबार तथा प्रयोग बढ्दै गएको पाइएको छ ।
नेपाल प्रहरीले पक्राउ गरेको लागूऔषध, यसका कारोबारी र प्रयोगकर्ताको तथ्याङ्क हेर्दा यी प्रमुख शहरहरुमा यस्ता धन्दा बढ्दै गएको देखिन्छ । बिगत केहि बर्ष यता पूर्वको सुन्दर नगरी धरान लागूऔषधको हबको रुपमा परिणत भइरहेको तथ्याङ्कले देखाउँछ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक बर्ष २०७१/७२ मा ६७ जनालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो । आर्थिक बर्ष ०७२/७३ मा यो संख्या बढेर १७१ पुग्यो । आर्थिक वर्ष ०७३/७४ मा व्यापक रुपमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिए पनी युवामाझ लोकप्रिय शहर धरानमा यसको खासै प्रभाव नपरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानको रेकर्ड अनुसार यो आर्थिक बर्षमा २ सय २६ जनालाई मुद्दा चलाएको छ । यो बर्षको साउनदेखि मंसिरसम्म जम्मा चार महिनामा ९० जनालाई मुद्दा चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलका अनुसार यी सबै लागूऔषध ओसार–पसार र बेचबिखनमा संलग्न मानिसहरु हुन् । उनका अनुसार पक्राउ पर्ने अधिकांश १६ देखि २५ बर्ष उमेर समूहका छन् ।

ओसारपसारमा महिला, प्रयोग गर्ने लाहुरेका सन्तान
धरानमा लागूऔषध ओसार–पसारमा पछिल्लो समय महिलाहरु संलग्न हुन थालेका छन् । ‘मोटरसाइकल तथा स्कुटरमा नेपाल–भारत सीमाना जोगबनीबाट लुकाइ छिपाइ ल्याएर धरानमा बिक्रीवितरण गर्ने महिलाको संख्या पनि बढ्दो छ,’ वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक जस बहादुर लिम्बुले लोकान्तरसँग भने । उनका अनुसार अहिले धरानमा लागूऔषध प्रयोग गर्नेमा अधिकांश लाहुरेका छोरा–छोरी छन् ।

‘सम्पन्न परिवारका सदस्य भएकाले खासै आर्थिक समस्या पर्दैन । त्यसैले उनीहरुले सजिलै लागूऔषध प्राप्त गर्न सक्छन । घरमा अभिभावक नहुने भएकाले सेवन गर्न पनि समस्या हुँदैन,’ लिम्बुले भने ।
त्यतिमात्र नभएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरिरहेका मेडिकल विध्यार्थीहरुले समेत लागूऔषध सेवन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । केही मेडिकल हलहरुले पनि खुल्ला रुपमा लागूऔषध तथा लागूऔषध सेवन गर्न प्रयोग हुने सिरिन्ज (सुई) को बिक्रि गरेको भेटिएको छ ।
बस्तीमा पाइने, खोलाको किनारमा भेटिने
धरान बजार र यस वरिपरी को क्षेत्रमा केहि यस्ता बस्तीहरु छन् जहाँका सबै व्यक्तिले लागूऔषध ओसारपसार र बिक्रीवितरण गर्छन् । पानबारा बस स्टेन्ड नजिकको सुकुम्बासी बस्ती र धरान–१७ रेल्वे लाइनमा रहेको सुकुम्बासी बस्ती लागूऔषध तथा घरेलु मदिरा बिक्रिवितरण हुने मुख्य ठाउँ हो । बेरोजगार समस्याले गर्दा यस क्षेत्रका प्राय सबै युवाको धन्दा भनेको जोगबनी गएर लागूऔषध किन्ने र धरानमा बेच्ने रहेको छ ।
धरानका सबैजसो लागूऔषध प्रयोगकर्ताको सेवन गर्ने स्थान भनेको खोलाको किनार र एकान्त स्थानहरु हुन् । पानबारा स्टेन्ड नजकैको खहरेखोलाको किनारमा आहिले पनि लागूऔषध प्रयोग गरिसकेका सुईका खोल र सुईहरु भेटिन्छन् ।
एचआइभी संक्रमण बढ्ने खतरा
वडा प्रहरी कार्यालयका धरानका प्रमुख जस बहादुर लिम्बुका अनुसार धरानमा करिब पाँच हजार लागूऔषध प्रयोगकर्ता छन् । जसमध्ये पनि अधिकांश कलेजका विधार्थी र कशोर किशोरीहरु छन् । उनका अनुसार करिब १० प्रतिशतको हाराहारीमा एचआइभी संक्रमितहरु छन् । धरान क्षेत्रमा प्रयोग गरिने लागूऔषध भनेको सुईद्वारा लिइने नशा नै हो । जसको खुल्ला प्रयोगले संक्रमितको संख्या छिट्टै बढ्ने खतरा पनि रहेको छ ।

सीमामा कडाइ नहुँदा समस्या : प्रहरी
धरानमा लागूऔषध भित्रिने मुख्य तीन बाटो छन् । धनकुटाको छिन्ताङ्ग र भोजपुरको हसनपुरबाट गाँजा र चरेस भित्रिन्छ । विष्णुपादुका क्षेत्रमा प्रसस्त गाँजा पाइन्छ । साथै यही बाटो भएर सुनसरीको झुम्का हुँदै लागूऔषध धरान ल्याइन्छ । इटहरी हुँदै धरान प्रवेश गर्ने बाटो नै लागूऔषध भित्र्याउने मुख्य बाटो हो ।
अधिकांश मात्रामा यो बाटो हुँदै लुपिजेसिक, एभिल, डाइजापाम, फेनेरागन, नोर्फिन, मोप्रोक्सिभन, एसपीजस्ता लागूऔषध धरान भित्रिने गरेको छ । र प्रहरीले पनि सबै भन्दा धेरै यहि बाटोमा नै लागूऔषध बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार भारतसँग खुल्ला सीमाना भएको कारणले गर्दा पनि सजिलै लागु–औषध नेपाल भित्रिने गर्छ ।
प्रहरीको क्षेत्रअन्तर्गत पर्ने सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाइ नहुँदा समस्या भएको उनी स्वीकार्छन् । ‘पर्याप्त जनशक्ति नहुँदा पनि समस्या परेको छ । चुनावको प्रेसर सकिएकोले जनचेतना कार्यक्रमसँगै नियमित जाँच कडा गर्छौं,’ नायव उपरीक्षक पौडेलले लोकान्तरसँग भने ।
पछिल्लो समयमा भारतको जोगबनीमै गएर लागूऔषध सेवन गरेर फर्किनेको संख्या पनि बढेको छ ।