
नेपाली कांग्रेस संस्थापन पक्षको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले ‘लाइभन्दा’ बाहिर गएर राजनीति गरेको निष्कर्ष निकालेको छ ।
बानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्यांक्वेटमा जारी भेलाले खड्का र लेखकले सभापति शेरबहादुर देउवालाई समेत झुक्याउन खोजेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी एक नेताका अनुसार दुई नेता आफूहरूलाई ‘ठिक्क’ पारेर विशेष महाधिवेशन पक्षधरको एजेन्डामा एकमत भएको निष्कर्ष निस्किएको छ ।
‘पहिलेदेखिनै कुरा उठेको थियो । उहाँहरूलाई हामीले विश्वासमा लिन खोजे पनि धोका दिनुभयो भन्ने हामीले निष्कर्ष निकाल्यौं‚’ स्रोतले लोकान्तरसँग भन्यो ।
संस्थापन पक्षको उक्त भेलाले वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने निर्णय पनि गरेको छ ।
यदि सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले पुस मसान्तका लागि नियमित महाधिवेशनकै कार्यतालिका ल्याए पनि भोटिङमा लगेर फेल विमलेन्द्र निधि र कृष्ण सिटौलाले अगुवाइ गर्दै आएको समूहको निर्णय छ ।
‘अब उहाँ (कार्यवाहक सभापति)लाई हामी विश्वास गर्दैनौं भन्ने हाम्रो निचोड हो‚’ स्रोतले भन्यो ।
भेलामा विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नभएसम्म नियमित कार्यतालिका ल्याउन नमिल्ने विचार नेताहरूले राखेका थिए ।
‘विशेषको हस्ताक्षर फिर्ता नभई पुसमा नियमित महाधिवेशनको कार्यतालिका आए पनि त्यो मान्य हुँदैन । पूर्ण वा रमेशले भन्दैमा यो पक्षधर हस् भन्दैमा अघि बढ्दैन‚’ स्रोतले थप्यो ।
यदि विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नभई पुस मसान्तमा नियमितका लागि कार्यतालिका आए केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्यतालिका अघि बढाउने र कार्यवाहक सभापतिको प्रस्ताव फेल गर्ने निर्णय भएको भेलामा सहभागी एक नेताले बताए ।
‘कार्यवाहक सभापतिले हामीसँग परामर्श र छलफल नगरी कार्यतालिका ल्याए महेन्द्रजीले ल्याएको कार्यतालिका पास गराउँछौं र उहाँको खेललाई पनि समाप्त पार्दिन्छौं‚’ स्रोतले थप्यो ।
१८ कात्तिकमा बसेको केन्द्रीय समितिमा सहमहामन्त्री यादवले वैशाखका लागि कार्यतालिका प्रस्तुत गरेका थिए । उनले २०८३ साल वैशाख २७, २८‚ २९ र ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।