
विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह- २०२५ सम्पन्न गरेको छ।
इटहरीको सोल्टी वेस्टेन्डमा आइतबार कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो।
यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management मा दीक्षित भएका कलेजले जनाएको छ ।
कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन् ।

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि उपस्थिति जनाउँदै स्नातकहरूको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे ।
उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे।
विराटनगर इन्टरनेशनल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त लिएको छ ।