२७ असार २०८३, शनिबार
एनपीएल 'सिजन टु'

शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डु प्ले–अफमा, पोखरालाई १३ रनले हरायो

मंसिर १८, २०८२
काठमाडौं
शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डु प्ले–अफमा, पोखरालाई १३ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार सम्पन्न पहिलो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पोखरा एभेन्जर्सले भने निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ५२ रनमात्र बनाउन सक्यो ।

जितसँगै काठमाडौ प्रतियोगिताको प्ले–अफ चरणमा पुगेको छ । सातौं तथा अन्तिम खेल खेलेको काठमाडौंले १० अंक बटुलेको छ ।

पोखरालाई जीतसम्म पुग्न नदिन काठमान्डुका बलरहरूले धारिलो बलिङ गरे । खासगरी, अन्तिम ओभरमा शाहब आलमले उत्कृष्ट प्रदर्शन गरे ।

उनले अन्तिम ओभरमा ह्याट्रिकसहित चार विकेट लिए । 

बीसौं ओभरको पहिलो बलमा ५४ रन बनाएर खेलिरहेका ऋषि धवनलाई मिलिन्द कुमारको हातबाट क्याच गराएका आलमले लगत्तैको बलमा विपिन खत्रीलाई विकेट किपरबाट स्टम्पिङ गराए । 

तेस्रो बलमा आकाश चन्द पनि मिलिन्द कुमारकै हतबाट क्याच भए । अन्तिम बलमा उनले सागर ढकाललाई पनि आउट गरे ।

समग्रमा उनले चार ओभरमा २५ रन खर्चिएर ६ विकेट हात पारे । करण केसी र सनी पटेलले पनि दुई–दुई विकेट लिए ।

पोखरा एभेन्जर्सका लागि ऋषि धवनले ५४ रन बनाए । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनले ३१ बलको सामना गरी दुई छक्का र तीन चौका प्रहार गरे ।

धनञ्जय लक्सनले पनि टोलीको खातामा ३० रन थपे । पाँचौं नम्बरका ब्याट्सम्यान धनञ्जयले केवल २७ बलमा एक छक्का र एक चौका हिर्काए ।

कप्तान कुशल भुर्तेलले पनि २२ रन बनाए । ओपनर ब्याट्सम्यान कुशलले २० बलमा दुई छक्का प्रहार गरे । जासन रोय १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए ।

त्यसअघि, काठमान्डुका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर बेन चार्ल्सवर्थले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले लामो समय क्रिजमा टिकेर ६४ रनको योगदान गरे ।

चार्ल्सवर्थले यसक्रममा केवल ५५ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । सातौं नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि अब्बल प्रदर्शन गरे ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा अनुभवी खेलाडी भीमले आक्रामक ब्याटिङ गर्दै केवल २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ५५ रन बनाए ।

काठमान्डुले २१ रनको कुल स्कोरमै दुई विकेट गुमाएको थियो । ओपनर आकाश त्रिपाठी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका रासिद खान पनि केवल सात रन बनाउँदै आउट भए । मिलिन्द कुमारले १४ बलमा एक चौकाको मद्दतले १३ रन बनाए ।

विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसन पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मोहम्मद आदिल आलम पनि सात बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए ।

कप्तान करण केसीले दुई बलमा चार रन बनाए । सनी पटेल दुई रनमा अविजित रहे । काठमान्डुले अतिरिक्त रूपमा ११ रन पायो ।

पोखराका बलर धनञ्जय लक्सनले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै १६ रन खर्चिए । कुशल भुर्तेलले दुई विकेट हात पारे । किरण ठगुन्ना र विपिन खत्रीले पनि एक–एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्