१० असार २०८३, बुधबार

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

मंसिर १८, २०८२
काठमाडौं
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् ।  

पक्राउ परेकामध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देश पठाइदिन्छु भन्दै ६ जना पीडितबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्