
विगत १० वर्षदेखि विद्यालयहरूमा स्वस्थ्य र प्रतिस्पर्धात्मक खेलमैत्री वातावरण बनाई भविष्यमा देशका लागि उत्कृष्ट एवं सक्षम खेलाडीको आधारशिला तयार गर्ने उद्देश्यले विद्यालय तहमा सञ्चालन हुने विभिन्न तरिका र मोडलहरू छन् ।
विद्यालयहरूलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने नीति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन निर्देशिकामा उल्लेखित भए पनि त्यो कागजमा मात्र सीमित देखिन्छ । व्यवहारमा भने कुनै कार्यनीति देखिँदैन ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका– २०७५ सम्म आइपुग्दा तेस्रो पटक संशोधन भइसकेको छ । हाल कायम रहेको निर्देशिकामा चालु शैक्षिक सत्रमा नियमित अध्ययनरत १८ वर्षभन्दा मुनिका कक्षा १२ सम्मका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।
१८ वर्षभन्दा माथिका विद्यार्थीहरू हो/होइन कसरी पत्ता लगाउने कुनै प्रविधि छैन । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट १३ करोड रुपैयाँ रहेको छ । नेपालमा ओभर एज (निर्धारित उमेरभन्दा बढी) का विद्यार्थी खेलाडीलाई राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउनु पुरानै रोग हो ।
दुई लाखको पाम एक्सरे मेशिन भए ओभर एजका विद्यार्थी खेलाडीहरू तुरुन्तै पत्ता लगाउन सकिन्छ । सम्बन्धित निकायको ध्यान यसतर्फ नजानु दुर्भाग्य हो । नेपालको समग्र खेलकुद विकास नहुनुमा खेलकुद टेक्नोलोजी (प्रविधि) नभित्रिनु र खेलकुद विज्ञानको विकास नहुनु प्रमुख कारण हो ।
यो प्रतियोगितामा विद्यालयस्तरको एथलेटिक्सतर्फ नयाँ राष्ट्रिय रेकर्ड बनाउने खेलाडीको उमेरलाई निकै बेवास्ता गरिएको पाइन्छ । तर, २०–२२ वर्षका विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड खेल्न आउँछन् र जितेर पनि जान्छन् ।
यसरी नै चल्दै आएको छ, राष्ट्रपति रनिङ शिल्ड । उद्देश्य एकातिर अनि, व्यवहार अर्कोतिर । नतिजा, राष्ट्रको करोडौं रुपैयाँ स्वाहा । यस्तो परम्पराले कम उमेरका प्रतिभावान खेलाडीहरू पलायन भएर जाने सम्भावनालाई पूरै बेवास्ता गरेको पाइन्छ ।
त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अझ प्रभावकारी बनाउन यसमा व्यापक सुधारको खाँचो देखिन्छ । सुधारका यी पाटोलाई व्यवहारमा उतार्न सके मात्र आगामी दिनमा नेपाली खेलकुदमा पनि नयाँ र प्रतिभाशाली खेलाडीहरू उत्पादन हुन सक्छन् ।
पहिलो, प्रतियोगिताको नाम नै 'राष्ट्रपति कप' भनेर नामाकरण गरिएको छ । यो नामले प्रतियोगितालाई नै राजनीतिकरण गरिएको भान हुन्छ । त्यसैले सबैभन्दा पहिले प्रतियोगिताको नाम नै परिवर्तन गरिनु आवश्यक देखिन्छ ।
त्यसैले, राष्ट्रपति कपको सट्टा 'राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता' राख्दा बढी स्वतन्त्र देखिन्थ्यो । राष्ट्रपति कपमात्र होइन देशभरि नै विभिन्न पार्टीका नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेको पाइन्छ ।
यसले के पुष्टि हुन्छ भने देश गणतन्त्रमा गए पनि मानिसहरूको मनोवृत्तिमा कुनै परिवर्तन आएको छैन । अमेरिका, जापान, चीन, भारतलगायतका राष्ट्रमा नेताहरूको नाममा कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गरिँदैन ।
दोस्रो, यो वर्षदेखि नगरपालिकालाई समेत समेटेर प्रतियोगिता सञ्चालन गर्दा सहभागी विद्यार्थीको सङ्ख्यामा वृद्धि हुने देखिन्छ । तर, प्रतियोगिता सञ्चालन गर्न अफिसियलहरूको निकै अभाव महसुस भएको पाइन्छ ।
उदाहरणका लागि एथलेटिक्स प्रतियोगिता स्तरीय रूपमा सञ्चालन गर्न स्थानीय स्तरमा कम्तिमा पनि २० जना, जिल्लामा ३० जना र राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न ४० देखि ५० जना अफिसियलको आवश्यकता पर्छ । त्यसैले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यस विषयमा ध्यान पुर्याउनु आवश्यक छ ।
तेस्रो, प्रतियोगिता सञ्चालन निर्देशिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीको विषयमा विशेष व्यवस्था गरिएको छ । निर्देशिका अनुसार, माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउँछन् ।
विद्यार्थीहरूलाई कुनै पनि बहानामा खेल्नबाट वञ्चित गर्नु हुँदैन । त्यसैले बढी उमेरका विद्यार्थीको लागि वैकल्पिक व्यवस्था गर्न सकिन्छ । गाउँका विद्यार्थीहरू केहीले ढिलो अध्ययन शुरू गर्छन् । कतिपय विद्यार्थी २० वर्षसम्म पनि विद्यालयमै हुन्छन् ।
तर, राष्ट्रपति रनिङ शिल्डमा बढी उमेरका खेलाडीले सहभागिता जनाउँदा १६–१७ वर्षका प्रतिभाशाली विद्यार्थी खेलाडीमाथि अन्याय हुन जान्छ । यस्तो स्थितिमा प्रतिभा पलायन वा 'ड्रप आउट' को जोखिम पनि बढ्न जान्छ ।
त्यसैले नियमित रूपमा अध्ययन गरेका १८ वर्षभन्दा मुनिका विद्यार्थीहरूले जन्मदर्ताको प्रमाणपत्र बुझाएरमात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ । निर्देशिकामै यसलाई उल्लेख गर्नु आवश्यक छ । युथ एसियन र युथ ओलम्पिक खेलमा पनि यस्तै नियम छ ।
चौथो, नेपालका कमै स्कूलहरूमा वैज्ञानिक तरिकाले खेलकुद प्रशिक्षण दिइन्छ । प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई नियमित रूपमा खेलकुद प्रशिक्षण गराउने व्यवस्था मिलाउनु आवश्यक छ । उदाहरणका लागि मित्रराष्ट्र श्रीलङ्कामा २५ जिल्लामा यस्ता खेलकुद विद्यालय छन्, जहाँ नियमित रूपमा शिक्षण र खेलकुद प्रशिक्षण कार्य हुन्छ ।
त्यसैले कम्तीमा पनि क्षेत्रीय प्रतियोगिता जित्ने प्रतिभावान खेलाडीहरूलाई सातवटै प्रदेशमा खेलकुद स्कूलहरू स्थापना गरेर पूर्णकालीन छात्रवृत्ति दिई विद्यार्थी खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन हुने मौका दिनु नितान्त जरुरी देखिन्छ ।
पाँचौं, एथलेटिक्स भन्नाले रनिङ, जम्पिङ र थ्रोइङ भन्ने बुझिन्छ । यो प्रतियोगितामा एथलेटिक्सको २८ वटा इभेन्टहरू राख्नु आवश्यक छैन । उच्चमाध्यमिक स्तरका केही इभेन्टहरूलाई झिकेर निम्न माध्यमिक स्तरका विद्यार्थीहरूका लागि केही फरक इभेन्ट समावेश गरेको खण्डमा सानै उमेरदेखि खेल्ने बानी बसाउन सकिन्छ ।
विद्यालयका विद्यार्थीहरूको हड्डी विकासकै क्रममा हुने र उनीहरूको शारीरिक तन्दुरुस्ती पनि कमजोर अवस्थामा हुने भएकाले ट्रिपल जम्प खेललाई प्रतियोगितामा समावेश नगर्नु नै राम्रो हुन्छ । माध्यमिक तहका छात्र–छात्राका लागि १०० मिटर, ४०० मिटर, ८०० मिटर, ३००० मिटर, ४ गुणा ४०० मिटर रिले, हाई जम्प, लङ जम्प, ज्याभलिन थ्रो र सटपुट स्पर्धा उपयुक्त हुन्छ । १४ वर्षमुनिका छात्र–छात्राका लागि १०० मिटर, ४०० मिटर, १५०० मिटर, लङ जम्प र सटपुट उपयुक्त हुन्छ ।
छैटौं, ७५ प्रतिशत विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामाबाट आफूलाई अलग्याएको अवस्था छ । यसको कारण गहनरूपमा खोजी गरिनु आवश्यक छ । त्यसपछि युवा तथा खेलकुद र शिक्षा मन्त्रालयको बीचमा दृढ इच्छाशक्ति र एकआपसमा समझदारी हुनु पनि उत्तिकै आवश्यक देखिन्छ ।
यदि सामुदायिक विद्यालयहरूलाई विभिन्न शीर्षकमा अनुदान दिँदा राष्ट्रपति रनिङ शिल्डमा सहभागिता अनिवार्य हुनुपर्ने शर्त राखेमा पनि विद्यार्थी खेलाडीको सहभागिता वृद्धि हुन्छ । तर भौगोलिक रूपमा विकट विद्यालयका विद्यार्थीलाई भ्रमण भत्ता र दैनिक खर्चको विशेष व्यवस्था गर्नुपर्ने हुन्छ । यसो भएमा स्रोत–साधनको अभाव भएका विद्यालयहरूले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सातौं, जिल्लास्तरीय प्रतियोगिताको पनि सञ्चारमाध्यममा चर्चा हुने वातावरण बनाइनु आवश्यक देखिन्छ । यसो भएमा विद्यार्थी र सम्बन्धित विद्यालयहरू पनि प्रतियोगितामा सहभागी हुन उत्साही बन्नेछन् । अहिलेको स्थितिमा सञ्चारमाध्यममा राष्ट्रिय प्रतियोगिताको मात्र बढी चर्चा हुने गरेको छ ।
आठौं, १४ वर्षमुनिका विद्यार्थीहरू पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदैछन् । यो सकारात्मक पक्ष हो । तर, विज्ञहरूको अल्पज्ञानका कारणले एथलेटिक्स खेलमा ट्रिपल जम्प इभेन्ट पनि राखिएको छ । यो कलिला विद्यार्थीहरूमाथि अपराध गरेसरह हो ।
ट्रिपल जम्प इभेन्टलाई अर्को शब्दमा हप–स्टेप–जम्प पनि भनिन्छ । जब खेलाडीले हप–पहिलो जम्प गरेर स्टेपको लागि ल्याण्ड गर्दा आफ्नो शारीरिक तौलभन्दा चारदेखि पाँच गुणा बढी भार थाम्नुपर्ने हुन्छ । त्यस्तो बेलामा खेलाडीको नलीखुट्टा भाँचिन सक्छ । त्यस्तो अवस्था आएमा जिम्मेवार को हुने ? निर्देशिकामा खेलाडीहरूको जीवन बिमाको समेत उल्लेख गरिएको छैन ।
नवौं, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दा समारोहको लागि छुट्टै बजेट राखिएको छ । यो अनावश्यक व्ययभार हो । समारोहको नाममा खेलाडीलाई मार्चपास गराउने र बालबालिकालाई चर्को गर्मीमा उभ्याएर विभिन्न पार्टीका नेताहरू र खेल पदाधिकारीहरूले लामो–लामो भाषण गर्ने प्रचलन छ ।
के खेलकुद प्रतियोगिता भनेको राजनैतिक प्रवचन गर्ने सम्मेलन हो र ? दुई–तीन घण्टा उभिएर थकित भएपछि जित्ने खेलाडीले पनि हार्न सक्ने सम्भावना बढ्छ । यो परम्पराको पनि अन्त्य हुनु आवश्यक छ ।
दशौं, खेलाडी उत्पादनको दृष्टिले महत्त्वपूर्ण भए पनि राष्ट्रपति रनिङ शिल्ड झारो टार्ने प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता सकिएपछि प्रतिभाशाली खेलाडीको संरक्षणमा कसैको ध्यान गएको पाइँदैन ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । यो प्रतियोगिताबाट उदाएका क्षमतावान खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था गर्न सके भविष्यमा राष्ट्रले प्रतिभाशाली खेलाडी पाउन सक्छ ।