२६ असार २०८३, शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड– प्रतियोगिताको नाममा जोखिमपूर्ण स्पर्धा, क्षमतावान खेलाडी संरक्षणमा उदासीनता

मंसिर १९, २०८२
काठमाडौं
राष्ट्रपति रनिङ शिल्ड– प्रतियोगिताको नाममा जोखिमपूर्ण स्पर्धा, क्षमतावान खेलाडी संरक्षणमा उदासीनता

विगत १० वर्षदेखि विद्यालयहरूमा स्वस्थ्य र प्रतिस्पर्धात्मक खेलमैत्री वातावरण बनाई भविष्यमा देशका लागि उत्कृष्ट एवं सक्षम खेलाडीको आधारशिला तयार गर्ने उद्देश्यले विद्यालय तहमा सञ्चालन हुने विभिन्न तरिका र मोडलहरू छन् ।

विद्यालयहरूलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने नीति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन निर्देशिकामा उल्लेखित भए पनि त्यो कागजमा मात्र सीमित देखिन्छ । व्यवहारमा भने कुनै कार्यनीति देखिँदैन ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका– २०७५ सम्म आइपुग्दा तेस्रो पटक संशोधन भइसकेको छ । हाल कायम रहेको निर्देशिकामा चालु शैक्षिक सत्रमा नियमित अध्ययनरत १८ वर्षभन्दा मुनिका कक्षा १२ सम्मका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

१८ वर्षभन्दा माथिका विद्यार्थीहरू हो/होइन कसरी पत्ता लगाउने कुनै प्रविधि छैन । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट १३ करोड रुपैयाँ रहेको छ । नेपालमा ओभर एज (निर्धारित उमेरभन्दा बढी) का विद्यार्थी खेलाडीलाई राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउनु पुरानै रोग हो ।

दुई लाखको पाम एक्सरे मेशिन भए ओभर एजका विद्यार्थी खेलाडीहरू तुरुन्तै पत्ता लगाउन सकिन्छ । सम्बन्धित निकायको ध्यान यसतर्फ नजानु दुर्भाग्य हो । नेपालको समग्र खेलकुद विकास नहुनुमा खेलकुद टेक्नोलोजी (प्रविधि) नभित्रिनु र खेलकुद विज्ञानको विकास नहुनु प्रमुख कारण हो ।

यो प्रतियोगितामा विद्यालयस्तरको एथलेटिक्सतर्फ नयाँ राष्ट्रिय रेकर्ड बनाउने खेलाडीको उमेरलाई निकै बेवास्ता गरिएको पाइन्छ । तर, २०–२२ वर्षका विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड खेल्न आउँछन् र जितेर पनि जान्छन् ।

यसरी नै चल्दै आएको छ, राष्ट्रपति रनिङ शिल्ड । उद्देश्य एकातिर अनि, व्यवहार अर्कोतिर । नतिजा, राष्ट्रको करोडौं रुपैयाँ स्वाहा । यस्तो परम्पराले कम उमेरका प्रतिभावान खेलाडीहरू पलायन भएर जाने सम्भावनालाई पूरै बेवास्ता गरेको पाइन्छ ।

त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अझ प्रभावकारी बनाउन यसमा व्यापक सुधारको खाँचो देखिन्छ । सुधारका यी पाटोलाई व्यवहारमा उतार्न सके मात्र आगामी दिनमा नेपाली खेलकुदमा पनि नयाँ र प्रतिभाशाली खेलाडीहरू उत्पादन हुन सक्छन् ।

पहिलो, प्रतियोगिताको नाम नै 'राष्ट्रपति कप' भनेर नामाकरण गरिएको छ । यो नामले प्रतियोगितालाई नै राजनीतिकरण गरिएको भान हुन्छ । त्यसैले सबैभन्दा पहिले प्रतियोगिताको नाम नै परिवर्तन गरिनु आवश्यक देखिन्छ ।

त्यसैले, राष्ट्रपति कपको सट्टा 'राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता' राख्दा बढी स्वतन्त्र देखिन्थ्यो । राष्ट्रपति कपमात्र होइन देशभरि नै विभिन्न पार्टीका नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेको पाइन्छ ।

यसले के पुष्टि हुन्छ भने देश गणतन्त्रमा गए पनि मानिसहरूको मनोवृत्तिमा कुनै परिवर्तन आएको छैन । अमेरिका, जापान, चीन, भारतलगायतका राष्ट्रमा नेताहरूको नाममा कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गरिँदैन ।

दोस्रो, यो वर्षदेखि नगरपालिकालाई समेत समेटेर प्रतियोगिता सञ्चालन गर्दा सहभागी विद्यार्थीको सङ्ख्यामा वृद्धि हुने देखिन्छ । तर, प्रतियोगिता सञ्चालन गर्न अफिसियलहरूको निकै अभाव महसुस भएको पाइन्छ ।

उदाहरणका लागि एथलेटिक्स प्रतियोगिता स्तरीय रूपमा सञ्चालन गर्न स्थानीय स्तरमा कम्तिमा पनि २० जना, जिल्लामा ३० जना र राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न ४० देखि ५० जना अफिसियलको आवश्यकता पर्छ । त्यसैले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यस विषयमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

तेस्रो, प्रतियोगिता सञ्चालन निर्देशिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीको विषयमा विशेष व्यवस्था गरिएको छ । निर्देशिका अनुसार, माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउँछन् ।

विद्यार्थीहरूलाई कुनै पनि बहानामा खेल्नबाट वञ्चित गर्नु हुँदैन । त्यसैले बढी उमेरका विद्यार्थीको लागि वैकल्पिक व्यवस्था गर्न सकिन्छ । गाउँका विद्यार्थीहरू केहीले ढिलो अध्ययन शुरू गर्छन् । कतिपय विद्यार्थी २० वर्षसम्म पनि विद्यालयमै हुन्छन् ।

तर, राष्ट्रपति रनिङ शिल्डमा बढी उमेरका खेलाडीले सहभागिता जनाउँदा १६–१७ वर्षका प्रतिभाशाली विद्यार्थी खेलाडीमाथि अन्याय हुन जान्छ । यस्तो स्थितिमा प्रतिभा पलायन वा 'ड्रप आउट' को जोखिम पनि बढ्न जान्छ ।

त्यसैले नियमित रूपमा अध्ययन गरेका १८ वर्षभन्दा मुनिका विद्यार्थीहरूले जन्मदर्ताको प्रमाणपत्र बुझाएरमात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ । निर्देशिकामै यसलाई उल्लेख गर्नु आवश्यक छ । युथ एसियन र युथ ओलम्पिक खेलमा पनि यस्तै नियम छ ।

चौथो, नेपालका कमै स्कूलहरूमा वैज्ञानिक तरिकाले खेलकुद प्रशिक्षण दिइन्छ । प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई नियमित रूपमा खेलकुद प्रशिक्षण गराउने व्यवस्था मिलाउनु आवश्यक छ । उदाहरणका लागि मित्रराष्ट्र श्रीलङ्कामा २५ जिल्लामा यस्ता खेलकुद विद्यालय छन्, जहाँ नियमित रूपमा शिक्षण र खेलकुद प्रशिक्षण कार्य हुन्छ ।

त्यसैले कम्तीमा पनि क्षेत्रीय प्रतियोगिता जित्ने प्रतिभावान खेलाडीहरूलाई सातवटै प्रदेशमा खेलकुद स्कूलहरू स्थापना गरेर पूर्णकालीन छात्रवृत्ति दिई विद्यार्थी खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन हुने मौका दिनु नितान्त जरुरी देखिन्छ ।

पाँचौं, एथलेटिक्स भन्नाले रनिङ, जम्पिङ र थ्रोइङ भन्ने बुझिन्छ । यो प्रतियोगितामा एथलेटिक्सको २८ वटा इभेन्टहरू राख्नु आवश्यक छैन । उच्चमाध्यमिक स्तरका केही इभेन्टहरूलाई झिकेर निम्न माध्यमिक स्तरका विद्यार्थीहरूका लागि केही फरक इभेन्ट समावेश गरेको खण्डमा सानै उमेरदेखि खेल्ने बानी बसाउन सकिन्छ ।

विद्यालयका विद्यार्थीहरूको हड्डी विकासकै क्रममा हुने र उनीहरूको शारीरिक तन्दुरुस्ती पनि कमजोर अवस्थामा हुने भएकाले ट्रिपल जम्प खेललाई प्रतियोगितामा समावेश नगर्नु नै राम्रो हुन्छ । माध्यमिक तहका छात्र–छात्राका लागि १०० मिटर, ४०० मिटर, ८०० मिटर, ३००० मिटर, ४ गुणा ४०० मिटर रिले, हाई जम्प, लङ जम्प, ज्याभलिन थ्रो र सटपुट स्पर्धा उपयुक्त हुन्छ । १४ वर्षमुनिका छात्र–छात्राका लागि १०० मिटर, ४०० मिटर, १५०० मिटर, लङ जम्प र सटपुट उपयुक्त हुन्छ ।

छैटौं, ७५ प्रतिशत विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामाबाट आफूलाई अलग्याएको अवस्था छ । यसको कारण गहनरूपमा खोजी गरिनु आवश्यक छ । त्यसपछि युवा तथा खेलकुद र शिक्षा मन्त्रालयको बीचमा दृढ इच्छाशक्ति र एकआपसमा समझदारी हुनु पनि उत्तिकै आवश्यक देखिन्छ ।

यदि सामुदायिक विद्यालयहरूलाई विभिन्न शीर्षकमा अनुदान दिँदा राष्ट्रपति रनिङ शिल्डमा सहभागिता अनिवार्य हुनुपर्ने शर्त राखेमा पनि विद्यार्थी खेलाडीको सहभागिता वृद्धि हुन्छ । तर भौगोलिक रूपमा विकट विद्यालयका विद्यार्थीलाई भ्रमण भत्ता र दैनिक खर्चको विशेष व्यवस्था गर्नुपर्ने हुन्छ । यसो भएमा स्रोत–साधनको अभाव भएका विद्यालयहरूले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सातौं, जिल्लास्तरीय प्रतियोगिताको पनि सञ्चारमाध्यममा चर्चा हुने वातावरण बनाइनु आवश्यक देखिन्छ । यसो भएमा विद्यार्थी र सम्बन्धित विद्यालयहरू पनि प्रतियोगितामा सहभागी हुन उत्साही बन्नेछन् । अहिलेको स्थितिमा सञ्चारमाध्यममा राष्ट्रिय प्रतियोगिताको मात्र बढी चर्चा हुने गरेको छ ।

आठौं, १४ वर्षमुनिका विद्यार्थीहरू पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदैछन् । यो सकारात्मक पक्ष हो । तर, विज्ञहरूको अल्पज्ञानका कारणले एथलेटिक्स खेलमा ट्रिपल जम्प इभेन्ट पनि राखिएको छ । यो कलिला विद्यार्थीहरूमाथि अपराध गरेसरह हो ।

ट्रिपल जम्प इभेन्टलाई अर्को शब्दमा हप–स्टेप–जम्प पनि भनिन्छ । जब खेलाडीले हप–पहिलो जम्प गरेर स्टेपको लागि ल्याण्ड गर्दा आफ्नो शारीरिक तौलभन्दा चारदेखि पाँच गुणा बढी भार थाम्नुपर्ने हुन्छ । त्यस्तो बेलामा खेलाडीको नलीखुट्टा भाँचिन सक्छ । त्यस्तो अवस्था आएमा जिम्मेवार को हुने ? निर्देशिकामा खेलाडीहरूको जीवन बिमाको समेत उल्लेख गरिएको छैन ।

नवौं, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दा समारोहको लागि छुट्टै बजेट राखिएको छ । यो अनावश्यक व्ययभार हो । समारोहको नाममा खेलाडीलाई मार्चपास गराउने र बालबालिकालाई चर्को गर्मीमा उभ्याएर विभिन्न पार्टीका नेताहरू र खेल पदाधिकारीहरूले लामो–लामो भाषण गर्ने प्रचलन छ ।

के खेलकुद प्रतियोगिता भनेको राजनैतिक प्रवचन गर्ने सम्मेलन हो र ? दुई–तीन घण्टा उभिएर थकित भएपछि जित्ने खेलाडीले पनि हार्न सक्ने सम्भावना बढ्छ । यो परम्पराको पनि अन्त्य हुनु आवश्यक छ ।

दशौं, खेलाडी उत्पादनको दृष्टिले महत्त्वपूर्ण भए पनि राष्ट्रपति रनिङ शिल्ड झारो टार्ने प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता सकिएपछि प्रतिभाशाली खेलाडीको संरक्षणमा कसैको ध्यान गएको पाइँदैन ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । यो प्रतियोगिताबाट उदाएका क्षमतावान खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था गर्न सके भविष्यमा राष्ट्रले प्रतिभाशाली खेलाडी पाउन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्