२६ असार २०८३, शुक्रबार

नेताका घर र कार्यालय जलाउनेविरुद्ध प्रहरीमा मोरङ एमाले, किटानी जाहेरी समेत दिइने

मंसिर १९, २०८२
विराटनगर
नेताका घर र कार्यालय जलाउनेविरुद्ध प्रहरीमा मोरङ एमाले, किटानी जाहेरी समेत दिइने

मोरङमा भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय र नेताहरूको घरमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । एमाले मोरङले क्षतिको विस्तृत विवरणसहित प्रहरीमा उजुरी दर्ता गराएको हो।

कात्तिक १३ गते बसेको जिल्ला कमिटी बैठकको निर्णयानुसार संयोजक उमाकान्त गौतमको नेतृत्वमा बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार जिल्ला नेतृत्वलाई बुझाइएको थियो। करोडौंको क्षति देखिएको प्रतिवेदन मिलेसँगै एमालेले सो दिन नै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गरायो।

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेका अनुसार अहिले समग्र घटनाको अनुसन्धानका लागि संस्थागत उजुरी दिइएको छ। आइतबारदेखि घटनामा संलग्न व्यक्तिहरूलाई नामसहित किटानी गर्ने तयारी गरिएको छ।

'पार्टी कार्यालय र नेताका घरमा आगजनी गर्न आएका व्यक्तिहरूको फोटो र भिडियो हाम्रोसँग छ। आइतबारदेखि प्रमाणका आधारमा नामै तोकेर कानुनी प्रक्रिया अघि बढाउँछौं,' घिमिरेले भने।

छानबिन प्रतिवेदनका अनुसार सबैभन्दा ठूलो क्षति पथरीशनिश्चरे नगर कमिटीको भवनमा भएको छ। आगजनी र तोडफोडबाट मूल्यवान सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।

विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बेलबारीमा ८ लाख ५० हजार, पथरीशनिश्चरेमा ३ लाख ५० हजार, उर्लाबारीमा १ लाख ६० हजार र मिक्लाजुङ गाउँ कमिटीको कार्यालयमा १ लाख ५० हजार रुपैयाँको क्षति भएको विवरण सार्वजनिक गरिएको छ।

null

नेताहरूको घरमा पनि आक्रमण

आन्दोलनकारीले नेताहरूको निजी निवासलाई पनि निसाना बनाएको प्रतिवेदनले देखाएको छ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको घरमा तोडफोड र लुटपाट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

पूर्वमन्त्री भानुभक्त ढकालको घरमा १५ लाख रुपैयाँको क्षति भएको उल्लेख छ।

ढकालको घरमा डेरा गरेर बस्ने रुद्रप्रसाद बास्कोटाको कोठाबाट नगद र सामग्री गरी ४० लाख ९० हजार रुपैयाँ चोरी भएको तथ्यांक पनि प्रतिवेदनमा छ।

केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा ३ लाख ६० हजार रुपैयाँको क्षति भएको छ।

एमाले नेता जीवन घिमिरेको घरमा ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

घर घेरेर आक्रामक शैली देखाएपछि घिमिरेले तत्काल एमाले परित्याग गरेको विज्ञप्ति सार्वजनिक गरेका थिए, तर केही समयपछि उनी पुन: सक्रिय भएका थिए।

हालै मोरङका नेताहरूले सो विषय उठाएपछि उनी कार्यक्रममै भावुक बनेका थिए।

आन्दोलनका क्रममा स्थानीय तहका जनप्रतिनिधिहरूका घरमा पनि आक्रमण भएको छ।

विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, सुन्दरहरैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, पथरी शनिश्चरेका नगर प्रमुख मोहन तुम्बापो र सुनवर्षीकी उपप्रमुख मिरादेवी दास लगायतका जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी भएको विवरण प्रशासनलाई बुझाइएको छ।

एमालेले पार्टी कार्यालय तथा नेताहरूको घरमा भएको क्षतिबारे व्यक्तिगत र संस्थागत दुवै प्रकारका निवेदन दिने तयारी गरेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्