
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बहुपक्षीय बैठकमा राजनीतिक दलहरूले कमजोर सुरक्षा प्रणालीभित्र निर्वाचन कसरी हुन्छ भन्दै प्रश्नैप्रश्न तेर्साएका छन्। बैठकमा नेकपा एमालेले नहुने निर्वाचनबारे छलफल किन गरिरहनु भन्दै बताएपछि तोकिएको मिति फागुन २१ मा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो ।
प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे राजनीतिक दल‚ निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूसँग आफ्नो सरकारी निवास बालुवाटारमा छलफलको आयोजना गरेकी थिइन् । बैठकमा बोल्दै नेकपा एमाले महासचिव शंकर पोखरेलले 'नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु' भनेका थिए । दलहरूलाई बाहिर निस्केर जनतासामु पुग्ने वातावरण बनाउन नसकेको सरकारले चुनाव गर्न नसक्नेउनको आशय थियो ।
बाराको सिमरामा भएको घटनाको प्रसङ्ग निकाल्दै पोखरेलले सुरक्षा चुनौतीमाथि प्रश्न उठाए । केही साताअघि सिमरामा नेकपा एमाले नेता महेश बस्नेत जाने भएपश्चात् जेनजी समूह र एमालेबिच झपड नै भएको थियो । जसमा प्रशासनले कर्फ्यु लगाउनुपर्ने स्थिति बनेको थियो । उक्त घटनाको प्रसङ्ग निकाल्दै पोखरेलले ‘नहुने चुनावबारे के छलफल किन गरिरहनु’ भनेर टिप्पणी गरेको एक नेताले लोकान्तरलाई बताए ।
‘एमालेले सिमरा घटनाको प्रसङ्ग निकाल्दै कर्फ्यु लागेको र सुरक्षा निकायले पनि सरेन्डर गरेको भन्दै नहुने निर्वाचनको विषयमा किन छलफल गर्नुपर्यो भन्यो‚’ ती नेताले भने‚ ‘दलहरूले गतिविधि गर्न पाएका छैनन् । चुनावको वातावरण छैन अनि कसरी हुन्छ चुनाव भन्दै महासचिव पोखरेल बैठकमा बोले।’
एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयमा पनि कडा आपत्ति जनाएको थियो । ‘प्रमुख दलको अध्यक्षलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको हो ?’ महासचिव पोखरेलको प्रश्न थियो । बैठकमा एमालेले विदेशबाट मतदान गर्ने विषयलाई पनि स्वीकार गर्न नसक्ने स्पष्ट पारेको ती नेताको भनाइ छ । बाहिरी भोटिङको विश्वसनीयता र वैधता माथि एमालेको प्रश्न थियो । महासचिव पोखरेलले अहिलेको चुनावमा विदेशबाट मतदान गर्ने विषय सम्भव नहुने बताएका थिए ।
धम्की सधैँ सह्य हुँदैन भन्दै गगनले भनेपश्चात्…
बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले भने पार्टीको अडान स्पष्टरुपमा राखेका थिए। स्रोतका अनुसार गगनले नेपाली कांग्रेसले सरकार गठन र संसद् विघटनलाई संवैधानिक नमान्ने तर चुनावमा भने भाग लिने जानकारी गराएका थिए ।
बैठकमा महामन्त्री थापाले दिनदिनै जेनजी तथा अन्य विभिन्न समूहका नाममा राजनीतिक दल र सरकारमाथि भइरहेको प्रहारमाथि पनि आपत्ति जनाएका थिए । थापाले राजनीतिक दलहरू कल्चरबाट आउने र उनीहरू बिच राजनीतिक सम्बन्ध हुने भन्दै ‘नयाँ भनिएकाहरूमा त्यसको अभाव’ भएको आशयमा धारणा राखेका थिए। आफूलाई कुनै कार्यक्रममा जाँदा नचिनेकाहरूबाट घेराबन्दी गरेको र आक्रमण सम्मको प्रयास भएको प्रसङ्ग उप्काउँदै थापाले प्रश्न गरे, ‘नयाँ नयाँले समस्या क्रिएट गरेका छन् । त्यसलाई के गर्ने ?’
उनले राजनीतिक दल वा समूहको लिडर हुने र उसैसँग संवाद गर्दा समाधान निस्कने भन्दै नयाँ नयाँ भनिएकाहरूको को सँग संवाद गर्ने भन्दै प्रश्न गरेको स्रोतले बतायो ।
‘दिनैपिच्छे सरकारसँग गएर किचकिच गर्ने तथा राजनीतिक दल र तीनका नेतालाई धम्क्याउनेहरू प्रति इङ्गित गर्दै गगनजीले बोल्नुभयो‚’ स्रोतले थप्यो‚ ‘हामी सरकार र यसका अंगलाई चिन्छौँ । तर‚ नेता नेतृत्व नभएको र सरकारलाई दलहरूलाई चुनौती दिने सरकारको कुरा नसुन्ने समूहलाई चिन्दैनौँ । उनीहरूले दिइरहने धम्की सधैँ सह्य हुँदैन भनेर उहाँले भन्नुभयो।’
बैठकमा गगनले शान्ति सुरक्षाको विषय पनि उठान गरेका थिए । उनले ६२/६३ मा पनि अवस्था अहिलेको जस्तै भएको र आफ्ना कार्यकताहरूमाथि आक्रमण भएको स्मरण गरेका थिए । साथै उनले चुनावको वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका थिए।
‘फागुनमा मौसमको कारणले पनि निर्वाचन भएको इतिहास छैन भन्दै उहाँले कुरा चाहिँ राख्नुभएको थियो‚’ स्रोतले थप्यो ।
गृहमन्त्रीसँग जंगिए राप्रपा महामन्त्री पाठक
आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपा बिच नोकझोकनै पर्यो । गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीको विषयमा कुरा उठाउने क्रममा राजावादी र हिन्दुवादी दलहरू पनि निर्वाचनका लागि चुनौती भएको बताएका थिए ।
त्यसपश्चात् प्रतिवाद गर्दै राप्रपा महामन्त्री भुवन पाठकले ‘के भन्न खोजेको हो’ भन्दै आक्रोश पोखेका थिए । पाठकले शान्ति सुरक्षाको विषय सरकारको भएको भन्दै एक पछि अर्को प्रश्न उठाएको स्रोत बताउँछ ।
‘गृहमन्त्रीको अभिव्यक्ति पश्चात् उहाँले तपाईंले के भन्नुभएको भन्दै आक्रोश पोख्नुभयो । चुनाव भए हामी चुनावमा जान्छौँ बहिस्कार गर्दैनौं र यसका लागि वातावरण बनाउनुहोस् भन्नुभयो,’ स्रोतको भनाइ छ ।
पाठकले आक्रोश पोखे पश्चात् गृहमन्त्री अर्यालले माफी नै मागेका थिए । ‘मैले दललाई इङ्गित गर्न खोजेको होइन । बोल्दा खेरी गल्ती भएछ । सरी‚’ गृहमन्त्री अर्यालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
राप्रपाले पनि शान्ति सुरक्षा नभएको अवस्थामा कसरी चुनाव हुन्छ भन्दै प्रश्न उठाएको थियो । ‘तपाईंहरूले केही समस्या नै छैन भनेजस्तै गर्नुभयो । यहाँ त साइवर अट्याक सम्म समस्या छ । निर्वाचन आयोग र सुरक्षाले ठिक छ भन्दैमा वातावरण चुनावकेन्द्रीत छैन‚’ पाठकले बैठकमा कुरा राखेको स्रोतले बतायो ।
अनि प्रधानमन्त्रीले भनिन्- मलाई शङ्का नगर्नुहोस्
बैठकमा राजनीतिक दलहरूले सुरक्षा र निर्वाचनको विषयलाई लिएर एक पछि अर्को प्रश्न उठाएपश्चात् प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिएकी थिइन् । कार्कीले आफू विशेष परिस्थितिमा निर्वाचन गराउन आएको भन्दै आफूलाई विश्वास गर्न अनुरोध गरेकी थिइन् ।
बैठक स्रोतका अनुसार एमालेले नहुने निर्वाचन भनेपश्चात् उनले शङ्का र विरोध नगरी चुनावमा जान अनुरोध गरेकी थिइन् ।
‘चुनाव दलले लड्ने हो । म चुनाव गराएर छाड्छु त्यसैले चुनावको वातावरण बनाउन सबैले सहयोग गर्नुहोस्‚’ कार्कीको भनाइ थियो‚ ‘दलहरूले नै चुनाव जितेर आउने हो । जो आएपनि स्वीकार्य छ । हामी जेनजी साथीहरूलाई पनि सम्झाउँदै बुझाउँदै आएका छौँ र बुझाउँदै जान्छौँ पनि ।’
रास्वपाको८ सुझाव
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने निर्वाचन गराउनुपर्ने पक्षमा मत राखेको थियो । बैठक पश्चात् सामाजिक सञ्जालबाट जानकारी दिँदै सचिवालय सदस्य शिशिर खनालले आफूलेहरूले राखेको विषय स्पष्ट पारेका छन् । जसमाः-
१) जेन्जीको विद्रोहपछि को विशेष परिस्थितिमा निर्माण भएको सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नु हो। निर्वाचन नै जनादेश मार्फत संविधानलाई ट्र्याकमा ल्याउने सही उपाय पनि हो। त्यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि नै सरकारलाई समर्थन जनाएको छ।
२) आगामी निर्वाचन फागुन २१ मा नै हुनुपर्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा प्रतिबद्ध छ।
३) भयरहित वातावरणमा चुनाव हुनुपर्ने आम चासोमा हाम्रो पनि सरोकार छ। आजको बैठकमा सरकार तथा सुरक्षा निकायहरूको तर्फबाट सुरक्षा प्रत्याभूति सहित चुनाव गराउन सक्छौँ भन्ने प्रतिबद्धता आएको कुरालाई हामी स्वागत गर्दछौँ।
४) निर्वाचन आयोग तथा नेपाल सरकारले मतदाता नामावली दर्तालाई राष्ट्रिय परिचयपत्र सँग जोडेर सहजीकरण गर्दै युवा मतदाताहरूलाई आम निर्वाचनमा जोड्न गरेको प्रयासलाई हामी धन्यवाद भन्दछौं।
५) राजनीतिकर्मीको रूपमा हामीसँग हरेक भेटमा आम रूपमा सोधिने प्रश्न "निर्वाचन हुन्छ त भन्ने देखिन्छ?" यस अर्थमा निर्वाचनको वातावरण निर्माणमा सरकार तथा निर्वाचन आयोगले थप काम गर्नुपर्ने देखिएको छ। यसतर्फ हामी ध्यान आकर्षण गराउँछौं।
६) विदेशमा रहेका नेपाली तथा गैर जिल्ला भोटिङ लगायतका विषयहरू यही निर्वाचनबाट हुनेछ भन्ने कुराको हामी अपेक्षा राख्दछौं।
७) रास्वपा निर्वाचनमा होमिसकेको छ। हामी हाम्रै प्रणाली अन्तर्गत हाम्रो दलका तर्फबाट समानुपातिक उम्मेदवार हुन चाहने व्यक्तिहरूबाट दरखास्त लिइराखेका छौँ र हामी प्रारम्भिक निर्वाचन मार्फत समानुपातिक उम्मेदवारहरू छनोटको प्रक्रियामा लागिसकेका छौँ।
८) रास्वपा समयमा नै निर्वाचन हुनुपर्छ भन्ने कुरामा पूर्ण प्रतिबद्ध मात्रै होइन तयार पनि रहेको जानकारी गराउँछौँ।