०५ साउन २०८३, मंगलबार
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

मंसिर २०, २०८२
काठमाडौं
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनायो ।

सुदूरपश्चिम रोयल्सका लागि इशान पाण्डे र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । दुवै ब्याट्सम्यानले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका इशानले टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३५ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका आरिफले पनि टोलीको खातामा अविजित ४५ रन थपे । आरिफले केवल ३२ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।

सुदूरपश्चिमले २५ रनको कुल स्कोरमा पहिलो र ४२ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि इशान र आरिफले टोलीको स्कोरलाई एक सय १४ रनको स्थितिसम्म डोर्‍याएका थिए ।

ओपनर ब्याट्सम्यान विनोद भण्डारी १३ बलमा तीन चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए । अर्का ओपनर जोस ब्राउनले २५ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन जोडे ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका हरमित सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । कप्तान दीपेन्द्रसिंह ऐरीले केवल ११ बलमा दुई छक्काको मद्दतले १९ रन बनाए ।

विराटनगर किङ्सका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । विराटनगरको कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा केवल २० रन खर्चिए ।

सन्दीप जारी सिजनको एनपीएलमा सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा आसीन छन् । उनले सात खेलमा १५ विकेट लिइसकेका छन् ।

प्रतिश जीसीले पनि सुदूरपश्चिमका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए । प्रतिशले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । बसिर अहमदले पनि एक विकेट कुम्ल्याए । 

salt training

कमेन्ट गर्नुहोस्