२४ जेठ २०८३, आइतबार

भोजपुरको कोटमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

मंसिर २०, २०८२
भोजपुर
भोजपुरको कोटमा सेनाको निःशुल्क स्वास्थ्य शिविर
फाइल फोटो

जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्‍याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ ।

शिविरमा नेपाली सेनाको नेतृत्वसँगै गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाको समन्वय र सहकार्य रहेको छ ।

शिविरमा कान, नाक, घाँटी, आँखा समेतका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् ।

त्यस्तै बालरोग, दन्तरोग, स्त्रीरोग, सामान्य रोगको जाँच तथा आवश्यक औषधिसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

स्थानीय बासिन्दाले दैनिक व्यस्तता र आर्थिक कारणले सदरमुकाम पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेनाले गाउँमै सेवा पुर्‍याउनु प्रशंसनीय रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

शिविर टेम्केमैयुङ–७ कोटस्थित जनोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । नेपाली सेनाले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्