
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार सम्पन्न खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर किङ्सले भने ११.५ ओभरमै केवल चार विकेट गुमाएर एक सय ५० रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
जितसँगै विराटनगर किङ्स प्रतियोगिताको क्वालिफायर चरणमा पुगेको छ । १० अंकसहित विरानटर किङ्स तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
क्वालिफायर चरणमा पुग्न विराटनगरले १३.५ ओभरमै सुदूरपश्चिमलाई हराउनु आवश्यक थियो । त्योभन्दा पछि जितेको भए नेट रन रेटमा विराटनगरको टोली काठमाण्डू गोर्खाजसँग पछि पर्दै तालिकामा तेस्रो हुने थियो ।
विराटनगर किङ्सका लागि ओपनर ब्याट्सम्यानद्वय फाफ डु प्लेसिस र साम हिजलेटले उत्कृष्ट साझेदारी गरे । यी दुवै ब्याट्सम्यानले पावर–प्लेमै टोलीको स्कोर ८७ रन पुर्याएका थिए ।
दुवै ओपनरले अर्धशतक बनाए । एनपीएलमा केवल दोस्रो खेल खेलेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले केवल २० बलको सामना गरी चार छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।
४१ वर्षीय फाफ डु प्लेसिसले एनपीएलमा बनाएको यो पहिलो अर्धशतक हो । उनले अर्का ओपनर साम हिजलेटसँग ७.१ ओभरमा ९७ रनको साझेदारी गरे ।
आक्रामक पाली खेलेका साम हिजलेटले पनि अर्धशतक बनाए । उनले केवल २७ बलको सामना गरी चार छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान मार्टिन गप्टिलले पनि विराटनगरका लागि २२ रनको योगदान गरे ।
आक्रामक ब्याटिङ गरेका उनले केवल नौ बलको सामना गरी तीन छक्का हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान बसिर अहमद आठ रन बनाउँदै आउट भए ।
लोकेश बम तीन रनमा अविजित रहे । प्रतिश जीसीले केवल तीन बलमा दुई छक्काको मद्दतले अविजित १३ रन बनाए । सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले दुई र हरमित सिंहले एक विकेट लिए ।
त्यसअघि, सुदूरपश्चिम रोयल्सका लागि इशान पाण्डे र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवै ब्याट्सम्यानले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका इशानले टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३५ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका आरिफले पनि टोलीको खातामा अविजित ४५ रन थपे । आरिफले केवल ३२ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।
सुदूरपश्चिमले २५ रनको कूल स्कोरमा पहिलो र ४२ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि इशान र आरिफले टोलीको स्कोरलाई एक सय १४ रनको स्थितिसम्म डोर्याएका थिए ।
ओपनर ब्याट्सम्यान विनोद भण्डारी १३ बलमा तीन चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए । अर्का ओपनर जोस ब्राउनले २५ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन जोडे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हरमित सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । कप्तान दीपेन्द्रसिंह ऐरीले केवल ११ बलमा दुई छक्काको मद्दतले १९ रन बनाए ।
विराटनगर किङ्सका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । विराटनगरको कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा केवल २० रन खर्चिए ।
सन्दीप जारी सिजनको एनपीएलमा सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा आसिन छन् । उनले सात खेलमा १५ विकेट लिइसकेका छन् ।
प्रतिश जीसीले पनि सुदूरपश्चिमका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए । प्रतिशले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए । बसिर अहमदले पनि एक विकेट कुम्ल्याए ।