
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण ठीक नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठीक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ’, मन्त्री खनालले भने ।
विधि ठीक भएन भने सुधार गर्न सकिने तर सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने समेत अर्थमन्त्रीको खनालको भनाइ छ ।
‘कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जथाभावी टिप्पणी गर्न हुँदैन’, उनले भने ।
साथै, जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए । भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिबाटै यसलाई बढावा दिएकाले त्यसको अन्त्य हुनुपर्ने उनले बताए ।
मन्त्री खनालले निर्वाचन अपरिहार्य रहेको समेत उल्लेख गरे । ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजानु हो । यसले अनेक क्रियाकलापमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक महोल हुनुपर्छ । सरकार पनि लागि परेको छ ।’
सबै दलहरूको सहमति र आमनागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए ।