
नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आर्मीले कुल ९०५ अंक सहित प्रथम स्थान हात पार्दै उपाधि उचालेको हो । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको ७१९ अंक र तेश्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले ४७२ अंक जोड्यो ।
महिला तर्फ आर्मीकी मिखा थापा र पुरुष तर्फ नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरुले २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । आर्मीकी मिखा थापाले च्याम्पियनसिपमा कुल ९ स्वर्ण र १ कास्य पदक हात पारिन् । इरभिनले ३ स्वर्ण हात पारेका थिए ।
च्याम्पियनसिपमा कुल ९ राष्ट्रिय कीर्तिमान कायम भएको छ । पहिलो दिन तीन राष्ट्रिय कीर्तिमान भएकोमा दोस्रो दिन ६ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।