२३ जेठ २०८३, शनिबार
बहस विचार निर्माणको

नयाँ दलको बाढी, विचारको खडेरी– विचार निर्माणको सैद्धान्तिक र व्यावहारिक आधार

मंसिर २२, २०८२
काठमाडौं
नयाँ दलको बाढी, विचारको खडेरी– विचार निर्माणको सैद्धान्तिक र व्यावहारिक आधार

हरेक आन्दोलन वा अभियानका क्रममा आइरहने एउटा विषय विचार निर्माण हो । यसै क्रममा जेनजी आन्दोलनपछि पनि नयाँ विचार निर्माणको कुरा विभिन्न कार्यक्रम र छलफलमा हुने गरेका छन् । तर, यस कुराले न त निरन्तरता पाएको छ, न त विचार निर्माण नै हुन सकेको छ । राजनीतिक दलहरू भने धमाधम दर्ता भए, तर ती दलका विचार के हुन् वा कस्तो विचार निर्माण गरे अत्तोपत्तो छैन ।

कार्यक्रममा केही मान्छे जम्मा भई गरेको गन्थनले विचार निर्माण हुन सक्दैन । त्यसो त जेनजी आफैंमा विचार समूह हो । तर, ती विचारहरूलाई संगठित गरी एक ठोस विचार निर्माण भई नसकेको हुँदा आन्दोलन पनि संगठित र निर्देशित हुन सकेन । फलस्वरूप आन्दोलनपछि जेनजीहरू विभिन्न विचार समूहमा विभाजित हुन पुगे र आफ्नै छनोटमा बनेको सरकारसँग पनि टाढिँदै गए । अहिले पनि जेनजीहरूमा विचार निर्माणका लागि दबाब बढेको छ ।

केवल सोच्नु मात्र विचार निर्माण होइन । यो एक व्यवस्थित प्रक्रिया हो, जसद्वारा हामी अमूर्त सोचहरूलाई मूर्त योजनामा बदल्छौं, जुन निरन्तरको खोज अन्वेषणबाट तयार हुन्छ । अर्थात्, विचार निर्माण भनेको नयाँ सोच, अवधारणा वा समाधानहरू सिर्जना गर्ने, विकास गर्ने र प्रस्तुत गर्ने प्रक्रिया हो । यो कुनै पनि समस्या समाधान गर्न, नयाँ व्यवसाय वा राजनीति शुरू गर्न वा सिर्जनात्मक कामका लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण हो ।

विचार निर्माण एक कला पनि हो, जसलाई अभ्यासद्वारा निखार्न सकिन्छ । विचार निर्माणलाई विभिन्न विद्वानहरूले सृजनात्मकता, समस्या समाधान र व्यवस्थापनको सन्दर्भमा परिभाषित गरेका छन् । एलेक्स एफ ओस्बोर्न (Alex F. Osborn) का अनुसार विचार निर्माण भनेको मुख्यतया दिमागको प्रयोग गरी नयाँ संयोजन वा असामान्य सम्बन्धहरू पत्ता लगाउने कला हो, जसले गर्दा समस्याको नवीन समाधान निस्कन्छ ।

उनले विचार निर्माणलाई सृजनात्मक चिन्तनको रूपमा लिएका छन् । ग्राहम वालेस (Graham Wallas)ले सृजनात्मक प्रक्रियाको सिलसिलामा लामो समयको अवचेतन चिन्तनबाट समाधान खोज्ने क्रममा अचानक नयाँ र मौलिक विचार प्रकट हुन्छ भनेका छन् ।

त्यस्तै, थेओडोर लेभिट (Theodore Levitt) का अनुसार विचार निर्माण (सृजनात्मकता) नवप्रवर्तनको सैद्धान्तिक आधार हो । लेभिटले विचार निर्माणलाई व्यावसायिक उद्देश्यसँग जोड्दै यसको आर्थिक मूल्य प्राप्त गर्नका लागि बजारको आवश्यकतासँग जोड्नु पर्ने बताएका छन् । एडगर एच शीन (Edgar H. Schein) ले विचार निर्माणको सामाजिक र समूहगत पक्षमा ध्यान केन्द्रित गरेका छन् । शीनको सन्दर्भमा विचार निर्माण भनेको समूहभित्र गरिने ज्ञानको संयोजन हो । यो त्यस्तो प्रक्रिया हो जहाँ विभिन्न दृष्टिकोण भएका मानिसहरूले एकअर्काका विचारहरूलाई जोडेर एकल व्यक्तिले पत्ता लगाउन नसक्ने समाधानहरू सिर्जना गर्दछन् ।

योपटक (सन् २०२५) को अर्थशास्त्रतर्फका नोबेल पुरस्कार विजेता त्रय मोकिर (Mokyr), अघियोन (Aghion) र हाउइट (Howitt) ले नयाँ विचार निर्माणलाई 'कन्स्ट्रक्टिभ डिस्ट्रक्सन' अर्थात् 'सृजनात्मक विनाश'का रूपमा लिएका छन् ।

अर्थात्, कन्स्ट्रक्टिभ डिस्ट्रसन भन्नाले पुराना तरिका, प्रविधि, उत्पादन प्रणाली र संस्थाहरू बिस्तारै हट्दै जानु र नयाँ, अझ राम्रा र प्रभावकारी तरिकाहरूको जन्म हुनु भन्ने बुझिन्छ । यसै कारण उत्पादकत्वमा वृद्धि भई अर्थतन्त्र अगाडि बढ्छ र समाजमा नयाँ अवसर सृजना हुन्छन् ।

यी विद्वान्हरूको अवधारणालाई संयोजन गर्दा विचार निर्माणलाई सृजनात्मक चरण, संज्ञानात्मक प्रक्रिया (अवचेतन मनको भूमिका), व्यावसायिक तथा सामाजिक आवश्यकता र सामूहिक अन्तरक्रियाको संयोजनको रूपमा परिभाषित गर्न सकिन्छ ।

उनीहरूका अनुसार यस्तो मुक्तिकामी विचार निर्माणले समाजमा सामाजिक गतिशीलता पनि बढ्छ । अर्थात् मानिसको पहिचान उसको जन्म वा वंशानुगत पेशाले होइन, उसले गर्न सक्ने क्षमताले निर्धारण गर्छ ।

यी विद्वान्हरूको अवधारणालाई संयोजन गर्दा विचार निर्माणलाई सृजनात्मक चरण, संज्ञानात्मक प्रक्रिया (अवचेतन मनको भूमिका), व्यावसायिक तथा सामाजिक आवश्यकता र सामूहिक अन्तरक्रियाको संयोजनको रूपमा परिभाषित गर्न सकिन्छ ।

चाहे जे होस्, विचार निर्माणलाई सामान्य अर्थमा कुनै खास समस्या, अवसर वा लक्ष्यको समाधान वा प्राप्तिका लागि नयाँ, मौलिक र उपयोगी सोच वा अवधारणा उत्पन्न गर्ने प्रक्रियाका रूपमा लिन सकिन्छ । यो वास्तवमा व्यक्तिको व्यक्तिगत तथा सामूहिक सोच वा चेतनाबाट हुँदै जाने हो । चेतनाको मूल स्रोत व्यक्तिको भोगाइ नै हो, भलै भोगाइलाई प्रभाव पार्ने विभिन्न अवयवहरू हुन्छन् ।

समाज विकासका क्रममा व्यक्तिले भोगेका समस्याहरू मानव मस्तिष्कको संज्ञात्मक ऊर्जा (Cognitive Energy) ले विश्लेषण गर्दै त्यसको समाधानका उपाय विकास गर्दै गएपछि त्यो नै विचार निर्माणको शृंखला हुन्छ । कतिपय विचार अभ्यास गर्दै जाँदा विकसित हुँदै जाने गरेका हुन्छन् भने कतिपय विचारहरू कल्पनाशीलता/अनुमानशीलता(मिथक/संकथन) का आधारमा निर्माण र अभ्यासमा आएका हुन्छन् ।

विचार निर्माण भन्नाले यहाँ विचारको कुनै तहको प्रामाणिक स्तर अर्थात् ज्ञान निर्माणसँग जोडिएको छ । समाज विकासका क्रममा विचार अथवा ज्ञान निर्माण दुई आधारमा विकास हुँदै गएको देखिन्छ, जीवन रक्षा र जीविकोपार्जनको अभ्यास । मानव सभ्यता विकासका क्रममा जीवन रक्षा र जीविकोपार्जनका लागि नयाँ-नयाँ अन्वेषण हुँदै गए । ईसापूर्व ११०० वर्षअघि गरिएको फलामको प्रयोग त्यसको एउटा नमूना हो ।

यस्तै, पाङ्ग्रा, इँटा, धातु र धातुजन्य वस्तु, कृषि उत्पादन आदि यसका नमूना हुन् । यी वैज्ञानिक/भौतिक अन्वेषणका आधारमा निर्माण भएका विचार हुन् जसको अन्वेषण कामकाजी शिल्पी समूहले जीविकोपार्जनका लागि गरे जसलाई पछि वर्ण व्यवस्था अन्तर्गत शूद्रको दर्जा दिइयो । अर्को विचार निर्माणको स्रोत तत्कालीन प्राकृतिक रहस्य बन्न गयो; जस्तै सूर्य उदाउनु, पानी पर्नु, ग्रहण लाग्नु आदि-आदि । यसरी निर्माण भएका विचार कल्पनाशीलताका आधारमा भगवान् वा दैविशक्तिका नाममा बुनिएका मिथक थिए । पछि यसलाई धर्मको धागोमा उनियो र झन-झन् बलियो बनाउँदै गइयो  ।

विशेषगरी राज्यको बागडोर सम्हाल्नेहरूले यो काम गरे  । त्यसैको परिणाम हो वर्ण व्यवस्था र त्यसको आडमा बनेको जातीय विभेद । ईसापूर्व ४००० वर्षअघिको दाबी गरिने वेद, त्यसलाई वैधानिक बनाउने ईसापूर्व ३०० तिरको मनुस्मृति, मल्लकालको मानव न्यायशास्त्र, १९१० सालको मुलुकी ऐन र त्यसका अवशेषहरू त्यसपछिका वैधानिक प्रावधानमा पनि कुनै न कुनै रूपमा देखिन्छ । जब-जब समूह/समुदायभन्दा राज्य बलियो बन्दै गयो, यस्ता मिथक/संकथनको प्रभाव धार्मिक अस्त्रमार्फत बढाउँदै गइयो । परिणामतः राजा महाराजालाई भगवानको प्रतीक बनाउन थालियो र राजा महाराजाले पनि मठमन्दिर बनाएर आफ्नो रक्षा कवचका रूपमा यसका व्याख्याता पण्डितहरू प्रवर्धन गर्दै गए । बीर्ता प्रथा त्यसको जल्दोबल्दो उदाहरण हो । अधिकांश बीर्ता ब्राह्मण समुदायमा नै जानु त्यसको ज्वलन्त उदाहरण हो ।

अहिले पनि राज्य र समाजमा वर्चस्व तिनै बीर्तावालहरूको नै रहेको छ । अहिले विकसित भनिएका मुलुकहरूमा पनि सभ्यताको शुरूआतमा त्यसैगरी नै विचार निर्माण हुँदै गएका हुन्, तर १२औं शताब्दीतिर त्यहाँका जनताको चेतनामा वैज्ञानिक आधार प्रबल हुँदै गयो । फलस्वरूप सन् १२१५ मा बेलायतमा 'म्याग्नाकार्टा' (राजा र नागरिकबीचको सन्धि) जारी भयो, जसले कानूनी र नागरिक सर्वोच्चताको शासन स्थापित गर्‍यो । त्यसले १३औं शताब्दीतिरबाटै शुरू भएको पुनर्जागरण (Renaissance) ले त्यहाँको सभ्यता विकासमा विज्ञानमा आधारित विचार निर्माणको पृष्ठभूमि तयार भयो । यसैको फलस्वरूप सन् १८४० तिरको औद्योगिक क्रान्तिले त औद्योगिक उत्पादनमा यान्त्रीकरण र वैज्ञानिक विकासमा एकदमै फड्को मार्‍यो । त्यसै अनुरूप राज्य व्यवस्थामा पनि नयाँ-नयाँ विचारहरू प्रादुर्भाव हुँदै गए । आज ती मुलुकहरू हरेक कुरामा विकसित मुलुकका रूपमा रहेका छन् ।

यसरी हेर्दा जसले विज्ञानसम्मत विचार निर्माण गर्न सके, ती विकसित मुलुकको रूपमा रूपान्तरण भए भने धार्मिक मिथक वा संकथनमा आधारित विचार निर्माण हुने मुलुकहरू द्वन्द्व र गरिबीको भुमरीमा रुमलिँदै गए । अन्तर्राष्ट्रिय रूपमा विचार निर्माणको कुरा गर्दा ईपू ५०० तिर गौतम बुद्धले निर्माण गरेको विचार निर्माण नै सबैभन्दा पुरानो वैज्ञानिक तथा मानव उपयोगी विचार मानिन्छ । ईपू चौथो शताब्दीतिरै एथेन्समा सुकरातले प्रश्नको माध्यमबाट आलोचनात्मक चेतको प्रादुर्भाव गरेका थिए । पछि युवाहरूमा भगवानप्रति अनास्था फैलाएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको थियो । उनीपछि उनका शिष्य प्लेटोले उनका कुराहरूलाई अघि बढाए ।

उनले विचार निर्माणमा तर्क क्षमताको प्रयोगलाई अभ्यासमा ल्याए । उनले न्यायपूर्ण समाजका लागि राज्य व्यवस्था हुनुपर्ने ठान्थे । तर उनीपछिका एरिस्टोटललाई भने बढी राज्य/शासकपरस्त रहेको आरोप लाग्ने गरेको थियो । उनले व्यक्तिगत जीवनलाई भन्दा राज्यलाई महत्त्व दिएको देखिन्थ्यो । चाहे जे होस्, यिनीहरूले विचार निर्माणमा पश्चिमी चिन्तनको दार्शनिक आधार तयार गरे ।

त्यसो त ईपू ३०० तिर चाणक्यको आर्थिक सुशासनसम्बन्धी विचारले दक्षिण एशियामा अहिलेसम्म पनि चर्चा पाउने गरेको छ । तथापि, उनी कट्टर धर्मभीरु थिए । उनका अन्य विचारहरू मिथक/संकथनमा आधारित थिए । पछिल्लो समय अहिंसात्मक आन्दोलनका लागि महात्मा गान्धी, सामाजिक न्यायका लागि भीम राव अम्बेडकर, नागरिक अधिकारका लागि मार्टिन लुथर किङ जूनियर र रोसा पार्क्स, रङ्गभेदविरुद्ध नेल्सन मण्डेलाका विचारहरू प्रेरणा र उत्साहका स्रोत बनेका छन् । आजभोलि पनि विचार निर्माणमा उहाँहरूको प्रेरणा र प्रभाव देखिन्छ ।

विश्वमा विचार निर्माणका दुईवटा ध्रुव रहेका छन्, समाजवाद र पुँजीवाद । समाज विकासको प्रारम्भिक चरणमा विचारहरू समाजवादी विवेकशीलताबाट निर्माण भएको देखिन्छ । तर, मुद्राको आविष्कारपछि भने बजारलाई राज्यको नियन्त्रणबाट अलग राखी खुला छाड्ने पुँजीवादी विचार विश्वभरि फैलियो । एडम स्मिथ, अल्फ्रेड मार्सल लगायतका अर्थशास्त्रीहरूले यी विचारमा मलजल गर्दै गए । पछि त्यो विचारलाई नवउदारवादी आवरणमा फ्रेडरिक हायेक, मिल्टन फ्रिडम्यान, रोनाल्ड रेगन तथा मार्गरेट थ्याचर लगायतले विश्वव्यापी बनाए ।

सन् १८४० को औद्योगिक क्रान्तिपछि त पुँजीवादी विचारले झनै प्रोत्साहन पायो । फ्याक्ट्री मालिकहरू पुँजी सञ्चयका लागि मजदुरहरूलाई शोषण गर्न थाले । राज्यको नियन्त्रण नहुने भएकाले राज्य मूकदर्शक मात्रै भयो । यसबाट भौतिक विकासमा त तीव्रता आयो, तर समाजमा भने स्पष्ट दुई वर्ग निर्माण हुँदै गयो; मालिक वा पुँजीपति र मजदुर वा सर्वहारा । समयक्रममा मजदुर वर्गको चेतना उठ्दै गएपछि त्यसका विरुद्ध विचार निर्माण हुन थाल्यो जसलाई वर्ग सङ्घर्ष भन्ने गरिन्छ ।

विशेषतः उन्नाइसौं शताब्दीको प्रारम्भदेखि नै कार्ल मार्क्स, हेगेल, स्टालिन र लेनिन लगायतले वर्गसंघर्षकै सम्बन्धमा द्वन्द्वात्मक भौतिकवादको विचार निर्माण गरे, जुन कम्युनिस्ट विचारका रूपमा सर्वव्यापी भयो । यी विचारलाई दुई ध्रुवका रूपमा वामपन्थी (Left Wing) र दक्षिणपन्थी (Right Wing) भन्ने पनि गरिन्छ । आज पनि निर्माण हुने विचारहरू यिनै दुई ध्रुवको बीचमा रहेको पाइन्छ; झुकाव कता बढी छ भन्ने मात्र हो । हुन त एन्थोनी गिडेन्सले सन् १९९० को दशकमा 'द थर्ड वे' भन्ने राजनीतिक/सामाजिक सिद्धान्त प्रस्तुत गरेका छन् । तथापि, यसमा पनि यी दुवै ध्रुवको राम्रा पक्षहरूको मिश्रणबाट मध्य मार्ग खोज्ने प्रयास रहेको छ ।

नयाँ विचार निर्माण हुनलाई आलोचनात्मक स्पेस जरुरी हुन्छ, जुन हाम्रोमा अझै पनि आशातीतरूपमा खुला हुन सकेको छैन । बरु मिथक/संकथनमा आधारित विचारकै पुस्तान्तरण गर्ने सामाजिक संरचनाहरू हावी छन्: जस्तै राशिफल, सरस्वतीको पूजा गरे ज्ञान बढ्ने, लक्ष्मीको पूजा गर्दा धनसम्पत्ति बढ्ने आदि ।

पछिल्लो समय सन् २०१८ मा एउटा अध्ययनले बजार प्रणालीमा संरक्षणकारी उदारवाद (Protective Liberalism) को अवधारणा निर्माण गरिएको छ । उक्त अध्ययनले पुँजीवाद र समाजवादका विभिन्न पक्षहरूलाई अन्तर्घुलन गरी सबैका लागि बजार र उत्पादनका साधनमा समान पहुँच पुर्‍याउने विधि तय गरेको छ । विशेष गरी कोरोना महामारीले त संरक्षणकारी नीति सबै मुलुकका लागि अनिवार्य नै बनाइदियो । अर्थात्, अब कुनै पनि मुलुक निरपेक्ष पुँजीवादी वा समाजवादी हुन सम्भव रहेन ।

राज्य मात्र हैन, वास्तवमा एउटा व्यक्ति समेत सामाजिक जीवनका लागि समाजवादलाई आत्मसात् गर्नुपर्ने हुन्छ भने उसले जीविकोपार्जनको लागि पुँजीवादको अभ्यास गर्नुपर्ने हुन्छ । यसरी दुवै नीतिहरूलाई एउटै व्यक्तिले समेत आफ्नो जीवनमा अवलम्बन गर्नुपर्ने हुन्छ । तसर्थ अब यी दुई ध्रुव नभएर जीवन र जीविकोपार्जनका लागि अपरिहार्य परिपूरण बन्न पुगेका छन्, अर्थात् अन्तर्घुलन भएका छन् । त्यसैले अमेरिकी पूर्वराष्ट्रपति ओबामाले कुनै समय भन्नुभएको थियो, दीर्घकालमा हामी सबै समाजवादी हौं, किनकि जीविकोपार्जन पनि जीवनकै एक अंग हो ।

नेपालको कुरा गर्दा शंखधर साख्वाले ऋणमोचन, भगत सर्वजितले छुवाछुतविरोधी अभियान, पुष्पलालले कम्युनिस्ट अवधारणा, बीपीले लोकतान्त्रिक समाजवादी सोच, फाल्गुनानन्दले किरात-फेदाङ्मा परम्परा, मदन भण्डारीले जनताको बहुदलीय जनवादसम्बन्धी विचारहरू स्थापित गरे । यी विचारहरूकै वरिपरि नै नयाँ विचारहरू बन्ने/भत्कने गरेका छन् । तथापि, यी विचारहरूले समाजमा जरा गाडेर बसेको मिथक/संकथन मनोस्मृतिलाई भने खासै चिर्न सक्यो भन्ने लाग्दैन ।

अहिले पनि समाज मात्र होइन, राज्य सञ्चालनमा समेत उक्त मिथकले ठूलो प्रभाव पारेको छ । अहिले पनि मानिसको पहिचान र ऊप्रति गरिने व्यवहार उसको जन्म वा वंशानुगत पेशाले नै तय गर्ने गरिएको छ । लामो समय सत्तामा वर्चस्व कायम राहन उल्लेखित राजनीतिक विचारभन्दा पनि उही मनोस्मृति मनोवृत्ति हावी देखिन्छ ।

नयाँ विचार निर्माण हुनलाई आलोचनात्मक स्पेस जरुरी हुन्छ, जुन हाम्रोमा अझै पनि आशातीतरूपमा खुला हुन सकेको छैन । बरु मिथक/संकथनमा आधारित विचारकै पुस्तान्तरण गर्ने सामाजिक संरचनाहरू हावी छन्: जस्तै राशिफल, सरस्वतीको पूजा गरे ज्ञान बढ्ने, लक्ष्मीको पूजा गर्दा धनसम्पत्ति बढ्ने आदि । विचार निर्माणमा महत्त्वपूर्ण भूमिका शैक्षिक संस्थाको हुन्छ । तर, न शैक्षिक संस्थाहरूले, न त सरकारले नै नयाँ विचार निर्माणको जग अनुसन्धानलाई प्राथमिकतामा राखेका छन् । अनि हाम्रा शैक्षिक संस्थाहरूले मनुस्मृति मनोविज्ञानलाई नै नयाँ स्वरुपमा पुनर्उत्पादन गरेका छन् । ती संस्थाहरूले हाम्रा सन्ततिहरूलाई आलोचनात्मक अथवा विवेचनात्मक हुनुभन्दा अनुयायी बनाउन सिकाइरहेका छन्, जसले विभेद र असहिष्णुताको पुनर्उत्पादन गरी पुस्तान्तरण मात्र गरेको छ ।

पछिल्लो समय आहुति, सीके लाल, बाबुराम भट्टराईलगायतले आलोचनात्मक चेतका साथ विचार राख्ने गरेको पाइन्छ । तर, ती विचार कति ग्राह्य छन् र अभ्यासबाट पुष्टि भएका छन्, हेर्न बाँकी छ । जेनजी आन्दोलनपछि विचार निर्माणको नयाँ माहोल त बनेको छ, तर सञ्चार माध्यम र सामाजिक सञ्जाल हेर्दा उनै पुराना विचारहरूको पुनरावृत्ति हो कि जस्तो देखिन्छ । छाँटकाट हेर्दा कतै यो आन्दोलनबाट भएको क्षति पनि ‘कन्स्ट्रक्टिभ डिस्ट्रक्सन’ नभई ‘डिस्ट्रक्सन’ मात्र हुने हो कि भन्ने देखिन्छ । यसले पनि विचार निर्माणको नाममा उही विभेद र असहिष्णुतालाई नयाँ फ्लेवरमा पुस्तान्तरण गर्ने त होइन ? चिन्ताको विषय छ ।

salt training

कमेन्ट गर्नुहोस्