
प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको ज्यान लिने धम्की दिएका काभ्रेका प्रकाश पाठकलाई व्यापक ढंगले खोजिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारकै प्रहरी युनिटले पाठकको खोजी गरिरहेका हुन् ।
आफूसँग भारतीय राहदानी रहेको बताउने पाठक अहिले भारतमै लुकेर बसेको आशंका प्रहरीको छ ।
विगतमा दिनेश अधिकारी ‘चरी’ (हाल दिवंगत)सँग लागेर गुण्डागर्दी गर्ने पाठकविरुद्ध सरोज थापा (रोज राणा)लाई खुकुरी प्रहार गरेको आरोप छ ।

सरोज हाल लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्री छन् । काठमाडौं प्रहरीले पाठकसँग फोटोमा देखिएका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका शरणजंग शाही, बर्दियाका धीरेन्द्र सुनार र सर्लाहीका तोरण थापा छन् ।
तीनैजनालाई काठमाडौं परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
आपराधिक पृष्ठभूमिका पाठकले इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दुईपटक दिएका थिए ।

राईलाई ‘भ्रष्टाचारको नाइके’को संज्ञा दिँदै पाठकले पदबाट राजीनामा नदिए १० दिनभित्र ज्यान लिने धम्की दिएको आइतबार १० दिन पुग्दैछ ।
पाठकले नेपाल आयल निगमका पूर्व प्रमुख गोपाल खड्का, नागरिक बचाउ अभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक, अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँण, अख्तियारकै पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत १० जनाको ज्यान लिने धम्की दिएका थिए ।
राईविरुद्ध पाठकले तीनवटा आरोप लगाएका छन् । वाइडबडीमा भ्रष्टाचार गरेको, नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएको आरोप पाठकको आरोप छ ।
लेखकविरुद्ध जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको, खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएको, प्रसाईंविरुद्ध नेपालमा अस्थिरता मच्चाउन भूमिका खेलेको र मेडिकल माफिया बनेको आरोप पाठकले लगाएका छन् ।
खड्काविरुद्ध आयल निगममा रहँदा भ्रष्टाचार गरेको र लोकमानसिंह कार्कीविरुद्ध कानून हातमा लिएर ठूला परियोजनालाई धम्क्याई रकम असुली गरेको पाठकको आरोप छ ।
कार्कीले पदमा बस्दा ठूला माछालाई उन्मुक्ति दिएको आरोप पनि पाठकले लगाएका छन् ।


पाठकले ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक संस्थाको लेटरप्याडमा पत्र लेखेर ज्यान लिने धम्की दिएका हुन् । शुरूमा २८ नोभेम्बर, २०२५ मा पाठकले तीनवटा माग राखेका थिए ।पहिलो सुशीला कार्कीको सरकार फाल्ने, दोस्रो क्रान्तिको म्यान्डेट अनुसार नयाँ सरकार गठन र तेस्रो हिन्दुसहितको राजसंस्था कि गणतन्त्र भनेर जनमत संग्रह गर्नुपर्ने उनको माग थियो ।
राईलाई धम्की आएपछि अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो । पछि काठमाडौं परिसरले तीनजनलाई पक्राउ गर्यो । अहिले अख्तियारको प्रहरी युनिटले सूक्ष्म अनुसन्धान गरिरहेको छ । पाठक भारतमा लुकेर बसेको आशंका प्रहरीको छ ।
काठमाडौं परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले यो घटनामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । उनले पाठकको खोजी भइरहेको बताए ।
भिडियोमार्फत अर्को धम्की
पाठकले प्रेम राईलाई धम्की दिएको एउटा भिडियो लोकान्तरले प्राप्त गरेको छ । उनले उक्त भिडियोमा राईलाई ‘एउटा अन्तिम मौका’ भन्दै चेतावनी दिएका छन् ।

प्रमुख दलका शीर्ष नेतालाई दुई दिनभित्र पक्राउ गर्न उनले राईलाई चेतावनी दिएका छन् ।
‘प्रदीप अधिकारी (नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक)सँग डेढ खर्बको डिल गर्ने दलका शीर्ष नेताहरूलाई पक्राउ गरिस् भने हामी तँलाई आक्रमण गर्दैनौं,’ पाठकले धम्कीपूर्ण शैलीमा भनेका छन्, ‘मर्नुभन्दा अगाडि एउटा राम्रो काम गर । तैँले गरेको भ्रष्टाचारलाई हामी माफी दिन्छौं ।’
पाठकले आफूलाई प्रहरीले खोजिरहेकाले हरेक आधा घण्टामा लोकेसन परिवर्तन गरेर बसेको पनि भिडियोमा उल्लेख गरेका छन् ।