
नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ परेका पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 'विष्णु पौडेललाई अपमानपूर्ण ढङ्गले पक्राउ गरियो, उहाँसँग पीएसओ छ, राज्यको खबरमा हुनुहुन्छ, आज काठमाडौं आउँदै हुनुहुन्थ्यो, त्यो कुरा थाहा पाउँदापाउँदै राज्यले दु:ख दिने हिसाबले पक्राउ गरियो, उनले भने, 'उहाँको पक्राउ प्रतिशोधपूर्ण छ, गैरन्यायिक छ, कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ, एमाले संसदीय दल विरोध गर्दछ।'
पौडेललाई अबिलम्ब रिहाइको माग गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पूर्ण उपप्रधान एवं अर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा सोमबार साँझ सुर्खेतबाट पक्राउ गरिएको थियो ।