
भारतीय टोलीले भारत र दक्षिण अफ्रिकाविरुद्धको टी-२० शृङ्खलाको पहिलो खेल १०१ रनले जितेको छ । ओडिशाको कटकमा खेलिएको टी-२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ७४ रनमा अलआउट भयो । भारतले १०० रन वा सोभन्दा बढीको अन्तरले टी-२० जितेको यो नवौं पटक हो । कटकमा भारतले पहिलोपटक टी-२० आई मा दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।
हार्दिक पाण्ड्याको अर्धशतकको मद्दतमा भारतले ६ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । हार्दिकले २८ बलमा ५९ रन बनाए, जसमा ६ चौका र ४ छक्का प्रहार गरे। तिलक वर्माले २६ र अक्षर पटेलले २३ रन बनाए। दक्षिण अफ्रिकाका लागि लुंगी न्गिडीले ३ र लुथो सिपामलाले २ विकेट लिए।
जवाफमा, दक्षिण अफ्रिकाका देवाल्ड ब्रेभिसले सर्वाधिक २२ रन बनाए । सात खेलाडीले १० रन पनि बनाउन सकेनन् । भारतका लागि, अर्शदीप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई-दुई विकेट लिए । हार्दिक पाण्ड्या र शिवम दुबेले एक-एक विकेट लिए।
बुमराहले आफ्नो १०० औं टी-२० आई विकेट पनि पूरा गरे। हार्दिकले आफ्नो १००औं छक्का पनि पूरा गरे र उनको बलिङ संख्या ९९ विकेट पुग्यो। उनी प्लेयर अफ द म्याच घोषित भए।
पाण्ड्या टी-२० मा १०० छक्का प्रहार गर्ने चौथो भारतीय बने । यो रेकर्ड रोहित शर्माको नाममा छ, जसको २०५ छक्का छ। जसप्रीत बुमराह टी-२० मा १०० विकेट लिने दोस्रो भारतीय बने । उनले डेवाल्ड ब्रेभिसलाई आउट गरेर यो उपलब्धि हासिल गरेका हुन् । बुमराहभन्दा पहिले अर्शदीप सिंहले यो उपलब्धि हासिल गरेका थिए।
बुमराह अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचा (टेस्ट, एकदिवसीय र टी-२०) मा १०० विकेट लिने विश्वका पाँचौं बलर बने। उनीभन्दा पहिले लसिथ मालिंगा, टिम साउथी, शकिब अल हसन र शाहीन अफ्रिदी मात्र यस उत्कृष्ट क्लबका हिस्सा थिए।
दक्षिण अफ्रिकाले बनाएको ७४ रन टी-२० आईमा उनीहरूको सबैभन्दा कम योगफल थियो । यसअघि, २०२२ मा राजकोटमा भारतविरुद्ध टोली ८७ रनमा अलआउट भएको थियो।
यो घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध रनको अन्तरले भारतको सबैभन्दा ठूलो जीत हो । यसअघि भारतले २०२२ मा राजकोटमा दक्षिण अफ्रिकालाई नै ८२ रनले पराजित गरेको थियो । अब दोस्रो टी-२० डिसेम्बर ११ मा चण्डीगढमा खेलिनेछ।