११ साउन २०८३, सोमबार

यी हुन् आईपीएल छाडेर पाकिस्तान सुपर लिग रोज्ने चर्चित क्रिकेटर

मंसिर २४, २०८२
काठमाडौं
यी हुन् आईपीएल छाडेर पाकिस्तान सुपर लिग रोज्ने चर्चित क्रिकेटर

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक हो, भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) ।

आईपीएलको आगामी संस्करणको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया)का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तिम सूची पनि सार्वजनिक गरिसकेको छ ।

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता भए पनि यसपटक केही चर्चित विदेशी खेलाडीले आईपीएललाई आफ्नो रोजाइमा पारेका छैनन् ।

विश्व क्रिकेटका केही प्रभावशाली खेलाडीले त आईपीएल छाडेर पाकिस्तान सुपर लिग (पीएसएल) मा आबद्ध हुने निर्णयसमेत लिएका छन् ।

यसका अतिरिक्त केही चर्चित खेलाडीले अन्य कारण देखाउँदै आईपीएलको आगामी संस्करण नखेल्ने निर्णय पनि लिएका छन् ।

त्यसैमध्येका एक हुन्, इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर मोइन अली । उनले आईपीएलको आगामी संस्करण नखेल्ने निर्णय लिएका छन् ।

यसपटक आईपीएलभन्दा पीएसएल उनको रोजाइमा परेको छ । उनले सामाजिक सञ्जालमार्फत पनि यसको पुष्टि गरिसकेका छन् ।

उनले आईपीएलको अघिल्लो संस्करण कोलकाता नाइट राइडर्सबाट खेलेका थिए । उनले हालसम्म आईपीएलमा ७३ खेल खेल्दै कुल एक हजार एक सय ६७ रन बनाएका छन् । आईपीएलमा उनले ४१ विकेट पनि लिएका छन् ।

यसैगरी, दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी फाफ डु प्लेसिसले पनि आईपीएलको आगामी सिजनमा सहभागिता नजनाउने भएका छन् ।

उनी पनि आईपीएल छाडेर पीएसएलतर्फ लागेका हुन् । उनले आईपीएल छाडेर पीएसएलतिर लाग्ने निर्णय लिनु आफ्ना लागि निकै कठिन भएको बताएका छन् ।

दक्षिण अफ्रिकाका यी प्रभावशाली खेलाडी हाल नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका छन् । उनी विराटनगर किङ्सका महत्त्वपूर्ण सदस्य हुन् ।

फाफ डु प्लेसिसले चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट आईपीएल खेलेका छन् । उनले आईपीएलमा कुल चार हजार सात सय ७३ रन बनाएका छन् ।

अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले पनि आईपीएलको आगामी संस्करण नखेल्ने निर्णय लिएका छन् ।

प्रभावशाली अलराउन्डर म्याक्सवेलले कुनै कारण नै नदिई आईपीएलको अक्सनबाट आफ्नो नाम फिर्ता लिएको समाचारमा जनाइएको छ । उनले यसअघि आईपीएलमा थुप्रै महत्त्वपूर्ण पाली खेलेका छन् ।

चर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले पनि सन् २०२६ को आईपीएल नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका पूर्वखेलाडी रसेलले आईपीएलबाट सन्न्यास लिएको बताएका छन् ।

उनी खेलाडीको भूमिकामा नभए पनि अन्य भूमिकामा आईपीएलमा देखा पर्ने सम्भावना भने छ ।

उनले आईपीएलको एक सय ४० खेलमा कुल दुई हजार ६ सय ५१ रन बनाएका छन् । उनले आईपीएलमा एक सय २३ विकेट पनि लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्