
सट्टेबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा ८ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत सोमबार मात्रै उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
पुर्पक्षका लागि कारागार चलान हुनेमा भारतको आन्ध्र प्रदेशका यद्युला राजा, महेश बाबु, तम्मिसेठ्ठी साइकुमार, पण्डित श्रीनिवासन, साइक सोहिब, नभीन मड्डेला, मोहम्मद रफिक शेख र साइक चन्द बसा छन् ।
यीमध्ये कोही कपडा व्यापारी त कोही फिल्मी र कोही मेडिकल फिल्डमा काम गर्नेहरू छन् । यद्युला पेशाले सवारी चालक हुन् । उनी भारतबाट काठमाडौं हुँदै पोखरा घुम्न गएका उनी काठमाडौं फर्किएर सामाखुसीस्थित एक होटलमा बसे ।
यधुलासँग महेश, पण्डित, साइक, नभीन र मोहम्मदको भेट भयो । उनीहरू होटलमै बस्दा काठमाडौंमा एनपीएल चलिरहेको थाहा पाए । भारतमा बस्दा सट्टेबाजी खेल्ने/खेलाउने गरेका उनीहरूले नेपालमा पनि त्यसै गर्ने योजना बनाए ।
सोही अनुरूप उनीहरूले खल्ती वालेटमार्फत टिकट काट्न खोजे । टिकट सोल्डआउट भइसकेको थियो ।
उनीहरूले अर्को विकल्प रोजेर प्रतिव्यक्ति ९ हजार तिरेर एनपीएल हेर्न कीर्तिपुर मैदान पुगे ।
प्रहरीले निगरानी बढाएको कुरा उनीहरूले हेक्का राखेनन् । विगतमा भारतमा सट्टेबाजको कानून नभएकाले निर्बाध खेलेको र नेपालमा पनि खेल्न पाइने कुरामा उनीहरू ढुक्क थिए ।
प्रहरीले यद्युलालाई पक्राउ गरिहाल्यो । उनको मोबाइल हेर्दा १४ हजार ६ सय ४६ रुपैयाँ ५२ पैसा देखियो । उक्त रकम यद्युलाले सट्टेबाजीकै लागि जम्मा गरेका थिए ।
बेटाकुलर लाइभ नामक अनलाइन बेटिङ साइटमा लगइन गरेर जम्मा गरेको उक्त रकमबारे प्रहरीले सोधपुछ गर्दा यद्युलाले सट्टेबाजीकै लागि जम्मा गरेको बयान दिए ।
उनले भारतीय बैंक खाताबाट बेट आईडीमा पैसा जम्मा गरेका थिए । उनले उक्त आईडीमा ३० हजार भारु जम्मा गरेका थिए । क्यासिनोमा समेत बाजी लगाउँदै आएका यद्युलाको खाताबाट तीन लाख २५ हजार ८ सय २१ रुपैयाँ २२ पैसा जम्मा भएको देखियो । उक्त रकम पनि सट्टेबाजी खेलकै क्रममा हारेको यद्युलाले बयानमा खुलाएका छन् ।
पक्राउ परेका अर्का मोहम्मद भारतमा रहँदा कपडा व्यापारीको काम गर्थे । यद्युलाकै जस्तो उनी पनि सट्टेबाजी खेल्न कीर्तिपुर मैदान पुगेका बेला पक्राउ परेका हुन् ।
उनको मोबाइल हेर्दा बेटिङ आईडीमा ५३ हजार एक सय ४६ रुपैयाँ देखिएको थियो । उनले बयानमा उक्त रकम सट्टेबाजीकै क्रममा हारेको स्वीकार गरेका छन् ।
शख भने भारतमा अनलाइन अर्डरमा आएका सामान डेलिभरी गर्थे । उनले एनपीएलमा सट्टेबाजी खेल्दा ८१ हजार चार सय ९५ रुपैयाँ जितेका थिए ।
अर्का आरोपी पण्डित पनि यद्युलाजस्तै सवारी चालक हुन् । भारतीय बेटिङ आईडीमा २५ हजार भारु जम्मा गरेर काठमाडौंमा जारी एनपीएलमा सट्टेबाजी खेलेका उनले एक लाख ९७ हजार ६ सय ४२ रुपैयाँ जितेको स्वीकार गरेका छन् ।
दक्षिण भारतीय अभिनेता महेश बाबुसँगै नाम जुधेका तर, हाल पक्राउ परेका महेशले फिल्ममा साइड रोलको काम गर्ने गरेको बयान दिएका छन् । उनी पनि भारतमा सट्टेबाजी गर्थे ।
नेपाल आएका बेला एनपीएलमा सट्टेबाजी गर्न कीर्तिपुर पुगे । बेटिङ आईडीमा २५ हजार भारु जम्मा गराए । खेल्दै जाँदा ८१ हजार चार सय ९५ रुपैयाँ जिते ।
मेडिकल फिल्डमा काम गर्ने नभीनले भने बेटिङ आईडीमा २० हजार मात्रै जम्मा गरेका थिए ।
सट्टेबाजी खेल्ने क्रममा उनको खातामा ८४ हजार एक सय ११ रुपैयाँ जम्मा भयो ।
बीएस्सी कम्प्युटर दोस्रो वर्षमा अध्ययनरत तम्मिसेठ्ठी पनि यद्युलासँगै सट्टेबाजी खेल्न जाने क्रममा पक्राउ परे ।
उनको खातामा ३२ हजार जम्मा भएपनि खेल्ने क्रममा जम्मा सात हजार सात रुपैयाँ मात्रै फाइदा भएको स्वीकारेका छन् ।
प्रहरीले अनुसन्धान गर्दा यी ८ जनाको मोबाइलमा खोलिएको बेटिङ आईडीमा सट्टेबाजीकै लागि कूल १७ लाख तीन हजार ६ सय ७५ रुपैयाँ जम्मा गरेको तथ्य फेला पारेको थियो ।
सट्टेबाजी खेलाउनकै लागि नेपाली सीमकार्ड लिएर रकम ट्रान्सफर गराउनु, भारतीय बैंकबाट पैसा ट्रान्सफर गर्नेगरी पहिल्यै खोलिएको बेटिङ आईडी प्रयोगमा ल्याउनु र भारतीय रकम उक्त आईडीमा जम्मा गर्नु, नाफा–घाटा स्वीकार गर्नुलाई सरकारी वकिल कार्यालयले प्रमाणको रूपमा लिएको थियो । गत सोमबार मात्रै दायर गरेको मुद्दामा सरकारी वकिल कार्यालयले पक्राउ परेका ८ जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) र (५) बमोजिम सट्टेबाजीसम्बन्धी कसुर गरेको भन्दै संहिताको दफा १२५ को उपदफा (६) बमोजिमको सजाय मागदाबी गरेको छ ।
उपदफा ६ ले बिगो जफत गर्ने र कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार जरिवाना हुने उल्लेख छ ।
अदालतले ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दिए ।