
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा बिहीबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो दोस्रो खेल खेल्दैछ । एपीएफ क्लबले आफ्नो दोस्रो खेल भुटानी लिग च्याम्पियन ट्रान्सपोर्ट युनाइटेडसँग खेल्न लागेको हो ।
एपीएफ र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल साँझा ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । पहिलो खेलमा बलियो प्रतिद्वन्द्वीमाथि सजिलो जीत हात पारेपछि उत्साही बनेको एपीएफ क्लब आफ्नो विजययात्रालाई निरन्तरता दिने धुनमा छ ।
एपीएफ क्लबले आफ्नो पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन नासरिन स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा एपीएफ क्लबका लागि रश्मी कुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोलको योगदान गरेका थिए ।
पाँच टोलीको सहभागिता रहेको साफ महिला क्लब च्याम्पियनसिप तालिकामा तीन अंकसहित एपीएफ पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलबाटै तीन अंक बटुलेको ईष्ट बंगाल दोस्रो स्थानमा छ । ईष्ट बंगाल भारतको लिग विजेता क्लब हो । इष्ट बंगालले पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेडलाई ४–० गोलले हराएको थियो ।
दुई खेलबाट दुई अंक बटुलेको कराँची सिटी क्लब तालिकाको तेस्रो स्थानमा छ । कराँची सिटी पाकिस्तानको लिग विजेता क्लब हो ।
कराँची सिटी आफ्नो पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पनि कराँची सिटी नासरिनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दुई खेलबाट एक अंक बटुलेको ट्रान्सपोर्ट युनाइटेड तालिकाको चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसिन नासरिनले पनि दुई खेलबाट एक अंक हात पारेको छ ।
लिग चरणमा सबै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि लिग तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
एपीएफ क्लबले आफ्नो तेस्रो खेल डिसेम्बर १४ तारिखमा कराँची सिटीसँग खेल्नेछ । एपीएफ क्लबले चौथो तथा अन्तिम खेल डिसेम्बर १७ तारिखमा ईष्ट बंगालसँग खेल्नेछ ।