
नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सकिएपश्चात भोलि अर्थात् आइतबार बिहान ७:३० बाट बन्दसत्र शुरू हुँदै छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने बन्दसत्रका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एमालेले जनाएको छ ।
पार्टी महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नेताहरू नेतृत्वमा पुग्ने दौडधूपमा लागेका छन् ।
यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गरेरै उमेरहद हटाइएका कारण तेस्रोपटक पार्टी अध्यक्ष बन्ने तयारीमा छन् ।
उनलाई काउन्टर दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।
त्यसैले आइतबारबाट हुने बन्दसत्रअघि र पछि नेताहरू नेतृत्वमा पुग्ने दाउका साथ पद आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

ईश्वर पोखरेल समूहमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य खुलेर लागेका छन् ।
यस्तै, सचिव योगेश भट्टराई‚ गोकर्ण विष्ट‚ स्थाथी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय नेताहरू ठाकुर गैरे‚ उषाकिरण तिमिल्सिनालगायत नेताहरू पनि यो पक्षमा खुलेका छन् ।
पार्टीमा गुमेको आन्तरिक लोकतन्त्रलाई पुर्नजीवन दिने र लोकतान्त्रिक विधि प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने उनीहरूको जिकिर छ ।
तर, समूहभित्र कुन नेता कुन पदमा लड्ने भने टुंगो भइसकेको छैन । संस्थापनमा असन्तुष्ट बन्ने नेताहरूलाई ल्याएर आफ्नो समूहलाई बलियो बनाउने रणनीति पोखरेल समूहको छ ।
विशेषगरी, अध्यक्ष पश्चातको महत्त्वपूर्ण पद महासचिवमा उपाध्यक्ष सुरेन्द्र पाण्डे कि योगेश भट्टराई लड्ने भन्ने टुंगो लाग्नै बाँकी छ ।
यो समूहबाट सचिव लड्ने तयारीमा रहेका नेता ठाकुर गैरै समूहबाट को कुन पदमा लड्ने भन्ने टुंगो लागिनसकेको बताउँछन् ।

आफू सचिव लड्ने तयारीमा रहेको बताउँदै उनले सबै विषय छलफलपश्चात टुंगो लाग्ने धारणा राखे ।
‘अब समूहगत छलफलहरू होलान् नै । भोलि साँझसम्म को कुन समूहबाट कुन पदमा लड्ने भन्ने आइसक्छ‚’ नेता गैरे भन्छन् ।
यता‚ संस्थापनबाट पनि अध्यक्ष ओलीपश्चात को कुन पदमा लड्ने भन्ने टुंगो लागिसकेको छैन । विशेषगरी, महासचिव पदमा आश गर्नेको संख्या धेरै छ ।
वर्तमान महासचिव शंकर पोखरेल पुनः महासचिव पदमै दोहोरिने प्रयासमा छन् । यस्तै, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि महासचिव बन्न लागिपरेका छन् ।
वर्तमान पदाधिकारीहरूमध्ये उपाध्यक्ष विष्णु पौडेल‚ उपमहासचिव विष्णु रिमाल‚ सचिव पद्मा अर्याल‚ छविलाल विश्वकर्मा लगायत नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती अध्यक्ष ओलीलाई छ ।

संस्थापनबाट उपमहासचिव लड्ने तयारीमा रहेका नेता शेरबहादुर तामाङ अध्यक्ष ओलीले कसलाई कुन पदमा लैजाने भन्ने कुनै संकेत दिइनसकेको बताउँछन् । उनी भोलि साँझसम्म कसलाई कुन पदमा ल्याउने भन्ने जानकारी आउन सक्ने बाउँछन् ।
‘अध्यक्षज्यूले आफैँ केही माइन्ड मेकअप गर्नुभएको होला । तर‚ कसैलाई केही भन्नुभएको छैन‚’ तामाङ भन्छन्‚ ‘हामीलाई छलफलमा बोलाउनुभएको छैन । यद्यपि भोलि साँझसम्म को कुन पदमा लड्ने भन्ने आउने देखिन्छ ।’
०७८ मा भएको महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चुनेको थियो । तर‚ गएको भदौमा भएको पार्टीको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झार्ने प्रस्ताव पारित गरेको थियो । विधान महाधिवेशनले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको थियो ।
तर‚ ११ औं महाधिवेशनमा आइपुग्दा एमालेले पुनः पदाधिकारी संख्या बढाएर १९ पुर्याउने सम्भावना रहेको संस्थापनकै नेताहरू बताउँछन् । यद्यपि, शुक्रबार बसेको सचिवालय बैठकमा भने यस विषयमा सहमति जुट्न सकेन ।
यता‚ ईश्वर पोखरेल समूहले पदाधिकारी संख्या थप्ने विषयमा असहमति जनाउँदै विधान परिवर्तन गर्ने भए ७० वर्षे उमेरहद कायम गर्नुपर्ने अडान राखेको छ ।