२८ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

नेतृत्वमा कसलाई देख्न चाहन्छन् एमालेका जेनजी ?

मंसिर २७, २०८२
काठमाडौं
नेतृत्वमा कसलाई देख्न चाहन्छन् एमालेका जेनजी ?

शनिबार बिहान ८ बजेट मकवानपुरबाट बस चढेका भीमबहादुर बम्जन करिब १२ बजेट भक्तपुर आइपुगे । 

मकवानपुर गढी गाउँपालिका-७ का बम्जन काठमाडौं उपत्यका आएको करिब ४ घण्टापछि मकवानपुर फर्किए ।

उनी केवल ३/४ घण्टाका लागि भए पनि एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका थिए । २६ वर्षका बम्जनले घर फर्किनुअघि लोकान्तरसँगको कुराकानीमा महाधिवेशन प्रतिनिधिलाई एउटा सन्देश मात्रै दिन आएको सुनाए ।

‘म केवल केही घण्टाका लागि केपी ओलीको नेतृत्व एमालेलाई चाहिन्छ भन्ने सन्देश दिन आएको हुँ’, बम्जनले सुनाए, ‘अहिलेको अवस्थालाई हेर्दा पुन: एक पटक एमालेलाई ओलीको नेतृत्व आवश्यकता छ ।’ 

२२ वर्षकै उमेर साउदी गएर नेपाल फर्किएका बम्जन केही वर्षदेखि गाउँमै छन् । गाउँघरमा पनि एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको कुरा चल्ने गरेको उनी सुनाउँछन् । युवाहरूले पनि अब एक पटकलाई ओलीलाई अध्यक्ष बनाउनुपर्ने उनको भनाइ छ । 

‘वडास्तरमा पनि युवाहरू छन् । सबैतिर युवाको नेतृत्व आएको छ । हामीले पनि राजनीति गर्न पाउनुपर्छ’, उनी सुनाउँछन्, ‘त्यो भन्दैमा पुरानालाई हटाउनुपर्छ भन्ने होइन । केही समय पार्टीलाई स्थिरता चाहिएको छ । त्यसैले हाम्रो सन्देश नै नेतृत्व दोहोरिनुपर्छ भन्ने हो ।’

उनले आफूहरू परिवर्तनकै पक्षमा रहेको बताए । तर, पहिलेको इतिहास र अहिलेको अवस्था फरक रहेको उनी बताउँछन् । 

‘त्यसैले माथि रहेकाहरूले हाम्रो कुरा पनि सुनिदिनुपर्‍यो’, बम्जनले थपे, ‘ठूला नेताहरूलाई भेट्नै पाइएको छैन । तर, हाम्रो कुरा र सन्देश प्रस्ट छ । हामीलाई नेतृत्व परिवर्तन चाहिएको होइन ।’ 

उनीसँगै आएका १९ वर्षीय अनिल बम्जन पनि सानै उमेरदेखि एमालेमा लागेको सुनाउँछन् । गाउँघरमा चुनावको माहोल शुरू भइसकेको र माथिल्लो नेतृत्वका लागि ११ औं महाधिवेशन निकै महत्त्वपूर्ण रहेको उनले बताए । 

‘राजनीतिमा हामी अहिले नै आउनुपर्छ भनेको होइन तर, एउटा नेतृत्व परिवर्तनको विषयले बहस पाउनु नै राम्रो पक्ष हो’, उनले भने, ‘यो भन्दैमा केपी ओलीको विकल्प चाहिन्छ भनेको होइन । अहिले पनि केपी ओलीकै नेतृत्व एमालेका कार्यकर्तालाई चाहिएको हो ।’ 

शनिबार भक्तपुरको सल्लाघारीमा भएको महाधिवेशनको उद्घाटन सत्रमा भीम र अनिलजस्ता धेरै युवा सहभागी भएका थिए । कति त प्रतिनिधि नै बनेर आएका छन् । 

महाधिवेशन उद्घाटनस्थलमा भेटिएका एमालेका युवा कार्यकर्ताहरूले पुन: एकपटक ओलीकै नेतृत्व खोजेका छन् । महाधिवेशनमा आएका जेनजी युवाहरूले ओलीकै नेतृत्व खोजेको सन्देश दिएका नेताहरू बताउँछन् । 

यसैको अर्को उदाहरण हुन् रोल्पामा सूर्य विक । उनी महाधिवेशनकै लागि शनिबार बिहान ४ बजे काठमाडौं आइपुगेका थिए । रोल्पाको माडी गाउँपालिका-४ का विक अहिलेको संकटग्रस्त अवस्थामा एमाले एकजुट हुनुपर्ने बताउँछन् । 

२०७३ सालदेखि एमालेमा आबद्ध रहेका विक २५ वर्षका भए । उनी जेनजी युवा पनि हुन् । आफू परिवर्तनको पक्षमा रहेको तर, संकटग्रस्त अवस्थामा नेतृत्व परिवर्तन नहुनुपर्ने उनको बुझाइ छ । 

‘११ औं राष्ट्रिय महाधिवेशनले नेकपा एमाले एकजुट भएको र एकजुट भएर अगाडि बढ्ने सन्देश दिनुपर्ने छ । हामी पनि त्यसको समर्थनका लागि आएका हौं’, उनले सुनाए, ‘जेनजी आन्दोलनपछि एमालेका युवाहरूले एकजुट हुनुपर्ने माग गरेका छन् ।’

ओलीलाई एक कार्यकाल अझै दिनुपर्ने उनको भनाइ छ ।

‘एमालेले १० प्रतिशत युवालाई स्थान दिएको छ । राजनीति उमेरले गरिँदैन, नेतृत्वमा परिपक्वता र दूरदृष्टि हुनुपर्छ’, उनले भने, ‘अहिले नै पदाधिकारी खोज्नु हुँदैन । विद्यार्थी राजनीतिमा १६ वर्षको उमेरदेखि लागेको छु । एकैचोटी म महासचिव अथवा सचिव हुन्छु भन्नु मुर्खता  हो । एमालेको विधान छ । विधान अनुसार अगाडि बढ्नुपर्छ । लोकप्रियताको पछाडि लाग्नु राम्रो होइन । लोकप्रियताको पछाडि लागेर पार्टी चल्दैन । त्यसैले अहिलेको आवश्यकता ओलीको नेतृत्व हो ।’

झापा जिल्लाबाट आएका एलिश पौडेल पनि ओलीको नेतृत्व दोहोरिनुपर्ने बताउँछन् । शुक्रबार मात्रै महाधिवेशनका लागि काठमाडौं आइपुगेका पौडेल २३ वर्षका जेनजी युवा हुन् । विद्यार्थी राजनीतिमा लागेका पौडेल स्थानीय तहसम्म युवाहरूले स्थान पाइरहेको र माथिल्लो तहमा अहिले नै जानु उचित नहुने बताउँछन् ।

झापाको मेचीनगर नगरपालिका-३ का पौडेल आफै व्यक्तिगत रूपमा काठमाडौं आएका हुन् । 

‘केपी बालाई फेरि समर्थन गर्नका लागि म आएको हुँ । अब बालाई सफल प्रधानमन्त्री बनाउनुपर्छ । युवाले पुन: ओलीको नेतृत्व खोजेको छ । झापाबाट सबै युवाहरू आएका छन् । अधिवेशनबाट ओली आउनुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्