
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ ।
सुदूरपश्चिम रोयल्सले विरानटनगर किङ्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो ।
दोस्रो ठूलो रनअन्तरको जित विरानटर किङ्सको नाममा रहेको छ । विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।
यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाण्डू गोर्खाजको नाममा रह्यो । काठमाण्डू गोर्खाजले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो ।
एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जित सुदूरपश्चिम रोयल्सले हासिल गरेको थियो । सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो ।
रमाइलो संयोग के हो भने, एनपीएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमान बनायो ।
दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जित कर्णाली याक्सको नाममा रह्यो । कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो ।
एनपीएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जित पोखरा एभेन्जर्सको नाममा रहेको थियो । पोखराले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो । पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार ब्यहोर्ने टोली बन्न पुग्यो लुम्बिनी ।
दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जित भने कर्णाली याक्सले हासिल गर्यो । कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो ।