
अर्जुन घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को ‘आम नेपाली बुवा’ बोलको गीत सार्वजनिक गरिएको छ । नागराज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रको प्रचारप्रसार स्वरूप सार्वजनिक गरिएको उक्त गीतमा काठमाडौं महानगरपालिकाका मेयर तथा र्यापर बालेन शाहको स्वर तथा शब्द (र्याप) सुन्न सकिन्छ ।
सार्वजनिक गीतले आम नेपाली बुवाहरूको कथा र व्यथालाई समेट्ने प्रयास गरेको छ । गीतको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रबिन शर्माको स्वर र रन्जित गजमेरको संगीत रहेको कालजयी गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’ को अंश प्रयोग गरिएको छ । गीतको नयाँ एरेन्जमेन्ट क्रोनिक बिट्सले गरेका हुन् भने मिक्सिङ विशेष पाण्डेले गरेका छन् । गीतको कोरसमा दिक्षा उप्रेतीले स्वर दिएकी छिन् ।
चलचित्रका मुख्य कलाकारहरू गणेश उप्रेती, कमल मणि नेपाल, सिर्जना अधिकारी, भोला राज सापकोटा लगायतलाई देख्न सकिन्छ । यसका साथै चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन् ।
बुद्ध थापाले छायांकन गरेको यस गीतको भिडियोलाई मित्र देव गुरुङले सम्पादन गरेका हुन् । अनिशा सेन्दाङ लिम्बुको निर्माण तथा अर्जुन घिमिरेको निर्देशन रहेको यो चलचित्र आगामी पौष ४ गते (डिसेम्बर १९) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेले तयार पारेका हुन् ।