
बबरमहलस्थित आयल निगमअगाडि बम विस्फोट गराएको घटनाका अभियुक्त फेरि अर्को घटनामा पक्राउ परेका छन् ।
२०६८ फागुन २५ गते भएको घटनामा सजाय काटेर छुटेका राजकुमार तामाङ लामालाई प्रहरीले विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा मंगलबार काठमाडौंको कपनस्थित घरबाटै पक्राउ गरेको हो ।
उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।
५० वर्षीय लामाले आफूलाई कुमार, विश्वक्रान्ति तथा देवराज लामा नामले समेत चिनाउँदै आएका थिए । उनको स्थायी घर धनकुटाको पाख्रीबास- ९ हो ।
बबरमहल घटनामा २०६९ असार १२ गते पक्राउ परेर २०७६ मा प्रजातन्त्र दिवसको अवसरमा छुटेका लामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए ।
सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनले बबरमहलमा विस्फोट गराउँदा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय राजनीतिमा आउन खोजेका उनी साम्पाङको पार्टीको उपाध्यक्ष बनेका थिए ।