
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
जबकी कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड राजस्व संकलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए ।
‘कार्यालयले मंसिर महिनामा २१ अर्ब ३३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड राजस्व संकलन गरेको छ’, उनले भने ।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मंसिर महिनामा संकलन भएको बताए ।
साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन भएको थियो ।
त्यस्तै, कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मंसिर महिनामा भने २० अर्ब ८० करोड राजस्व संकलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।
हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन भएको छ ।