
विश्व फूटबल महासंघ (फिफा) ले आगामी विश्वकपका लागि टिकटको मूल्य सार्वजनिक गरेपछि विश्व फूटबल एकपटक फेरि तरंगित बन्न पुगेको छ ।
विश्वकपको टिकट मूल्य अत्यन्तै महंगो भएको भन्दै फूटबलप्रेमी आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा पनि यो विषयले गतिलै चर्चा पाइरहेको छ ।
विश्वकपको २३औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ । यसपटक प्रतियोगिता तीनवटा राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
कतिपय समर्थकले त विश्वकपको टिकटको मूल्यलाई समर्थकहरूमाथि गरिएको ‘हास्यास्पद अपमान’ को संज्ञा पनि दिएका छन् । फूटबल समर्थकहरूको संघले पनि यसप्रति विरोध जनाएको छ ।
विश्वकपमा छनोट भएका कतिपय राष्ट्रका समर्थकको त एक महिनाको कमाइले एउटा खेलको टिकट पनि खरिद गर्न नसकिने अवस्था छ ।
त्यसमाथि लामो यात्रा गरेर खेलस्थलसम्म पुग्ने यातायात खर्चसँगै आवास र खानपिनको खर्च त समर्थकका लागि अर्को समस्याको विषय हो ।
अफ्रिकी राष्ट्र घाना आगामी विश्वकपमा छनोट भइसकेको छ । घानाका फूटबल समर्थकले विश्वकपका खेलहरू हेर्न निकै लामो यात्रा गर्नुपर्ने हुन्छ । त्यसमाथि टिकटको मूल्य निकै चर्को छ ।
‘टिकटको मूल्य सुनेर हामी निकै आक्रोशित र निराश छौं । यो फूटबल समर्थकमाथि गरिएको आघात हो । मैले त विश्वकपको कुनै पनि खेल नहेर्ने योजना बनाएको छु,’ घानाका एक समर्थक भन्छन् ।
अघिल्लो विश्वकप (कतार विश्वकप–२०२२) को तुलनामा आगामी विश्वकपका लागि निर्धारण गरिएको टिकटको मूल्य तीन गुणाभन्दा बढी महंगो पारिएको छ ।
आगामी विश्वकपको फाइनलका लागि सबैभन्दा सस्तो टिकटको मूल्य तीन हजार एक सय १९ पाउन्ड (करिब ६ लाख नेपाली रुपैयाँ) निर्धारण गरिएको छ ।
उत्तर र मध्य तथा क्यारेबियन क्षेत्रबाट हाइटी पनि आगामी विश्वकपमा छनोट भएको छ । विश्वकै गरिब राष्ट्रको सूचीमा पर्छ, हाइटी । तर, हाइटीमा फूटबल भनेपछि हुरुक्कै हुनेहरूको ठूलो जमात छ ।
हाइटीका नागरिकको प्रत्येक महिनाको औसत कमाइ एक सय १० पाउन्ड (करिब २१ हजार दुई सय ५८ रुपैयाँ) रहेको छ । हाइटीले आफ्नो पहिलो खेल जुन १३ तारिखमा स्कटल्यान्डसँग खेल्दैछ ।
जबकि आगामी विश्वकपमा हाइटीको पहिलो खेलको टिकटको मूल्य एक सय ३५ पाउन्ड (करिब (२६ हजार पाँच सय नेपाली रुपैयाँ) निर्धारण गरिएको छ ।
विश्वकपको समूह ‘सी’ मा रहेको हाइटीले आफ्नो दोस्रो खेल जुन १९ तारिखमा ब्राजिलसँग र तेस्रो खेल जुन २४ तारिखमा मोरक्कोसँग खेल्नेछ । हाइटी ५२ वर्षपछि विश्वकपमा छनोट भएको हो । त्यसैले हाइटीका समर्थक आफ्नो टोलीको हौसला बढाउन निकै उत्साही छन् ।
तर, समूहगत चरणको तीनवटै खेल हेर्न हाइटीका समर्थकले कुल चार सय ६७ पाउन्ड (करिब ९१ हजार पाँच सय नेपाली रुपैयाँ) खर्चनु पर्नेछ । यो रकम हाइटीका नागरिकको चार महिनाको औसत पारिश्रमिक बराबर हुन आउँछ ।
यस्तै, अवस्था घानाको पनि छ । घानाका नागरिकको औसत मासिक पारिश्रमिक एक सय ९० पाउन्ड (करिब ३७ हजार तीन सय नेपाली रुपैयाँ) रहेको छ । ‘हामीजस्ता समर्थकको लागि यो निकै निराशाजनक पक्ष हो । हामी चार वर्षदेखि विश्वकपको प्रशिक्षक गरिरहेका छौं । लाग्छ, रंगशाला पुगेर विश्वकप हेर्नु हाम्रो भाग्यमै छैन,’ घानाका समर्थक जोजो क्वानहस भन्छन् ।
यदि कुनै टोली आगामी विश्वकपको फाइनलमा पुग्यो र त्यो टोलीको समर्थकले आफ्नो टोलीको सबै खेल हेर्न चाहन्छ, भने कुल पाँच हजार दुई सय पाउन्ड (करिब १० लाख २० हजार नेपाली रुपैयाँ) खर्च गर्नुपर्ने हुन्छ । यसमा यातायात, आवास र खानपिनको खर्च छुट्टै थप्नुपर्ने हुन्छ ।
आगामी विश्वकपमा ४८ टोलीको सहभागिता रहने छ । यसअघि, कतारमा सम्पन्न २२औं विश्वकपमा ३२ टोलीले मात्र भाग लिएका थिए ।
फिफाले विश्वकपको खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । हालसम्म विश्वकपमा सहभागी हुने ४२ टोलीको मात्र टुङ्गो लागेको छ । अझै ६ वटा टोलीको भने टुङ्गो लाग्न बाँकी छ ।
यसपटक कम्तीमा चारवटा टोलीले पहिलोपटक पुरुष विश्वकप खेल्नेछन् । एसियाबाट जोर्डन र उज्बेकिस्तान पहिलोपटक विश्वकपमा छनोट भएका छन् ।