
इन्टर कन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि फ्रान्सेली ‘पावर हाउस’ पेरिस सेन्ट जर्मन (पीएसजी)ले जितेको छ ।
च्याम्पियन्स लिग विजेतासमेत रहेको पीएसजीले बुधबार राति सम्पन्न फाइनल खेलमा बलियो ब्राजिलियन प्रतिद्वन्द्वी फ्लेमिङ्गोलाई पेनाल्टी सुटआउटमा २–१ गोलले हराउँदै उपाधि चुमेको हो ।
कतारमा खेलाइएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । शुरूआती अग्रता पनि पीएसजीले नै लिएको थियो ।
निर्धारित समयको ३८ औं मिनेटमा खविचा क्वारात्सखेलियाले पीएसजीलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा पीएसजी अगाडि रह्यो ।
निर्धारित समयको ६२ औं मिनेटमा फ्लेमिङ्गोका लागि जर्जिन्होले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत् उक्त गोल गरेका हुन् ।
त्यसपछि, पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मार्यो । पीएसजीको जितमा गोलरक्षक मात्भेयी साफानोभ नायक बने ।
रुसी राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका साफानोभले खेलका क्रममा चारवटा पेनाल्टी जोगाएपछि पीएसजीको जित सम्भव भएका थियो ।
इन्टर कन्टिनेन्टल कप फुटबल प्रतियोगिताको यो दोस्रो संस्करण हो । यसअघि, सन् २०२४ मा सम्पन्न पहिलो संस्करणको उपाधि स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले जितेको थियो ।
अघिल्लो संस्करणको फाइनलमा रियल म्याड्रिडले मेक्सिकन प्रतिद्वन्द्वी पाचुकालाई ३–० गोलको फराकिलो अन्तरले हराएको थियो ।