२८ असार २०८३, आइतबार

तेस्रो एसेस टेस्ट क्रिकेट : पहिलो पालीमा अस्ट्रेलियन बलरसामु निरीह बने इङ्ल्यान्डका ब्याट्सम्यान

पुस ३, २०८२
काठमाडौं
तेस्रो एसेस टेस्ट क्रिकेट : पहिलो पालीमा अस्ट्रेलियन बलरसामु निरीह बने इङ्ल्यान्डका ब्याट्सम्यान

एसेस शृंखलाको तेस्रो टेस्टमा पनि भ्रमणकारी टोली इङ्ल्यान्डका ब्याट्सम्यान घरेलु टोली अस्ट्रेलियासमु निरीह देखिएका छन् ।

तेस्रो टेस्टको दोस्रो दिन बिहीबार इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा केवल दुई सय १३ रन बनाउँदा आठ विकेट गुमाइसकेको छ ।

पहिलो पालीमा इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका छैनन् । इङ्ल्यान्डले माथिल्ला चार ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो ।

ओपनर ज्याक क्रावली नौ, बेन डकेट २९, ओली पप तीन र जो रुट १९ रनमा आउट भएका थिए । इङ्ल्यान्डका लागि ह्यारी ब्रुक र कप्तान बेन स्टोक्सले सर्वाधिक ४५/४५ रन बनाए ।

बेन स्टोक्स अझै अविजित छन् । लामो समयदेखि क्रिजमा संघर्ष गरिरहेका स्टोक्सले एक सय ५१ बलको सामना गरी तीन चौका हिर्काएका छन् ।

विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले २२ रन जोडे । विल ज्याक्स ६ र ब्राइडन कार्स शून्य रनमै पेभेलियन फर्किए । तल्लोक्रमका ब्याट्सम्यान जोफ्रा आर्चर ३० रन बनाउँदै क्रिजमा छन् ।

अस्ट्रेलियाका बलर प्याट कमिन्सले तीन तथा स्कट बोल्यान्ड र नाथन लियोनले दुई/दुई विकेट लिए । क्यामरन ग्रिनले पनि एक विकेट हात पारे ।

त्यसअघि, अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा तीन सय ७१ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाका लागि एलेक्स केरीले शतक तथा उस्मान ख्वाजा र मिचेल स्टार्कले अर्धशतक बनाए ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली अस्ट्रेलियाले आठ विकेटको नोक्सानीमा तीन सय २६ रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो ।

छैटौं नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान केरीले एक सय ६ रन बनाए । ३४ वर्षीय बायाँहाते ब्याट्सम्यान केरीले एक सय ४३ बलमा एक छक्का र आठ चौका हिर्काए ।

उस्मान ख्वाजाले पनि टोलीको खातामा ८२ रन थपे । उनले एक सय २६ बलमा १० चौका हिर्काए । घरेलु टोलीका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा आउट भए । जोस इङ्लिसले ३२ रन बनाए ।

पहिलो दिनको खेल सकिँदा ३३ रनमा अविजित रहेका मिचेल स्टार्कले दोस्रो दिन अर्धशतक पूरा गरे । उनले ५४ रन बनाए । यसक्रममा उनले ७५ बलमा नौ चौका पनि प्रहार गरे ।

इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले पाँच तथा ब्राइडन कार्स र विल ज्याक्सले दुई/दुई विकेट लिए । पाँच टेस्टको एसेस शृंखलामा अस्ट्रेलियन टोली २–० ले अगाडि छ ।

अस्ट्रेलियाले शृंखलाको पहिलो र दोस्रो दुबै टेस्टमा इङ्ल्यान्डलाई आठ विकेटको समान अन्तरले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्