
अस्ट्रेलियामा जारी चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिगमा गजबको कीर्तिमान बनेको छ । प्रतियोगिताको पछिल्लो खेलमा ब्रिसबेन हिटले पर्थ स्कोर्चर्समाथि ऐतिहासिक जित हासिल गरेको हो ।
पहिले ब्याटिङ गरेको पर्थ स्कोर्चर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ५७ रनको विशाल योगफल तयार पारेको थियो ।
यो बिग बास लिगको इतिहासमा बनेको तेस्रो ठूलो स्कोर हो । पर्थ स्कोर्चर्सले बनाएको भने सबैभन्दा ठूलो स्कोर हो ।
तर, जवाफी ब्याटिङमा ओर्लिएको ब्रिसबेन हिटले एक बल बाँकी रहँदै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । बिग बास लिगको इतिहासमा कुनै पनि टोलीले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठूलो विजयलक्ष्य हो ।
ब्रिसबेन हिटका दुई ब्याट्सम्यान ज्याक विल्डरमथ र म्याट रेनशले उत्कृष्ट शतकीय पाली खेल्दै टोलीलाई जितसम्म डोर्याए । ज्याकले अविजित एक सय १० रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५४ बलमा नौ छक्का र पाँच चौका प्रहार गरे ।
म्याटले पनि एक सय दुई रनको योगदान गरे । उनले केवल ५१ बलमा नौ छक्का र पाँच चौका हिर्काए । उक्त खेलको दुबै पालीमा छक्का र चौकाको वर्षा भएको थियो । दुवै टोलीका ब्याट्सम्यानले कूल ३६ छक्का र ३० चौका प्रहार गरे ।
दुवै टोलीले गरेर कुल पाँच सय १५ रन बनाए । त्यसमध्ये तीन सय ३६ रन त बाउन्ड्रीबाट मात्र बनेको थियो । टोलीको खाता खुल्नुअघि नै ब्रिसबेन हिटले पहिलो विकेट गुमाएको थियो । त्यसपछि ज्याक र म्याटले टोलीका लागि दुई सय १२ रनको साझेदारी गरे ।
ब्रिसबेन हिट बिग बास लिगको इतिहासमै दोस्रो ठूलो स्कोर बनाउने टोली पनि बन्यो । यसअघि, सन् २०२२ मा होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न स्टार्सले दुई सय ७३ रन बनाएको थियो । योसँगै ब्रिसबेन हिट टी–२० क्रिकेटको इतिहासमै तेस्रो ठुलो विजयलक्ष्य पूरा गर्ने टोली पनि बन्यो ।
टी–२० क्रिकेटमा सबैभन्दा ठुलो लक्ष्य पूरा गर्ने टोली भने पञ्जाब किङ्स हो । पञ्जाब किङ्सले सन् २०२४ को इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दिएको दुई सय ६२ रनको लक्ष्य पूरा गरेको थियो ।
यसैगरी, सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रियमा दुई सय ५९ रनको लक्ष्य पूरा गरेको थियो ।