
भारतको पश्चिमी बंगाल पुलिसले बंगलादेशमा हालै भएको एक हिन्दू युवकको हत्यालाई आठ महिनाअघि भारतको मुर्शिदाबादमा भएको पुरानो घटनासँग तुलना गर्ने प्रयासप्रति कडा आपत्ति जनाएको छ।
यस्तो तुलनालाई अत्यन्तै भड्काउ र सार्वजनिक शान्ति बिथोल्ने प्रयास भन्दै पुलिसले सचेत गराएको छ।
शनिबार सामाजिक सञ्जाल 'एक्स' मार्फत एक विज्ञप्ति जारी गर्दै पश्चिमी बंगाल पुलिसले बंगलादेशमा मारिएका दीपू चन्द्र दासको घटना र मुर्शिदाबादमा ८ महिनाअघि भएको हरगोबिन्द दास र चन्दन दासको मृत्युलाई जोडेर भ्रामक प्रचार भइरहेको बताएको छ। पुलिसका अनुसार यी दुई फरक प्रकृतिका घटनालाई तुलना गर्नुको पछाडि तथ्य बंग्याउने र साम्प्रदायिक सद्भाव बिगार्ने दुर्भावना लुकेको छ।
मुर्शिदाबादको घटनाबारे स्पष्ट पार्दै पुलिसले भनेको छ, 'त्यसबेला १३ जनालाई तुरुन्तै पक्राउ गरिएको थियो र बलियो आरोपपत्र (चार्जशिट) समेत दायर भइसकेको छ।' पुलिसले कुनै पनि आपराधिक घटनालाई साम्प्रदायिक रङ्ग नदिन र अफबाहहरूको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेको छ।
यसै साता बंगलादेशको मयमनसिंह जिल्लामा धर्मको अपमान गरेको आरोपमा भीडले दीपू चन्द्र दास नामका युवकलाई कुटपिट गरी हत्या गरेको थियो। स्थानीय पुलिसका अनुसार उनको हत्यापछि शवलाई रुखमा बाँधेर जलाइएको थियो।
पश्चिमी बंगाल पुलिसले भड्काउ र गलत जानकारी फैलाउने सामाजिक सञ्जालका एकाउन्टहरूमाथि निगरानी राखिएको र त्यस्ता व्यक्तिहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।