११ साउन २०८३, सोमबार

मोहमद सलाहको निर्णायक गोलमा इजिप्टको रोमाञ्चक जित

पुस ८, २०८२
काठमाडौं
मोहमद सलाहको निर्णायक गोलमा इजिप्टको रोमाञ्चक जित

अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगितामा इजिप्टले सुखद शुरूआत गरेको छ ।

इजिप्टले मंगलबार बिहान सम्पन्न आफ्नो पहिलो खेलमा जिम्बाब्वेमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्‍यो ।

इजिप्टको प्रतिस्पर्धात्मक जितमा प्रभावशाली खेलाडी मोहमद सलाहले निर्णायक गोल गरे । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका अनुभवी खेलाडी सलाहले खेलको अन्त्यतिर गोल गरेका थिए ।

खेलमा शुरूआती अग्रता भने जिम्बाब्वेले लिएको थियो । खेल शुरू भएको २०औं मिनेटमा जिम्बाब्वेका लागि प्रिन्स डुबेले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जिम्बाब्वे अगाडि रह्यो ।

निर्धारित समयको ६४ औं मिनेटमा इजिप्टका लागि ओमर मार्मुसले जवाफी गोल गरेका थिए । उनी म्यानचेस्टर सिटीबाट व्यवसायीक फुटबल खेल्छन् । खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा सलाहले निर्णायक गोल गरे ।

प्रतियोगिताको समूह ‘बी’ मा तीन अंकसहित इजिप्ट पहिलो स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले भने आफ्नो पहिलो खेलमा एन्गोलालाई २–१ गोलले हराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्