
नेपालका क्यासिनोमा नेपालीलाई प्रतिबन्ध छ । विशेषगरी भारतीयले नै नेपालका क्यासिनो धानेका छन् ।
पछिल्ला दिनमा काठमाडौंमै सञ्चालित क्यासिनोमा प्रहरीले छापा मार्न छाडेको थियो । यहीबीचमा इभेन्ट सञ्चालनको नाममा दुईसय जना भारतीय नागरिकहरू काठमाडौंका होटलमा बसेको सूचना प्रहरीले पायो ।
‘महाकाया ग्रुप’ नामको कम्पनीले काठमाडौंको मेरियट होटलमा जुवा खेलाइने र होटलमा बस्ने, खाने (मदिरासहित) सुविधा नि:शुल्क गरिएको विज्ञापन निकाल्यो । ‘कम्प्लिमेन्ट्री’ भनेर पशुपतिनाथको दर्शन र चन्द्रागिरि हिल्समा लैजाने भनियो ।
सन् २०२५ डिसेम्बर ११ देखि १४ सम्म गर्ने भनिएको उक्त इभेन्ट छाँयासेन्टरमा सञ्चालित वाल्डो डाइनास्टिक इन्टरटेन्मेन्ट प्रालि (वाल्डो क्यासिनो) मा गरियो ।
भारतबाट ल्याइएका थिए– सुरेश महाजन (मुख्य खेलाडी), मोनु भन्ने मनोज कुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश ।
एक सिफ्टमा लेन्स लगाइएका दुई खेलाडी
क्यासिनोमा एक सिफ्टमा १० जना खेल्ने गरेका थिए । त्यहाँ भारतबाटै योजनाबद्ध रूपमा ल्याइएका तीनजना लेन्सधारी खेलाडीलाई समेत समावेश गराइन्थ्यो ।
म्याग्नेट जडित तासलाई लेन्स लगाएको आँखाले हेर्दा विपक्षी खेलाडीको हातमा रहेको तीन पत्ती तास पूरै चिनिन्थ्यो । २० घण्टासम्म खेल्ने खेलमा लेन्स लगाएका खेलाडीले दुईदेखि तीन घण्टासम्म मात्रै आँखामा लेन्स राख्न सक्थे । त्यसलगत्तै खेलाडी परिवर्तन गरिहाल्नुपर्थ्यो । भारतीय पक्षले नै खेलाडी तयार पार्ने र बूक गरिएका १० वटा टेबुलमा तालिमप्राप्त खेलाडीहरू छरेर राख्ने गरेको प्रहरीले जनाएको छ ।

महाकाया ग्रुपका सञ्चालक सुरेश महाजनको नेपाल ‘कनेक्सन’
होटल हायातमा सञ्चालित क्यासिनो प्राइडमा विगत दुई वर्षदेखि इभेन्ट सञ्चालन गर्दै आएका व्यक्ति हुन्, सुरेश महाजन ।
उनले नै इभेन्ट अर्गजनाइज गरेर काठमाडौंस्थित क्यासिनो वाल्डोमा इन्डियन फलास खेलाउन १० वटा टेबुल बूक गरेका थिए । महाजनले काठमाडौंकै होटल अलफ्टमा ४० वटा, होटल मेरियटमा ५० वटा र होटल र्याडिसनमा २० वटा कोठा बूक गराएका थिए ।
उनको सम्बन्ध क्यासिनो प्राइडका सञ्चालक विनय साह र दावा सेट्टी भन्ने दावा शेर्पासँग थियो । महाजनले विगतमा क्यासिनो प्राइडमा पनि इभेन्टको नाममा यस्तै गेम खेलाएको आशंका प्रहरीको छ ।
उनले नेपालमा मात्रै नभएर भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा समेत इभेन्ट सञ्चालन गरेको बयान प्रहरीलाई दिएका छन् ।
डमी खेलाडीलाई व्यवस्थापन गर्ने उप्रेती फरार
इभेन्ट व्यवस्थापनको जिम्मा पाएकामध्ये बीपी ग्रुपका खेलाडी विनोद उप्रेती फरार छन् । उनी नेपाल तर्फबाट मुख्य आयोजक समेत हुन् । खेलाडीदेखि उनीहरूको होटल, प्लेनको टिकट र टेबुल बूकिङको सम्पूर्ण काम उप्रेतीले गर्दै आएका थिए । उनैले बीपी ग्रुपका नाममा होटल र क्यासिनोको बिल तिर्दै आएका थिए ।
उनी आफैं पनि जुवामा संलग्न थिए । महाकाया ग्रुपका डमी खेलाडी र डिल कर्मचारीलाई व्यवस्थापन गर्ने जिम्मेवारी उप्रेतीले सम्हाल्दै आएका थिए । प्रहरीले छापा मारेपछि उनी फरार भएका हुन् ।

५० प्याकेट तास र लेन्स भारतबाटै ल्याइएको थियो
इभेन्टका लागि ५० बूक तास (म्याग्नेट जडित) र आँखामा राख्ने लेन्स भारतबाटै ल्याइएको थियो ।
त्यसमध्ये १२ बूक तास वाल्डो भित्र लगिएको थियो भने बाँकी ३८ बूक तास होटलमै राखिएको थियो । प्रहरीले होटलमा छापा मारेर तास र दुई सेट आइलेन्स बरामद गरेको थियो । दुई सेट आइलेन्स भने खेलाडीहरू गौरव खत्री र निरज कुमारले लगाएरै भागेका थिए ।
हालसम्म प्रहरीले महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई पक्राउ गरेको छ ।
वाल्डोका सञ्चालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार छन् ।
पक्राउ परेका दिनेश बर्मा भारतको हरियाणाका हुन् । उनैले आइलेन्स र चुम्बकीय तास दिल्लीबाट नेपाल ल्याएका थिए । क्यासिनोमा जितेको रकमको १० प्रतिशत खेलाडीले पाउने र ९० प्रतिशत इभेन्ट सञ्चालकले पाउने सहमति महाजन र बर्माबीच भएको थियो । बर्मा क्यासिनोका मुख्य खेलाडी पनि थिए ।
पक्राउ परेका मध्येका विक्रम सिंहको भूमिका पनि बर्माको जस्तै थियो । उनी र प्रमोद मौर्यले एक वर्षअघि भैरहवास्थित एलिगेन्ट क्यासिनो र हायात होटलको प्राइड क्यासिनोमा पनि सँगै खेलेका थिए ।

अनुसन्धान जारी रहेको प्रहरीको भनाइ
यस घटनाबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरीले मिहीन ढंगबाट यो घटनाको अनुसन्धान गरिरहेको बताए ।
उनले भने, ‘तत्कालीन प्रमाण र अपराधमा संलग्नबारे हामीले यति नै जानकारी गरायौँ, अरू थप अनुसन्धान गर्दैछौं ।’
क्यासिनो नियमावली, २०८२ अनुसार क्यासिनोभित्र कुनै उपकरण वा वस्तु लैजानुपूर्व सम्बन्धित क्यासिनो प्रशासनलाई जानकारी गराउनुपर्ने प्रावधान हुँदा पनि यो घटनामा भने अर्गनाइजरले कुनै जानकारी नगराएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जानकारी थापाले दिए ।
उनका अनुसार क्यासिनोमा जितेको रकम हुण्डीमार्फत कारोबार हुँदै आएको तथ्य खुलेको छ ।