
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् ।
आज कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, 'चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैं निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ।'
अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इन्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको बताए ।

मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र यसै क्रममा निजी क्षेत्रको संरक्षणका लागि सरकारसमक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’लाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाटै पास गर्ने आश्वासन दिएको उनले सुनाए ।
मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्रको यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको उनले बताए ।
स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवबाट पनि आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
अध्यक्ष ढकालले यसप्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरूलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरूलाई आग्रह गरे ।