२८ जेठ २०८३, बिहीबार
बालेनको राजनीतिक मूभ

वैकल्पिक शक्ति निर्माणमा बालेनको कसरत- रवि, कुलमानदेखि जेनजी र कांग्रेस नेतासँग सघन वार्ता

पुस १०, २०८२
काठमाडौं
वैकल्पिक शक्ति निर्माणमा बालेनको कसरत- रवि, कुलमानदेखि जेनजी र कांग्रेस नेतासँग सघन वार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सोमबार राति लामो भेटवार्ता भयो । 

रविसँगको करिब ७ घण्टा लामो संवाद सकिएको विषय सेलाउन नपाउँदै बालेनले चालेको अर्को कदमले राजनीतिक तंरग ल्याएको छ ।

बुधबार दिनभर राजनीतिक भेटघाट गरेका बालेनले बिहीबार पनि यसलाई निरन्तरता दिइरहेका छन् । 

बालेनले बुधबार जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) मात्र होइन डा. भगवान कोइरालासँग पनि भेट गरेका थिए । 

बालेनसँग भेटेको विषयमा जनमत पार्टीका अध्यक्ष सीके राउत र नाउपा नेपालका संरक्षक रेशम चौधरीले स्वीकार गरेका छन् । 

भेटमा बालेनले नयाँ तथा वैकल्पिक शक्तिहरू मिलेर जानुपर्ने प्रस्ताव राखेको राउतले जानकारी दिए ।

‘नयाँ दलहरू मिलेर एकताबद्ध भएर जानुपर्ने प्रस्ताव उहाँको थियो,’ उनले भने, ‘मैले हाम्रो परिस्थिति फरक भएको र मिलनका लागि थप छलफल गर्दै जाने कुरा राखेँ ।’

कांग्रेस नेता चन्द्र भण्डारीले पनि भेट भएको तथ्यलाई अस्वीकार गरेनन् । तर, भेट भने संयोगबस् भएको उनको दाबी छ । 

‘तयारीका साथ भेट भएको हैन । म कतै गएर आउँदा संयोगबस् भेट भएको हो,’ भण्डारीले भने, ‘खासै धेरै कुरा भएको पनि होइन । सामान्य विषयमा हामीले केही मिनेट कुरा गर्‍यौं ।’

भेटमा नेता भण्डारीले जेनजी आन्दोलनको मर्म र भावनाको सम्मान गर्ने भए संविधान संशोधन गरेर मात्र अघि बढ्न सुझाव दिएको बुझिएको छ ।

‘जेनजीको भावनालाई सम्बोधन गर्न संविधान संशोधन गरेर मात्र जानुपर्छ भन्ने कुरा भयो,’ भेटबारे जानकार स्रोत भन्छ ।

पार्टी हाक्ने मुडमा बालेन !

पेशाले इन्जिनियर तथा र्‍यापर बालेन शाह २०७९ को स्थानीय तहको निर्वाचनले चर्चामा आएका पात्र हुन् । लौरो चुनाव चिह्नमा स्वतन्त्र निर्वाचन लड्दै उनले महानगरपालिका प्रमुखमा शानदार मतसहित निर्वाचन जितेका थिए । त्यसबखत उनको ‘गरिबको चमेली बोलदिने कोही छैन’ भन्ने गीतले निकै चर्चा कमाएको थियो । 

मेयर भएपश्चात् बालेनले सरकारकी जग्गा अतिक्रमणको विरूद्ध डोजर अभियान, फुटपाथमा व्यापार तथा सार्वजनिक शौचालयको विषयले निकै चर्चा कमायो । त्यसमाथि सिंहदरबार जलाउने विवादित अभिव्यक्ति तथा कसैसँग इन्टर्‍याक्ट नगर्ने बानीले पनि बालेनलाई रहस्यमयी नेताको ट्याग भिरायो । 

‘बालेनले मात्र देशलाई निकास दिन्छन्’ भन्ने भाष्य बन्दै जानु र पुराना दलका शीर्ष नेताबाट जनता आजित हुँदा नेपाली राजनीतिमा बालेनको डिमान्ड बढ्दै गएको छ । उनले चाल्ने कदमले राजनीति तरंगित हुन थालेको छ । 

त्यसैले बुधबारयता बालेनले गरेका भेटघाटले थप राजनीतिक तरंग पैदा गरेको हो । बालेनले बिहीबार उज्यालो पार्टी अवधारणाकार तथा ऊर्जामन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छन् ।

‘सँगै मिलेर सहकार्य गरेर जानुपर्छ भन्ने विषयमा सकारात्मक कुरा भएको छ,’ उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. अभिषेक सिंह लोकान्तरसँग भने । 

बिहीबार नै बालेनले कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्मासँग पनि भेट गरेका छन् । त्यसलगत्तै रास्वपा सभापति रवि लामिछानेसँग उनको भेटवार्ता भएको छ । यी सबै भेटघाट बालेनका विश्वासपात्र कुमार बेन (कुमार व्यञ्जनकार)को ललितपुर ज्वागलस्थित घरमा भइरहेको छ । कुमारको घर अहिले बालेनको भेटघाट सेल्टर बनेको छ । 

यी सबै भेटहरूले बालेनले राजनीतिक दल बनाएर संसदीय निर्वाचन लड्ने सेतुको रूपमा हेरिएको छ । बालेन आफैंले पनि सहकार्य भन्दै हिँड्नुले पनि बालेनले पार्टी चलाउन चाहेको बुझ्न सकिन्छ । बालेनले २०७९ को निर्वाचन लौरो चिह्नमा लडेका थिए । अहिले यही चुनाव चिह्न लिएर देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ । 

बालेनसँग बुधबार भेटेका राप्रपा नेता ज्ञानेन्द्र शाहीका अनुसार भेटमा बालेनले युवा शक्ति मिलेर जानुपर्छ भन्ने प्रस्ताव राखेका छन् । 

‘भरिसक अहिले मिलेर युवाहरू जाउँ, नभए नयाँ शक्ति निर्माण गरौं भन्ने उहाँको कुरा थियो,’ शाहीले लोकान्तरसँग भने ।

जानकार स्रोतका अनुसार बालेनले यसबीचमा मिलन पाण्डे, सागर ढकाल, रक्षा बमलगायतसँग पनि संवाद गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्