
राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।
राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए ।
उक्त तालिममा कोशी प्रदेशका आठ, मधेश प्रदेशका सात र बागमती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छात्रा दीक्षित भएका छन् ।
समापन कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले तालिमबाट भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुग्ने बताए ।
दीक्षान्त समारोहमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणा, विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति थियो ।