
एकदैनि नेपाली कांग्रेसका दुई महामन्त्रीले संसदीय निर्वाचन नलड्ने तहबाट अभिव्यक्ति दिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संसदीय निर्वाचन नै नलड्ने तहबाट अभिव्यक्ति दिएका हुन्।
महामन्त्री गगनकुमार थापाले समेत निर्वाचन लड्दिनँ भन्दै अभिव्यक्ति दिएको बैठकमा सहभागी एक पदाधिकारीले पुष्टि गरे। थापाले कार्यतालिका अनुसार पुसमा महाधिवेशन हुनुपर्ने भन्दै यदि त्यसो नभई पार्टी निर्वाचनमा जाने भए आफू चुनाव नलड्ने बताएका हुन्।
बैठकबारे जानकारी दिँदै ती पदाधिकारीले भने,'पहिले विश्वजीले चुनाव लड्दिनँ भन्नुभयो। त्यसपश्चात् बोल्दै गगन थापा पनि चुनाव नलड्ने पक्षमा उभिनुभयो।'
महामन्त्री थापाको अभिव्यक्तिलाई उधृत गर्दै ती पदाधिकारीले दिएको जानकारी अनुसार महामन्त्री थापाको प्रस्तुति हिजोभन्दा आज फरक देखिएको थियो। थापाले बोल्ने क्रममा महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको भन्दै विषयलाई अघि बढाएको ती पदाधिकारीले बताए।
बुधबारमात्र २-४ वटा जिल्लाको अधिवेशन रोकिए पनि केन्द्रीय महाधिवेशन गरिछाड्ने अभिव्यक्ति दिँदै तीन तहको अधिवेशन गर्न सकिने विकल्प प्रस्तुत गरेका गगनले आज भने फरक ढङ्गबाट प्रस्तुत भएको पदाधिकारी भने नरहेका तर, कार्यसमिति सदस्य भने रहेका नेताले लोकान्तरलाई बताए।
'निर्वाचन पूर्व अधिवेशन गर्नै पर्ने जोडमा रहनुभएको र नियमित नभए विशेष भएपनि अधिवेशन गर्नुपर्छ भन्ने उहाँको लाइन थियो,' ती नेताले भने, 'आज त उहाँले निर्वाचन पूर्व अधिवेशन गर्ने र नेतृत्व परिवर्तन गरेर चुनाव नगए म निर्वाचन लड्दिनँ भन्नुभयो। हामी छक्क पर्यौँ।'
अर्का एक नेताले पनि महामन्त्री थापाले घुर्काएको हो कि साँच्चै भनेको भन्नेमा आफू कन्फूजनमा रहेको बताए। महामन्त्री तहबाट यति हलुका अभिव्यक्ति आउनु अचम्मको विषय भएको भन्दै ती नेताले भने-'हाम्रा महामन्त्रीहरूले आफू कुन पदमा बसेर के बोलिरहेको छु भन्ने पनि पत्तो नपाएजस्तो लाग्न थालेको छ।'
महामन्त्री थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दै आएका छन् । पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा दोस्रो संविधान सभामा काठमाडौँ ४ बाट विजयी भएका थिए। २०७४ मा वाम गठबन्धन हुँदा पनि सानदार जितका साथ काठमाडौँ ४ बाटै चुनाव लडेका उनले २०७९ को निर्वाचन पनि उनले यहीँबाट जितेका हुन् । थापाले चार कार्यकाल संसदीय राजनीतिमा अनवरत उपस्थिति जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनमा पनि उनी यहाँ लगायत देशका विभिन्न क्षेत्रबाट एकल तथा सामूहिक सिफारिसमा परेका नेता हुन्।
आजकै बैठकमा थापा अघि बोलेका बोलेका विश्वप्रकाश शर्माले पनि निर्वाचन लड्दिनँ भन्ने अभिव्यक्ति नभई घोषणा नै गरेका थिए। उनको सचिवालयले लोकान्तरलाई पठाएको लिखित वक्तव्यमा महामन्त्री शर्माले एक वर्ष अघि अर्थात् ०८१ पुस २१ गते मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै `आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन´ भनेर घोषणा गरेको उल्लेख छ।
शर्माले आफ्नो `पावर´ ले भ्याएसम्म उम्मेदवार बन्ने र जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने प्रवृत्तिको अन्त्य गर्नका लागि आफू उम्मेदवार नबन्ने उल्लेख गरेका छन् ।
'बाँचुन्जेल- क्षेत्र `कब्जा´ को सोच राख्ने, सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने, हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ । अत: लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,' शर्माले बैठकमा भनेका थिए, 'गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु । मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ , बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ ।'
बैठकमा सहभागी अर्का एक पदाधिकारी संकट र असामान्य अवस्थामा महामन्त्रीद्वयले लिएको कदम र दिएको अभिव्यक्ति पार्टी हितको प्रतिकूल भएको उल्लेख गरे।
अनि जंगिए महत
बिहीबारको बैठकमा महामन्त्री गगनकुमार थापाले बोलेपश्चात् पार्टी प्रवक्ता प्रकाश शरण महत आक्रोशित भएका थिए। थापाले पार्टी प्रवक्ताले मिडियामा गएर महामन्त्रीको कारण महाधिवेशन हुन सकेन भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएपश्चात् महत बोलेका थिए।
सो क्रममा महतले महामन्त्रीहरूको अभिव्यक्तिले कांग्रेस कमजोर भएको समेत धारणा राखेका थिए।
'एमालेले डे वान देखि आफ्नो पोजिसन गुमाएको छैन र बलियो छ,' महतले भनेको उधृत गर्दै संस्थापन पक्षीय नेताले भने, 'तर महामन्त्रीहरूले डे वानबाटै दिएको अभिव्यक्तिले कांग्रेस कमजोर देखिएको हो । नेतृत्व परिवर्तन गरेर मात्र पार्टी बलियो हुँदैन। एकतावद्ध हुन सके मात्र पार्टी बलियो हुन्छ।'
बुधबारदेखि सुरु बैठक अझै सकिएको छैन । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने छ।