१० साउन २०८३, आइतबार
क्रिकेटरको सन्न्यास

सफलताको शिखरमा पुगेका यी क्रिकेटर, यसै वर्ष लिए अन्तर्राष्ट्रिय खेलबाट विश्राम

पुस ११, २०८२
काठमाडौं
सफलताको शिखरमा पुगेका यी क्रिकेटर, यसै वर्ष लिए अन्तर्राष्ट्रिय खेलबाट विश्राम

सन् २०२५ हामीबाट बिदा हुने तयारीमा छ । यो वर्ष विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । विभिन्न खेलमा नयाँ च्याम्पियनको उदय भएको छ । कतिपय खेलमा अघिल्लो वर्षका विजेताले नै यस वर्ष पनि आफ्नो दबदबा कायम राखेका छन् ।

यो अवधिमा विश्व खेलकुदले केही कीर्तिमानी खेलाडी पनि पाएको छ । केही खेलाडी प्रतिबन्धित औषधि सेवनका कारण प्रतिबन्धमा परेका छन् । केही खेलाडी भने वैवाहिक जीवनमा बाँधिएका छन् भने केही खेलाडीको सम्बन्ध विच्छेद पनि भएको छ ।

तर, यहाँ चर्चा गर्न लागिएको विषय भने सन् २०२५ मा सक्रिय खेल जीवनबाट बिदा लिएका क्रिकेट खेलाडीको हो । पक्कै पनि आफ्नो जीवनको ऊर्जाशील समय कुनै खेलमा खर्चिएर त्यो खेलबाट टाढिने निर्णय लिनु खेलाडीका लागि निकै कष्टकर क्षण हुन्छ । यस्तै केही क्रिकेट खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।

विराट कोहली

सन् २०२४ मै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका चर्चित भारतीय खेलाडी विराट कोहलीले सन् २०२५ मा विश्व क्रिकेटको सबैभन्दा लामो ढाँचा टेस्टबाट पनि सन्न्‍यास लिए ।

३७ वर्षीय विराटले जसरी अप्रत्यासित रुपमा टी–२० अन्तर्राष्ट्रियबाट सन्न्‍यास लिएका थिए ठीक त्यसैगरी उनले टेस्टबाट बिदा लिएर धेरै समर्थकलाई स्तब्ध बनाए ।

विश्व क्रिकेटका थुप्रै कीर्तिमान आफ्नो नामसँग जोडेका विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्‍यास लिने चर्चा चलेको थियो ।

तर, वर्षको अन्त्यतिर आइपुग्दा एकदिवसीयबाट भने उनले सन्न्‍यास नलिने समाचार बाहिरियो । विराटले टेस्ट क्रिकेटमा एक सय २३ खेल खेल्दै कुल नौ हजार दुई सय ३० रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले ३० शतक र ३१ अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने अविजित दुई सय ५४ रन हो ।

null

रोहित शर्मा

विराट कोहलीले जस्तै अर्का प्रभावशाली खेलाडी रोहित शर्मा पनि अघिल्लो वर्ष नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएका थिए ।

सन् २०२५ मा रोहितले अप्रत्यासित रुपमा टेस्ट क्रिकेटबाट पनि सन्न्‍यास लिएर धेरै समर्थकको मन दु:खाए । अब उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र देखा पर्नेछन् ।

‘हिट म्यान’ को उप–नामले चर्चित ३८ वर्षीय रोहितले देशका लागि ६७ टेस्ट खेल्दै कुल चार हजार तीन सय एक रन बनाएका छन् ।

रोहितले टेस्ट क्रिकेटमा १२ शतक र १८ वटा अर्धशतक प्रहार गरेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर दुई सय १२ रन हो ।

null

मार्टिन गप्टिल

न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिलले पनि सन् २०२५ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले सन् २०२५ को प्रारम्भसँगै सन्न्‍यासको घोषणा गरेका थिए ।

३९ वर्षीय गप्टिलले ४७ टेस्टमा कुल दुई हजार पाँच सय ८६ रन बनाएका छन् । टेस्टमा उनले तीन शतक र १७ अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ८९ रन हो ।

यसैगरी, उनले एक सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल सात हजार तीन सय ४६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १८ शतक र ३९ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय ३७ रन हो ।

यसैगरी, उनले एक सय २२ टी–२० अन्तर्राष्ट्रियमा कुल तीन हजार पाँच सय ३१ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र २० अर्धशतक प्रहार गरेका छन् भने उनको उच्च स्कोर एक सय पाँच रन हो ।

गप्टिल न्युजिल्यान्डका लागि पाँचौं सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने एकमात्र किविज ब्याट्सम्यान पनि हुन् ।

नेपाल प्रिमियर लिगसमेत खेलिसकेका गप्टिलले सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा वेस्ट इन्डिजविरुद्ध अविजित दुई सय ३७ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा आठ, एकदिवसीय अन्तर्राष्ट्रियमा चार विकेट पनि लिएका छन् ।

null

चेतेश्वर पुजारा

प्रभावशाली भारतीय खेलाडी चेतेश्वर पुजाराले पनि सन् २०२५ को अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनी खासगरी टेस्ट क्रिकेटका भरपर्दा खेलाडी थिए ।

पुजाराले टेस्ट क्रिकेटमा संयमित पाली खेल्दै भारतलाई थुप्रै खेल जिताएका छन् भने पराजयको सँघारमा रहँदा केही खेललाई बराबरीमा टुङ्ग्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

३७ वर्षीय पुजाराले भारतका लागि एक सय तीन टेस्टमा कुल सात हजार एक सय ९५ रन बनाएका छन् । यसक्रममा उनले १९ शतक र ३५ अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय ६ रन हो ।

पुजाराले भारतका लागि केवल पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसमा उनले कुल ५१ रन बनाए । उनले देशका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेनन् ।

दिमुथ करुणारत्ने

श्रीलंकाका चर्चित क्रिकेटर दिमुथ करुणारत्नेले पनि सन् २०२५ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास लिएको घोषणा गरे ।

३७ वर्षीय प्रभावशाली ब्याट्सम्यान करुणारत्ने श्रीलंकाली टोलीबाट एक सय टेस्ट खेल्ने सातौं खेलाडी हुन् । उनले टेस्ट क्रिकेटमा कुल सात हजार दुई सय २२ रन बनाएका छन् ।

पूर्वकप्तान करुणारत्ने श्रीलंकाका लागि टेस्ट क्रिकेटमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले टेस्ट क्रिकेटमा उनले १६ शतक र ३९ अर्धशतक पनि प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ४४ रन हो । उनले देशका लागि ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार तीन सय १६ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक र ११ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने एक सय तीन रन हो ।

null

करुणारत्नेले सन् २०२५ को फेब्रुअरीमा गालेमा अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेल्दै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेनन् । उनले टेस्ट क्रिकेटमा दुई विकेट पनि लिएका छन् ।​

ऋद्धिमान साहा

भारतका चर्चित विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहले पनि सन् २०२५ को फेब्रुअरी १ तारिखमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास लिएको घोषणा गरे ।

४१ वर्षीय ऋद्धिमान साहाले भारतका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्ने अवसर पाएनन् ।

ऋद्धिमान साहाले ४० टेस्टको ५६ पालीमा कुल एक हजार तीन सय ५३ रन बनाएका छन् । उनले टेस्टमा तीन शतक र ६ अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर एक सय १७ रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले नौ खेल खेल्दै कुल ४१ रन बनाएका छन् । विकेटकिपरको भूमिकामा उनले टेस्टमा १२ र एकदिवसीय अन्तर्राष्ट्रियमा एक स्टम्पिङ पनि गरेका छन् ।

यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा ९२ र एकदिवसीय अन्तर्राष्ट्रियमा १७ वटा क्याच पनि लिएका छन् । उनी फ्रेन्चाइज प्रतियोगितामा भने अझै पनि सक्रिय छन् ।

तामिम इक्बाल

बंगलादेशका चर्चित ब्याट्सम्यान तामिम इक्बालले सन् २०२५ को जनवरी १० तारिखमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास लिएको घोषणा गरे ।

३६ वर्षीय तामिम इक्बालले दोस्रोबाट सक्रिय खेल जीवनबाट सन्न्‍यास लिएका हुन् । त्यसअघि पनि उनले सन्न्‍यास लिएका थिए ।

तर, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनी सन्न्‍यास फिर्ता लिएर पुन: अन्तर्राष्ट्रिय खेल जीवनमा फर्किएका थिए ।

तामिम इक्बाल बंगलादेशका लागि दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि कुल १५ हजार दुई सय ४९ अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

उनले ७० टेस्टमा कुल पाँच हजार एक सय ३४ रन बनाएका छन् । यसक्रममा उनले १० शतक र ३१ अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ६ रन हो ।

तामिम इक्बालले दुई सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल आठ हजार तीन सय ५७ रन बनाएका छन् । यसक्रममा उनले १४ शतक र ५६ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ५८ रन हो ।

यसैगरी, उनले देशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार सात सय ५८ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र सात अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय तीन रन हो ।

सन् २००७ को एकदिवसीय विश्वकपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण भारतीय टोली समूहगत चरणबाटै बाहिरिन बाध्य भएको थियो । त्यो विश्वकपमा बंगलादेशले भारतलाई पाँच विकेटले हराएको थियो । भारतलाई पछि पार्दै बंगलादेश ‘सुपर–८’ चरणमा पुगेको थियो ।

निकोलस पुरन

वेस्ट इन्डिजका चर्चित खेलाडी निकोलस पुरनले पनि सन् २०२५ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिँदै धेरैलाई आश्चर्यमा पारे ।

प्रभावशाली खेलाडी निकोलस पुरनले केवल २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको २४ घण्टाभित्रै उनी फ्रेन्चाइज प्रतियोगिता खेल्न मेजर लिग क्रिकेट क्लब मुम्बई इन्डियन्स न्यूयोर्कको कप्तानमा नियुक्त भएका थिए ।

निकोलस पुरनले वेस्ट इन्डिजका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ६१ एकदिवसीय अन्तर्राष्ट्रियमा ९९.१५ को स्ट्राइक रेटले एक हजार नौ सय ८३ रन बनाएका छन् । यसक्रममा उनले तीन शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय १८ रन हो । उनले देशका लागि एक सय ६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै १३६.३९ को स्ट्राइक रेटमा कुल दुई हजार दुई सय ७५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १३ वटा अर्धशतक प्रहार गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ९८ रन हो । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ वटा विकेट पनि लिएका छन् । उनले देशका लागि टेस्ट क्रिकेट भने खेलेनन् ।

null

हेनरिक क्लासेन

दक्षिण अफ्रिकाका चर्चित विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले पनि सन् २०२५ को जुनमा अप्रत्यासित रुपमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएर विश्वभरका थुप्रै क्रिकेटप्रेमीलाई चकित बनाए ।

३४ वर्षीय क्लासेनले टेस्ट क्रिकेटबाट भने सन् २०२४ को जनवरीमै सन्न्‍यास लिइसकेका थिए । सन् २०२५ मा उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्‍यासको घोषणा गरेका हुन् ।

क्लासेनले दक्षिण अफ्रिकाका लागि चार टेस्टमा कुल एक सय चार रन बनाएका छन् । उनले ६० एकदिवसीय अन्तर्राष्ट्रियमा कुल दुई हजार एक सय ४१ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ७४ रन हो । उनले ५८ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार रन बनाएका छन् । यसक्रममा उनले पाँच अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने ८१ रन हो ।

यसका अतिरिक्त, क्लासेनले टेस्ट क्रिकेटमा दुई स्टम्पिङ र १० क्याच, एकदिवसीय अन्तर्राष्ट्रियमा सात स्टम्पिङ र ५१ क्याच तथा टी–२० अन्तर्राष्ट्रियमा पाँच स्टम्पिङ र ३३ क्याच लिएका छन् ।

मोहम्मद महमुदुल्लाह

बंगलादेशका प्रभावशाली ब्याट्सम्यान मोहम्मद महमुदुल्लाहले पनि सन् २०२५ मा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले टेस्टबाट सन् २०२१ र टी–२० अन्तर्राष्ट्रियबाट सन् २०२४ मा सन्न्‍यास लिएका थिए ।

३९ वर्षीय महमुदुल्लाहले सन् २०२५ मा एकदिवसीय अन्तर्राष्ट्रियबाट पनि सन्न्‍यासको घोषणा गरे । उनी बंगलादेशका लागि चार सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

महमुदुल्लाहले ५० टेस्टमा कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । यसक्रममा उनले पाँच शतक र १६ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय ५० रन हो ।

यसैगरी, उनले दुई सय ३९ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार ६ सय ८९ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय २८ रन हो ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियमा एक सय ४१ खेल खेल्दै कुल दुई हजार चार सय ४४ रन बनाएका छन् । यसक्रममा उनले आठ अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।

प्रभावशाली अलराउन्डर महमुदुल्लाहले बलिङतर्फ पनि टेस्टमा ४३, एकदिवसीय अन्तर्राष्ट्रियमा ८२ र टी–२० अन्तर्राष्ट्रियमा ४१ विकेट लिएका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि ११ हजारभन्दा बढी रन र एक सय ५० भन्दा बढी विकेट लिने खेलाडी हुन् ।

स्टिभ स्मिथ

अस्ट्रेलियाका चर्चित क्रिकेटर स्टिभ स्मिथले पनि सन् २०२५ को मार्चमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे ।

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियन टोली भारतसँग हारेलगत्तै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएका हुन् ।

३६ वर्षीय स्मिथ टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने अझै सक्रिय छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ७० खेल खेल्दै कुल पाँच हजार आठ सय रन बनाएका छन् ।

यसक्रममा उनले १२ शतक र ३५ अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ६४ रन हो ।

यो ढाँचाको क्रिकेटमा उनले २८ विकेट पनि लिएका छन् । उनले अस्ट्रेलियाका लागि हालसम्म १७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् ।

ग्लेन म्याक्सवेल

अस्ट्रेलियाका चर्चित ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले पनि सन् २०२५ को जुनमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिँदै धेरै समर्थकलाई आश्चर्यमा पारे ।

३७ वर्षीय म्याक्सवेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने अझै सक्रिय छन् । उनले टेस्ट क्रिकेटबाट पनि आधिकारिक रुपमा सन्न्‍यास लिएका छैनन् । तर, अब उनले टेस्ट खेल्ने सम्भावना निकै कम छ ।

म्याक्सवेलले अस्ट्रेलियाका लागि एक सय ४९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल तीन हजार नौ सय ९० रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक पनि बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले चार शतक र २३ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय एक रन हो ।

null

यी प्रभावशाली अलराउन्डरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४० रन खर्चिएर चार विकेट हो ।

उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध खेलेको पाली सायदै कुनै क्रिकेटप्रेमीले भुल्न सक्ला । त्यही खेलमा उनले अविजित दुई सय एक रन बनाउँदै अस्ट्रेलियालाई अविश्वासिलो जित दिलाएका थिए ।

त्यही विश्वकपमा उनले नेदरल्यान्ड्सविरुद्ध केवल ४० बलमा शतक बनाएका थिए । यो एकदिवसीय विश्वकपमा कुनै पनि खेलाडीले सबैभन्दा कम बलमा बनाएको शतक हो ।

त्यसअघि सन् २०१५ को एकदिवसीय विश्वकपमा उनले नै श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए । सन् २०१५ र सन् २०२३ को विश्वकपको उपाधि अस्ट्रेलियाले नै जितेको थियो ।

मार्कस स्टोइनिस

अस्ट्रेलियाका अर्का प्रभावशाली ब्याटिङ अलराउन्डर मार्कस स्टोइनिसले पनि सन् २०२५ को फेब्रुअरीमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिए । उनले च्याम्पियन्स ट्रफीभन्दा ठीकअघि सन्न्‍यासको घोषणा गरेका थिए ।

३६ वर्षीय स्टोइनिसले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्न एकदिवसीयबाट सन्न्‍यास लिएको बताएका थिए । उनले अस्ट्रेलियाका लागि ७१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार चार सय ९५ रन बनाएका छन् ।

यसक्रममा उनले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४६ रन हो । उनले यो ढाँचाको क्रिकेटमा ४८ विकेट पनि हात पारेका छन् । बलिङमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर तीन विकेट हो ।

मुशफिकुर रहिम

बंगलादेशका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान मुशफिकुर रहिमले सन् २०२५ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । ३८ वर्षीय मुशफिकुर रहिम बंगलादेशका लागि १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् ।

मुशफिकुर रहिमले देशका लागि दुई सय ७४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल सात हजार सात सय ९५ रन बनाएका छन् । यसक्रममा उनले नौ शतक र ४९ अर्धशतक पनि बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ४४ रन हो ।

यसका अतिरिक्त, उनले एक सय टेस्टमा कुल ६ हजार पाँच सय १० र एक सय दुई टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार पाँच सय रन बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा विकेटकिपरको भूमिकामा ५६ स्टम्पिङ र दुई सय ४३ क्याच पनि लिएका छन् ।

एन्जेलो म्याथ्यूज

श्रीलंकाका चर्चित अलराउन्डर एन्जेलो म्याथ्यूजले पनि सन् २०२५ मै टेस्ट क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । ३८ वर्षीय ब्याटिङ अलराउन्डर एन्जेलो म्याथ्यूज श्रीलंकाका लागि १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् ।

एन्जेलो म्याथ्यूजले श्रीलंकाका लागि एक सय १९ टेस्ट खेल्दै कुल आठ हजार दुई सय १४ रन बनाएका छन् । यसक्रममा उनले १६ शतक र ४५ अर्धशतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा दोहोरो शतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित दुई सय रन हो ।

एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटमा ३३ विकेट पनि लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४४ रन खर्चिएर चार विकेट हो । उनले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच हजार नौ सय १६ र टी–२० अन्तर्राष्ट्रियमा एक हजार चार सय १६ रन बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सयभन्दा बढी विकेट लिएका छन् ।

null

आसिफ अली

चर्चित पाकिस्तानी क्रिकेटर आसिफ अलीले पनि सन् २०२५ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यासको घोषणा गरे । ३४ वर्षीय आसिफ अली पाकिस्तानी टोलीमा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान थिए ।

आसिफ अलीले पाकिस्तानका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले २१ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल तीन सय ८२ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले तीनवटा अर्धशतक बनाएका छन् ।

यसैगरी, उनले ५८ टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ७७ रन बनाएका छन् । उनले पाकिस्तानी टोलीबाट टेस्ट क्रिकेट भने खेलेनन् ।

मिचेल स्टार्क

अस्ट्रेलियाका चर्चित खेलाडी मिचेल स्टार्कले पनि सन् २०२५ को सेप्टेम्बरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले टेस्ट क्रिकेट र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्न टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको बताए ।

३५ वर्षीय मिचेल स्टार्कले देशका लागि ६५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनी अस्ट्रेलियालाई टी–२० विश्वकपको उपाधि चुमाउने टोलीका सदस्य पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७९ विकेट लिएका छन् ।

इशान्त शर्मा

चर्चित भारतीय क्रिकेटर इशान्त शर्माले पनि सन् २०२५ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिने निर्णय गरे । उनले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

३७ वर्षीय प्रभावशाली बलर इशान्त शर्माले भारतीय टोलीका लागि १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल आठ विकेट लिएका छन् ।

अग्ला कदका मध्यम तेज गतिका बलर इशान्तले टेस्ट क्रिकेटमा भने एक सय पाँच खेल खेल्दै कुल तीन सय ११ विकेट लिएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनको उत्कृष्ट प्रदर्शन ७४ रन दिएर सात विकेट हो ।

यसैगरी, उनले ८० एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक सय १५ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३४ रन खर्चिएर चार विकेट हो ।

अमित मिश्रा

अर्का भारतीय क्रिकेटर अमित मिश्राले पनि सन् २०२५ को सेप्टेम्बरमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे ।

४३ वर्षीय लेग–स्पिनर अमितले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले २२ टेस्टमा ७६ विकेट लिएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनले ७१ रन खर्चिएर पाँच विकेट लिएका छन् ।

यसैगरी, उनले ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा ६४ विकेट कुम्ल्याएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर ६ विकेट हो ।

उनले १० वटा टी–२० अन्तर्राष्ट्रियमा कुल १६ विकेट लिएका छन् । यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा चारवटा अर्धशतक पनि बनाएका छन् ।

पियुष चावला

चर्चित भारतीय क्रिकेटर पियुष चावलाले पनि सन् २०२५ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले पनि भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

३७ वर्षीय स्पिन बलर पियुषले तीन टेस्टमा सात विकेट लिएका छन् । उनले २५ एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ विकेट र सात टी–२० अन्तर्राष्ट्रियमा चार विकेट लिएका छन् ।

मोहित शर्मा

भारतका अर्का मध्यम तेज गतिका बलर मोहित शर्माले पनि सन् २०२५ को डिसेम्बरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले भारतका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

३७ वर्षीय मोहित शर्माले २६ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ३१ विकेट लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा भने केवल आठ खेल खेल्दै ६ विकेट लिएका छन् ।

वरुण अरुण

तीब्र गतिका भारतीय बलर वरुण अरुणले पनि सन् २०२५ को जनवरीमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले भारतका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

३६ वर्षीय दायाँहाते बलर वरुणले भारतका लागि नौवटा टेस्ट खेल्दै १८ वटा विकेट लिएका छन् । उनले नौवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ विकेट हात पारेका छन् । हाल उनी क्रिकेट कमेन्ट्रीमा सक्रिय छन् ।

ऋषि धवन

भारतका लागि निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अलराउन्डर ऋषि धवनले पनि सन् २०२५ को जनवरीमा सक्रिय खेल जीवनबाट सन्न्‍यास लिएको घोषणा गरे । उनले भारतका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

३५ वर्षीय ऋषि धवनले देशका लागि केवल तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एक विकेट लिएका छन् । उनले एउटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक विकेट हात पारेका छन् ।

null

शरद भेषावकर

अन्त्यमा, नेपालका प्रभावशाली क्रिकेट खेलाडी शरद भेषावकरले पनि सन् २०२५ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएको घोषणा गरे । ३७ वर्षीय ब्याटिङ अलराउन्डर शरदले हङकङमा सम्पन्न सुपर सिक्सेस प्रतियोगितालगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएका हुन् ।

शरदले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले चार एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ६६ रन बनाए । उनले यो ढाँचाको क्रिकेटमा एउटा अर्धशतक (५५ रन) बनाए ।

यसैगरी, उनले नेपालका लागि २० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल तीन सय २५ रन बनाए । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर ४० रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दुई विकेट पनि लिए ।

salt training

कमेन्ट गर्नुहोस्