
सन् २०२५ हामीबाट बिदा हुने तयारीमा छ । यो वर्ष विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । विभिन्न खेलमा नयाँ च्याम्पियनको उदय भएको छ । कतिपय खेलमा अघिल्लो वर्षका विजेताले नै यस वर्ष पनि आफ्नो दबदबा कायम राखेका छन् ।
यो अवधिमा विश्व खेलकुदले केही कीर्तिमानी खेलाडी पनि पाएको छ । केही खेलाडी प्रतिबन्धित औषधि सेवनका कारण प्रतिबन्धमा परेका छन् । केही खेलाडी भने वैवाहिक जीवनमा बाँधिएका छन् भने केही खेलाडीको सम्बन्ध विच्छेद पनि भएको छ ।
तर, यहाँ चर्चा गर्न लागिएको विषय भने सन् २०२५ मा सक्रिय खेल जीवनबाट बिदा लिएका क्रिकेट खेलाडीको हो । पक्कै पनि आफ्नो जीवनको ऊर्जाशील समय कुनै खेलमा खर्चिएर त्यो खेलबाट टाढिने निर्णय लिनु खेलाडीका लागि निकै कष्टकर क्षण हुन्छ । यस्तै केही क्रिकेट खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।
विराट कोहली
सन् २०२४ मै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका चर्चित भारतीय खेलाडी विराट कोहलीले सन् २०२५ मा विश्व क्रिकेटको सबैभन्दा लामो ढाँचा टेस्टबाट पनि सन्न्यास लिए ।
३७ वर्षीय विराटले जसरी अप्रत्यासित रुपमा टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएका थिए ठीक त्यसैगरी उनले टेस्टबाट बिदा लिएर धेरै समर्थकलाई स्तब्ध बनाए ।
विश्व क्रिकेटका थुप्रै कीर्तिमान आफ्नो नामसँग जोडेका विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने चर्चा चलेको थियो ।
तर, वर्षको अन्त्यतिर आइपुग्दा एकदिवसीयबाट भने उनले सन्न्यास नलिने समाचार बाहिरियो । विराटले टेस्ट क्रिकेटमा एक सय २३ खेल खेल्दै कुल नौ हजार दुई सय ३० रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले ३० शतक र ३१ अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने अविजित दुई सय ५४ रन हो ।

रोहित शर्मा
विराट कोहलीले जस्तै अर्का प्रभावशाली खेलाडी रोहित शर्मा पनि अघिल्लो वर्ष नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
सन् २०२५ मा रोहितले अप्रत्यासित रुपमा टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिएर धेरै समर्थकको मन दु:खाए । अब उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र देखा पर्नेछन् ।
‘हिट म्यान’ को उप–नामले चर्चित ३८ वर्षीय रोहितले देशका लागि ६७ टेस्ट खेल्दै कुल चार हजार तीन सय एक रन बनाएका छन् ।
रोहितले टेस्ट क्रिकेटमा १२ शतक र १८ वटा अर्धशतक प्रहार गरेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर दुई सय १२ रन हो ।

मार्टिन गप्टिल
न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिलले पनि सन् २०२५ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनले सन् २०२५ को प्रारम्भसँगै सन्न्यासको घोषणा गरेका थिए ।
३९ वर्षीय गप्टिलले ४७ टेस्टमा कुल दुई हजार पाँच सय ८६ रन बनाएका छन् । टेस्टमा उनले तीन शतक र १७ अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ८९ रन हो ।
यसैगरी, उनले एक सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल सात हजार तीन सय ४६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १८ शतक र ३९ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय ३७ रन हो ।
यसैगरी, उनले एक सय २२ टी–२० अन्तर्राष्ट्रियमा कुल तीन हजार पाँच सय ३१ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र २० अर्धशतक प्रहार गरेका छन् भने उनको उच्च स्कोर एक सय पाँच रन हो ।
गप्टिल न्युजिल्यान्डका लागि पाँचौं सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने एकमात्र किविज ब्याट्सम्यान पनि हुन् ।
नेपाल प्रिमियर लिगसमेत खेलिसकेका गप्टिलले सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा वेस्ट इन्डिजविरुद्ध अविजित दुई सय ३७ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा आठ, एकदिवसीय अन्तर्राष्ट्रियमा चार विकेट पनि लिएका छन् ।

चेतेश्वर पुजारा
प्रभावशाली भारतीय खेलाडी चेतेश्वर पुजाराले पनि सन् २०२५ को अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनी खासगरी टेस्ट क्रिकेटका भरपर्दा खेलाडी थिए ।
पुजाराले टेस्ट क्रिकेटमा संयमित पाली खेल्दै भारतलाई थुप्रै खेल जिताएका छन् भने पराजयको सँघारमा रहँदा केही खेललाई बराबरीमा टुङ्ग्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
३७ वर्षीय पुजाराले भारतका लागि एक सय तीन टेस्टमा कुल सात हजार एक सय ९५ रन बनाएका छन् । यसक्रममा उनले १९ शतक र ३५ अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय ६ रन हो ।
पुजाराले भारतका लागि केवल पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसमा उनले कुल ५१ रन बनाए । उनले देशका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेनन् ।
दिमुथ करुणारत्ने
श्रीलंकाका चर्चित क्रिकेटर दिमुथ करुणारत्नेले पनि सन् २०२५ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे ।
३७ वर्षीय प्रभावशाली ब्याट्सम्यान करुणारत्ने श्रीलंकाली टोलीबाट एक सय टेस्ट खेल्ने सातौं खेलाडी हुन् । उनले टेस्ट क्रिकेटमा कुल सात हजार दुई सय २२ रन बनाएका छन् ।
पूर्वकप्तान करुणारत्ने श्रीलंकाका लागि टेस्ट क्रिकेटमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले टेस्ट क्रिकेटमा उनले १६ शतक र ३९ अर्धशतक पनि प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ४४ रन हो । उनले देशका लागि ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार तीन सय १६ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक र ११ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने एक सय तीन रन हो ।

करुणारत्नेले सन् २०२५ को फेब्रुअरीमा गालेमा अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेल्दै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेनन् । उनले टेस्ट क्रिकेटमा दुई विकेट पनि लिएका छन् ।
ऋद्धिमान साहा
भारतका चर्चित विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहले पनि सन् २०२५ को फेब्रुअरी १ तारिखमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे ।
४१ वर्षीय ऋद्धिमान साहाले भारतका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्ने अवसर पाएनन् ।
ऋद्धिमान साहाले ४० टेस्टको ५६ पालीमा कुल एक हजार तीन सय ५३ रन बनाएका छन् । उनले टेस्टमा तीन शतक र ६ अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर एक सय १७ रन हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले नौ खेल खेल्दै कुल ४१ रन बनाएका छन् । विकेटकिपरको भूमिकामा उनले टेस्टमा १२ र एकदिवसीय अन्तर्राष्ट्रियमा एक स्टम्पिङ पनि गरेका छन् ।
यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा ९२ र एकदिवसीय अन्तर्राष्ट्रियमा १७ वटा क्याच पनि लिएका छन् । उनी फ्रेन्चाइज प्रतियोगितामा भने अझै पनि सक्रिय छन् ।
तामिम इक्बाल
बंगलादेशका चर्चित ब्याट्सम्यान तामिम इक्बालले सन् २०२५ को जनवरी १० तारिखमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे ।
३६ वर्षीय तामिम इक्बालले दोस्रोबाट सक्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन् । त्यसअघि पनि उनले सन्न्यास लिएका थिए ।
तर, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनी सन्न्यास फिर्ता लिएर पुन: अन्तर्राष्ट्रिय खेल जीवनमा फर्किएका थिए ।
तामिम इक्बाल बंगलादेशका लागि दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि कुल १५ हजार दुई सय ४९ अन्तर्राष्ट्रिय रन बनाएका छन् ।
उनले ७० टेस्टमा कुल पाँच हजार एक सय ३४ रन बनाएका छन् । यसक्रममा उनले १० शतक र ३१ अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ६ रन हो ।
तामिम इक्बालले दुई सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल आठ हजार तीन सय ५७ रन बनाएका छन् । यसक्रममा उनले १४ शतक र ५६ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ५८ रन हो ।
यसैगरी, उनले देशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार सात सय ५८ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र सात अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय तीन रन हो ।
सन् २००७ को एकदिवसीय विश्वकपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण भारतीय टोली समूहगत चरणबाटै बाहिरिन बाध्य भएको थियो । त्यो विश्वकपमा बंगलादेशले भारतलाई पाँच विकेटले हराएको थियो । भारतलाई पछि पार्दै बंगलादेश ‘सुपर–८’ चरणमा पुगेको थियो ।
निकोलस पुरन
वेस्ट इन्डिजका चर्चित खेलाडी निकोलस पुरनले पनि सन् २०२५ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै धेरैलाई आश्चर्यमा पारे ।
प्रभावशाली खेलाडी निकोलस पुरनले केवल २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको २४ घण्टाभित्रै उनी फ्रेन्चाइज प्रतियोगिता खेल्न मेजर लिग क्रिकेट क्लब मुम्बई इन्डियन्स न्यूयोर्कको कप्तानमा नियुक्त भएका थिए ।
निकोलस पुरनले वेस्ट इन्डिजका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ६१ एकदिवसीय अन्तर्राष्ट्रियमा ९९.१५ को स्ट्राइक रेटले एक हजार नौ सय ८३ रन बनाएका छन् । यसक्रममा उनले तीन शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय १८ रन हो । उनले देशका लागि एक सय ६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै १३६.३९ को स्ट्राइक रेटमा कुल दुई हजार दुई सय ७५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १३ वटा अर्धशतक प्रहार गरेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ९८ रन हो । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ वटा विकेट पनि लिएका छन् । उनले देशका लागि टेस्ट क्रिकेट भने खेलेनन् ।

हेनरिक क्लासेन
दक्षिण अफ्रिकाका चर्चित विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले पनि सन् २०२५ को जुनमा अप्रत्यासित रुपमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर विश्वभरका थुप्रै क्रिकेटप्रेमीलाई चकित बनाए ।
३४ वर्षीय क्लासेनले टेस्ट क्रिकेटबाट भने सन् २०२४ को जनवरीमै सन्न्यास लिइसकेका थिए । सन् २०२५ मा उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका हुन् ।
क्लासेनले दक्षिण अफ्रिकाका लागि चार टेस्टमा कुल एक सय चार रन बनाएका छन् । उनले ६० एकदिवसीय अन्तर्राष्ट्रियमा कुल दुई हजार एक सय ४१ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ७४ रन हो । उनले ५८ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार रन बनाएका छन् । यसक्रममा उनले पाँच अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने ८१ रन हो ।
यसका अतिरिक्त, क्लासेनले टेस्ट क्रिकेटमा दुई स्टम्पिङ र १० क्याच, एकदिवसीय अन्तर्राष्ट्रियमा सात स्टम्पिङ र ५१ क्याच तथा टी–२० अन्तर्राष्ट्रियमा पाँच स्टम्पिङ र ३३ क्याच लिएका छन् ।
मोहम्मद महमुदुल्लाह
बंगलादेशका प्रभावशाली ब्याट्सम्यान मोहम्मद महमुदुल्लाहले पनि सन् २०२५ मा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनले टेस्टबाट सन् २०२१ र टी–२० अन्तर्राष्ट्रियबाट सन् २०२४ मा सन्न्यास लिएका थिए ।
३९ वर्षीय महमुदुल्लाहले सन् २०२५ मा एकदिवसीय अन्तर्राष्ट्रियबाट पनि सन्न्यासको घोषणा गरे । उनी बंगलादेशका लागि चार सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
महमुदुल्लाहले ५० टेस्टमा कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । यसक्रममा उनले पाँच शतक र १६ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय ५० रन हो ।
यसैगरी, उनले दुई सय ३९ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार ६ सय ८९ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय २८ रन हो ।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियमा एक सय ४१ खेल खेल्दै कुल दुई हजार चार सय ४४ रन बनाएका छन् । यसक्रममा उनले आठ अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।
प्रभावशाली अलराउन्डर महमुदुल्लाहले बलिङतर्फ पनि टेस्टमा ४३, एकदिवसीय अन्तर्राष्ट्रियमा ८२ र टी–२० अन्तर्राष्ट्रियमा ४१ विकेट लिएका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि ११ हजारभन्दा बढी रन र एक सय ५० भन्दा बढी विकेट लिने खेलाडी हुन् ।
स्टिभ स्मिथ
अस्ट्रेलियाका चर्चित क्रिकेटर स्टिभ स्मिथले पनि सन् २०२५ को मार्चमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियन टोली भारतसँग हारेलगत्तै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
३६ वर्षीय स्मिथ टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने अझै सक्रिय छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ७० खेल खेल्दै कुल पाँच हजार आठ सय रन बनाएका छन् ।
यसक्रममा उनले १२ शतक र ३५ अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ६४ रन हो ।
यो ढाँचाको क्रिकेटमा उनले २८ विकेट पनि लिएका छन् । उनले अस्ट्रेलियाका लागि हालसम्म १७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् ।
ग्लेन म्याक्सवेल
अस्ट्रेलियाका चर्चित ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले पनि सन् २०२५ को जुनमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै धेरै समर्थकलाई आश्चर्यमा पारे ।
३७ वर्षीय म्याक्सवेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने अझै सक्रिय छन् । उनले टेस्ट क्रिकेटबाट पनि आधिकारिक रुपमा सन्न्यास लिएका छैनन् । तर, अब उनले टेस्ट खेल्ने सम्भावना निकै कम छ ।
म्याक्सवेलले अस्ट्रेलियाका लागि एक सय ४९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल तीन हजार नौ सय ९० रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक पनि बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले चार शतक र २३ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय एक रन हो ।

यी प्रभावशाली अलराउन्डरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४० रन खर्चिएर चार विकेट हो ।
उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध खेलेको पाली सायदै कुनै क्रिकेटप्रेमीले भुल्न सक्ला । त्यही खेलमा उनले अविजित दुई सय एक रन बनाउँदै अस्ट्रेलियालाई अविश्वासिलो जित दिलाएका थिए ।
त्यही विश्वकपमा उनले नेदरल्यान्ड्सविरुद्ध केवल ४० बलमा शतक बनाएका थिए । यो एकदिवसीय विश्वकपमा कुनै पनि खेलाडीले सबैभन्दा कम बलमा बनाएको शतक हो ।
त्यसअघि सन् २०१५ को एकदिवसीय विश्वकपमा उनले नै श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए । सन् २०१५ र सन् २०२३ को विश्वकपको उपाधि अस्ट्रेलियाले नै जितेको थियो ।
मार्कस स्टोइनिस
अस्ट्रेलियाका अर्का प्रभावशाली ब्याटिङ अलराउन्डर मार्कस स्टोइनिसले पनि सन् २०२५ को फेब्रुअरीमा अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । उनले च्याम्पियन्स ट्रफीभन्दा ठीकअघि सन्न्यासको घोषणा गरेका थिए ।
३६ वर्षीय स्टोइनिसले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्न एकदिवसीयबाट सन्न्यास लिएको बताएका थिए । उनले अस्ट्रेलियाका लागि ७१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक हजार चार सय ९५ रन बनाएका छन् ।
यसक्रममा उनले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४६ रन हो । उनले यो ढाँचाको क्रिकेटमा ४८ विकेट पनि हात पारेका छन् । बलिङमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर तीन विकेट हो ।
मुशफिकुर रहिम
बंगलादेशका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान मुशफिकुर रहिमले सन् २०२५ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । ३८ वर्षीय मुशफिकुर रहिम बंगलादेशका लागि १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् ।
मुशफिकुर रहिमले देशका लागि दुई सय ७४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल सात हजार सात सय ९५ रन बनाएका छन् । यसक्रममा उनले नौ शतक र ४९ अर्धशतक पनि बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ४४ रन हो ।
यसका अतिरिक्त, उनले एक सय टेस्टमा कुल ६ हजार पाँच सय १० र एक सय दुई टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार पाँच सय रन बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा विकेटकिपरको भूमिकामा ५६ स्टम्पिङ र दुई सय ४३ क्याच पनि लिएका छन् ।
एन्जेलो म्याथ्यूज
श्रीलंकाका चर्चित अलराउन्डर एन्जेलो म्याथ्यूजले पनि सन् २०२५ मै टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । ३८ वर्षीय ब्याटिङ अलराउन्डर एन्जेलो म्याथ्यूज श्रीलंकाका लागि १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् ।
एन्जेलो म्याथ्यूजले श्रीलंकाका लागि एक सय १९ टेस्ट खेल्दै कुल आठ हजार दुई सय १४ रन बनाएका छन् । यसक्रममा उनले १६ शतक र ४५ अर्धशतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा दोहोरो शतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित दुई सय रन हो ।
एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटमा ३३ विकेट पनि लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४४ रन खर्चिएर चार विकेट हो । उनले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच हजार नौ सय १६ र टी–२० अन्तर्राष्ट्रियमा एक हजार चार सय १६ रन बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सयभन्दा बढी विकेट लिएका छन् ।

आसिफ अली
चर्चित पाकिस्तानी क्रिकेटर आसिफ अलीले पनि सन् २०२५ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३४ वर्षीय आसिफ अली पाकिस्तानी टोलीमा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान थिए ।
आसिफ अलीले पाकिस्तानका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले २१ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल तीन सय ८२ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले तीनवटा अर्धशतक बनाएका छन् ।
यसैगरी, उनले ५८ टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ७७ रन बनाएका छन् । उनले पाकिस्तानी टोलीबाट टेस्ट क्रिकेट भने खेलेनन् ।
मिचेल स्टार्क
अस्ट्रेलियाका चर्चित खेलाडी मिचेल स्टार्कले पनि सन् २०२५ को सेप्टेम्बरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनले टेस्ट क्रिकेट र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्न टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको बताए ।
३५ वर्षीय मिचेल स्टार्कले देशका लागि ६५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनी अस्ट्रेलियालाई टी–२० विश्वकपको उपाधि चुमाउने टोलीका सदस्य पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७९ विकेट लिएका छन् ।
इशान्त शर्मा
चर्चित भारतीय क्रिकेटर इशान्त शर्माले पनि सन् २०२५ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरे । उनले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
३७ वर्षीय प्रभावशाली बलर इशान्त शर्माले भारतीय टोलीका लागि १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल आठ विकेट लिएका छन् ।
अग्ला कदका मध्यम तेज गतिका बलर इशान्तले टेस्ट क्रिकेटमा भने एक सय पाँच खेल खेल्दै कुल तीन सय ११ विकेट लिएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनको उत्कृष्ट प्रदर्शन ७४ रन दिएर सात विकेट हो ।
यसैगरी, उनले ८० एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक सय १५ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३४ रन खर्चिएर चार विकेट हो ।
अमित मिश्रा
अर्का भारतीय क्रिकेटर अमित मिश्राले पनि सन् २०२५ को सेप्टेम्बरमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे ।
४३ वर्षीय लेग–स्पिनर अमितले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले २२ टेस्टमा ७६ विकेट लिएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनले ७१ रन खर्चिएर पाँच विकेट लिएका छन् ।
यसैगरी, उनले ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा ६४ विकेट कुम्ल्याएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर ६ विकेट हो ।
उनले १० वटा टी–२० अन्तर्राष्ट्रियमा कुल १६ विकेट लिएका छन् । यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा चारवटा अर्धशतक पनि बनाएका छन् ।
पियुष चावला
चर्चित भारतीय क्रिकेटर पियुष चावलाले पनि सन् २०२५ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनले पनि भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
३७ वर्षीय स्पिन बलर पियुषले तीन टेस्टमा सात विकेट लिएका छन् । उनले २५ एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ विकेट र सात टी–२० अन्तर्राष्ट्रियमा चार विकेट लिएका छन् ।
मोहित शर्मा
भारतका अर्का मध्यम तेज गतिका बलर मोहित शर्माले पनि सन् २०२५ को डिसेम्बरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे । उनले भारतका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
३७ वर्षीय मोहित शर्माले २६ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ३१ विकेट लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा भने केवल आठ खेल खेल्दै ६ विकेट लिएका छन् ।
वरुण अरुण
तीब्र गतिका भारतीय बलर वरुण अरुणले पनि सन् २०२५ को जनवरीमा सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । उनले भारतका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
३६ वर्षीय दायाँहाते बलर वरुणले भारतका लागि नौवटा टेस्ट खेल्दै १८ वटा विकेट लिएका छन् । उनले नौवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ विकेट हात पारेका छन् । हाल उनी क्रिकेट कमेन्ट्रीमा सक्रिय छन् ।
ऋषि धवन
भारतका लागि निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अलराउन्डर ऋषि धवनले पनि सन् २०२५ को जनवरीमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे । उनले भारतका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
३५ वर्षीय ऋषि धवनले देशका लागि केवल तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एक विकेट लिएका छन् । उनले एउटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक विकेट हात पारेका छन् ।

शरद भेषावकर
अन्त्यमा, नेपालका प्रभावशाली क्रिकेट खेलाडी शरद भेषावकरले पनि सन् २०२५ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरे । ३७ वर्षीय ब्याटिङ अलराउन्डर शरदले हङकङमा सम्पन्न सुपर सिक्सेस प्रतियोगितालगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
शरदले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले । उनले चार एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ६६ रन बनाए । उनले यो ढाँचाको क्रिकेटमा एउटा अर्धशतक (५५ रन) बनाए ।
यसैगरी, उनले नेपालका लागि २० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल तीन सय २५ रन बनाए । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर ४० रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दुई विकेट पनि लिए ।