
गएको महिना रूपन्देहीको भैरहवास्थित निर्वाणा होटल परिसरमा सञ्चालित गोल्डेन स्टार क्यासिनोमा नेपाली र भारतीय ग्राहकबीच विवाद हुँदा गोली चल्यो । जबकि क्यासिनोमा नेपालीलाई प्रवेशका लागि अनुमति नै छैन । नेपाल-भारत सीमा क्षेत्र सुनौली नाकाबाट चार किलोमिटरको दूरीमा रहेको क्यासिनोका सेक्युरिटी गार्डलाई गोली प्रहार गरी भारतीय नागरिक सीमा पार गरे ।
भैरहवाकै एसियन बुद्धको एलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर (मिनी क्यासिनो)का सञ्चालकबीचको विवाद अदालतसम्म पुगेको छ । शेयर स्वामित्वको विषयलाई लिएर सञ्चालक र अध्यक्षबीचको विवाद अदालतसम्म पुगेको हो । त्यस्तै, भैरहवा क्षेत्रमा अन्य क्यासिनोमा भारतीय मदिरा, नेपालीको प्रवेश, राजस्व छली तथा सुरक्षा मापदण्ड पालना नगर्ने गरेको भेटिएको छ । साथै, स्टार लेबलका होटलमा क्यासिनो हुनुपर्ने भए पनि गेष्ट हाउसमा क्यासिनो चलाउने जस्ता बेथिति र विवाद बढ्दै गएका छन् ।
क्यासिनो नियमावली– २०८२ पालना नगरी क्यासिनो सञ्चालन भएको र मापदण्ड पालना नभएको भन्दै आवाज उठ्न थालेको हो ।
रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले निर्वाणाको क्यासिनोमा गोली चलाउने भारतीय नागरिक भएको पहिचान भए पनि पक्राउ गर्न समस्या भइरहेको बताए ।
'भारतीयले आधार कार्डका आधारमा क्यासिनोमा छिर्न पाउँछन्,' डीएसपी कार्की भन्छन्, 'प्रहरी र प्रशासनले यो विषयमा कडाइ गरेको छ । हामीले क्यासिनोबाट अवैध भारतीय मदिरा पनि बरामद गरेका छौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न दिँदैनौं ।'

केही नेपाली भारतीय अस्थायी आधार कार्ड बनाएर क्यासिनो प्रवेश गर्ने गरेको स्रोतहरू बताउँछन्, जसलाई प्रहरीले रोक्न नसक्दा क्यासिनोभित्र विवाद हुन थालेको छ । क्यासिनो नियमावलीको नीति, मापदण्ड र सर्त पालना गर्न क्यासिनो सञ्चालक गम्भीर नभएको सरोकारवालाहरू बताउँछन् ।
रुपन्देहीमा ७ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद पोखरेलले प्रशासनले सुरक्षा 'कन्सर्न' मात्र रहने बताउँछन् ।
'जिल्लाका क्यासिनोमा केही घटना भएपछि हामीले सबै क्यासिनो सञ्चालकलाई बोलाएर छलफल गराएका छौं,' प्रजिअ पोखरेलले भने, 'नीति नियमको पालना गरी प्रवेशमा कडाइ गर्न भनेका छौं । क्यासिनो नियमावली पर्यटन विभागले कार्यान्वयन गर्ने हो । हामीले सुरक्षाको विषयमा प्रहरीलाई निर्देश गरेका छौं । सुरक्षाको विषय चुस्त छ ।'
राजस्व अनुसन्धान कार्यालयले क्यासिनोलाई पत्राचार गरेर विभिन्न ९ बुँदामा विवरण मगाएर अनुसन्धान गरिरहेको छ । राजस्व चुहावट कसुर–नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले आर्थिक वर्ष २०८१/०८२ देखि चालु वर्षको विवरण पेश गर्न राजस्व अनुसन्धानले क्यासिनोले कुन प्रकारको इजाजत प्राप्त गरेको हो र अहिले भइरहेको खेलको विवरण, क्यासिनो नियमावली, नगद र वित्तीय कारोबारको विवरण, आकस्मिक लाभकर दाखिलाको विवरण, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ–छैन भन्ने विवरण, सीसीटीभी क्यामेराको अभिलेख कम्तीमा ६ महिनासम्म राख्नुपर्ने नियम पालना भए/नभएको र गत आर्थिक वर्षको करचुक्ता तथा चालु आर्थिक वर्षको इजाजतपत्र नवीकरणको विवरण पेश गर्न भनेको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राधेश्याम दाहाल क्यासिनोका कागजात मगाएर अनुसन्धान भइरहेको बताउँछन् । 'करचुक्ता, इजाजत नवीकरण, अन्त:शुल्क लगाएका विषयसहित कागजात मगाएका थियौं,' दाहालले भने, 'केहीको अनुसन्धान गरिसकेका छौं, केही गर्दैछौं । सबै हेरेपछि जानकारी आउँछ ।'

क्यासिनोले नेपाली प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरूको विवरण इन्ट्री नगर्ने गरेको पाइएको छ । क्यासिनोमा ग्राहक प्रवेश गर्दा गेटमा डिटेक्टर मशिनले जाँच गर्नुपर्ने हुन्छ, तर एक दुईवटा क्यासिनोले यो मापदण्ड पालना गरे पनि अधिकांशले पालना गरेका छैनन् । प्रशासनले क्यासिनो सञ्चालकले सीसीटीभी फुटेज माग गर्दा नदिने गरेको गुनासो छ ।
अनुसार जिल्लाका मिनी क्यासिनोले नियमविपरीत टेबल राखेर जुवा खेलाइरहेको पाइएको छ । क्यासिनो नियमावली– २०८२ अनुसार 'ठूला क्यासिनोले हातले तास, चिप्स वा क्वाइनको वितरण गरी डिलर वा स्पिनरको सहयोगमा मेसिनलाई हातैले घुमाएर खेलाइने खेल र आधुनिक मशिन वा विद्युतीय उपकरणको माध्यमबाट खेलाइने खेल दुवैको व्यवस्था भएको सम्झिनुपर्छ,' उल्लेख गरेको छ ।
साना क्यासिनो भन्नाले आधुनिक मशिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेल खेलाइने क्यासिनो सम्झिनुपर्छ भनेर उल्लेख छ । पर्यटन विभागको टोली पनि रुपन्देही र आसपास रहेका क्यासिनो अनुगमनमा आएको थियो । भैरहवाका पर्यटन व्यवसायीका अनुसार अनुगमन टोलीले एक दिन भैरहवामा बिताएपछि कपिलवस्तुको चन्द्रौटास्थित क्यासिनो अनुगमनका लागि पुगेको थियो ।
व्यवसायीका अनुसार यसरी आउने अनुगमन समितिले मिनी क्यासिनोले टेबल राखेर जुवा खेलाइरहेको नजरअन्दाज गरेको बताउँछन् । रुपन्देहीमा निर्वाणामा सञ्चालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा सञ्चालित सिद्धार्थ ग्यामिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् ।

जिल्लामा मिनी क्यासिनो मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा सञ्चालित ग्याम्बलिङ ग्यालेक्सी, एसियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र भैरहवा गार्डेन रिसोर्टमा सञ्चालित छन् । रुपन्देहीमा टाइगर प्यालेस बाई सोल्टीमा मात्रै ठूलो क्यासिनो सञ्चालित छ ।
होटल व्यवसायीहरूले पनि क्यासिनोमा गोली चल्ने अवस्था अब फेरि दोहोरिन नहुने भन्दै त्यसतर्फ प्रशासनलाई सचेत गराउँदै आएका छन् । पर्यटन विभागले क्यासिनोका सञ्चालकसित आवश्यक जानकारी लिने र अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले क्यासिनोमा नेपाली प्रवेशको विषय र आफूहरूले महिना–महिनामा मागेको रिपोर्ट उपलब्ध गराउन नसकेको बताए ।
'हामीले १२ बुँदे परिपत्र गरेका छौं' अवस्थीले भने, 'ऐन बाहिर गएर चलाएको भेटिए खारेज पनि गर्नेछौं । त्यसका लागि अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, पर्यटन विभाग र प्रधानमन्त्री कार्यालयसहितको टीम रहने अनुगमन गर्दै छौं । सँगै अब नयाँ नियमावली पनि आउँदै छ ।'
स्थलगत अनुगमनपछि तयार गरिने प्रतिवेदनका आधारमा क्यासिनोमाथि कारबाही गरिने विभागले जनाएको छ । सँगै, २० जना बाउन्सर राख्न समेत भन्दै आएको छ । विशेषगरी भारतका कतिपय ठूला खेलाडीहरू समेत सीमा क्षेत्रका क्यासिनोमा आउने गर्छन् ।