०७ साउन २०८३, बिहीबार
२०२५ मा विश्व क्रिकेटमा रचिएको इतिहास

टम लाथम र डेभोन कनवेको दुर्लभ कीर्तिमानदेखि मिचेल स्टार्कको कमालसम्म

पुस १४, २०८२
काठमाडौं
टम लाथम र डेभोन कनवेको दुर्लभ कीर्तिमानदेखि मिचेल स्टार्कको कमालसम्म

सन् २०२५ हामीबाट बिदा हुने तयारीमा छ । यो वर्ष विश्व क्रिकेटमा केही कीर्तिमान पनि बनेका छन् । केही कीर्तिमान टेस्ट क्रिकेटमा बनेका छन् भने केही टी–२० र एकदिवसीय प्रतियोगितामा ।

विश्व टेस्ट क्रिकेटको एक सय ४८ वर्ष लामो इतिहासमा पहिलो पटक एउटा रमाइलो घटना पनि यो वर्ष भएको छ ।

कुनै खेलाडीले टी–२० क्रिकेटको एकै ओभरमा पाँच विकेट लिएर तहल्का मच्चाएका छन् भने कसैको नामसँग सबैभन्दा कम उमेरमा टी–२० शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान जोडिएको छ ।

केही खेलाडीको नामसँग त नचाहेको खराब कीर्तिमान पनि जोडिएको छ । यो वर्ष विश्व क्रिकेटमा बनेका यस्तै केही रमाइला कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।

१४८ वर्षको इतिहासमा पहिलो पटक

गत जुनमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलिएको थियो । फाइनलमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि चुमेको थियो ।

उक्त टेस्टको पहिलो पालीमा अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान उस्मान ख्वाजा शून्य रनमै आउट भएका थिए । त्यसपछि, दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान एडन मारक्रम पनि पहिलो पालीमा शून्य रनमै आउट भएका थिए ।

टेस्ट क्रिकेटको एक सय ४८ वर्ष लामो इतिहासमा दुवै टोलीका ओपनर ब्याट्सम्यान पहिलो पालीमा शून्य रनमै आउट भएको पहिलो पटक हो । ओपनर मारक्रमले दोस्रो पालीमा भने एक सय ३६ रन बनाउँदै दक्षिण अफ्रिकालाई ऐतिहासिक उपाधि दिलाएका थिए ।

टम लाथम र डेभोन कनवेको दुर्लभ कीर्तिमान

न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच डिसेम्बर १८ देखि २२ तारिखसम्म तेस्रो टेस्ट खेलिएको थियो । उक्त टेस्टको पहिलो पालीमा न्युजिल्यान्डका ओपनर ब्याट्सम्यानद्वय टम लाथम र डेभोन कनवे दुवैले शतक बनाएका थिए ।

null

पहिलो पालीमा कप्तान टम लाथमले एक सय ३७ र डेभोन केनवेले दुई सय २७ रन बनाएका थिए । न्युजिल्यान्डले आठ विकेटको नोक्सानीमा पाँच सय ७५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।

त्यसपछि, वेस्ट इन्डिजले पनि पहिलो पालीमा चार सय २० रन बनाएको थियो । लगत्तै दोस्रो पालीमा पनि न्युजिल्यान्डका ओपनर ब्याट्सम्यानद्वय टम लाथम र डेभोन कनवे दुवैले शतक बनाएका थिए । दोस्रो पालीमा टम लाथमले एक सय एक र डेभोन कनवेले एक सय रन बनाएका थिए ।

योसँगै टम लाथम र डेभोन कनवेको नाममा एउटा दुर्लभ कीर्तिमान जोडिन पुगेको थियो । टेस्ट क्रिकेटको एक सय ४८ वर्ष लामो इतिहासमा त्यसअघि एउटै टोलीका दुवै ओपनर ब्याट्सम्यानले लगातार दुवै पालीमा शतक बनाएका थिएनन् ।

उक्त खेलपछि डेभोन कनवेको नाममा अर्को कीर्तिमान पनि जोडिएको थियो । उनी एउटै टेस्टमा दोहोरो शतक र शतक बनाउने पहिलो किविज ब्याट्सम्यान बन्न पुगे । उक्त टेस्टमा न्युजिल्यान्ड तीन सय २३ रनले विजयी भएको थियो ।

null

अस्ट्रेलियन बलर मिचेल स्टार्कको कमाल

तिब्रगतिका अस्ट्रेलियन बलर मिचेल स्टार्कले सन् २०२५ मा खेलिएको टेस्ट क्रिकेटमा ५३ विकेट लिइसकेका छन् । उनले ११ टेस्टको २१ पालीमा २८.३० को स्ट्राइक रेटसहित यो विकेट लिएका हुन् ।

यो उपलब्धिसँगै मिचेल स्टार्कले टेस्ट क्रिकेटमा एकै वर्ष सर्वोत्कृष्ट स्ट्राइक रेटसहित सर्वाधिक विकेट लिने बलरको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । यो कीर्तिमान यसअघि पाकिस्तानी खेलाडी वकार युनिसको नाममा थियो ।

वकार युनिसले सन् १९९३ मा २९.५ को स्ट्राइक रेटसहित एकै वर्ष ५५ टेस्ट विकेट लिएका थिए । टेस्ट क्रिकेटको एक सय ४८ वर्ष लामो इतिहासमा मिचेल स्टार्क र वकास युनिसले मात्र एक वर्षमा ३० भन्दा कमको स्ट्राइक रेटसहित ५० भन्दा बढी विकेट लिएका छन् ।

इङ्ल्यान्डका बलर जर्ज लोहमनले सन् १८८६ मा १८ भन्दा कमको स्ट्राइक रेटमा एकै वर्ष ३८ टेस्ट विकेट लिएका थिए । तर, उनले त्यो वर्ष टेस्ट विकेटको संख्या ५० पुर्‍याउन सकेका थिएनन् । त्यसैले यो कीर्तिमान मिचेल स्टार्क र वकार युनिसको नाममा जोडिएको हो ।

टेस्ट क्रिकेटमा सबैभन्दा कम बलमा पाँच विकेट

सन् २०२५ को जुलाईमा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच तेस्रो टेस्ट खेलिएको थियो । उक्त टेस्टमा अस्ट्रेलियाका तिब्रगतिका बलर मिचेल स्टार्कले सबैभन्दा कम बलमा पाँच विकेट लिने बलरको कीर्तिमान बनाएका थिए ।

स्टार्कले आफूले फालेको १५ बलमा पाँच विकेट लिएका थिए । मिचेल स्टार्कको घातक बलिङका कारण वेस्ट इन्डिजको टोली दोस्रो पालीमा केवल २७ रनमा अलआउट भएको थियो । स्टार्कले दोस्रो पालीमा ७.३ ओभरमा चार मेडनसहित केवल नौ रन खर्चिएर ६ विकेट लिएका थिए ।

सबैभन्दा कम उमेरमा टी–२० शतक

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन् २०२५ को अप्रिल २८ तारिखमा राजस्थान रोयल्सका ब्याट्सम्यान वैभव सूर्यवंशीले शतक बनाए । योसँगै उनी टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी बन्न पुगे ।

null

उक्त खेलमा गुजरातविरुद्ध शतक बनाउँदा सूर्यवंशीको उमेर केवल १४ वर्ष ३२ दिनमात्र पुगेको थियो । उनले केवल ३५ बलमा आफ्नो शतक पूरा गरेका थिए । उनले बनाएको शतक आईपीएलको इतिहासमा कुनै पनि भारतीय ब्याट्सम्यानले सबैभन्दा कम बलमा बनाएको शतक पनि हो ।

विराटले तोडे सचिनको कीर्तिमान

भारतीय ब्याट्सम्यान विराट कोहलीले सन् २०२५ को नोभेम्बर २९ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ३५ रन बनाए । त्यो शतकसँगै उनको नामसँग एउटा गतिलो कीर्तिमान जोडिन पुग्यो ।

त्यो शतकपछि विराट कोहली एउटै ढाँचाको क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने ब्याट्सम्यान बन्न पुगे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटले बनाएको त्यो ५२ औं शतक थियो । यसअघि उक्त कीर्तिमान भारतकै महान खेलाडी सचिन तेन्दुल्करको नाममा थियो ।

सचिनले टेस्ट क्रिकेटमा ५१ वटा शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको उक्त खेलमा विराटले सचिनको नाममा रहेको त्यही कीर्तिमान तोडेका हुन् । अहिले विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतकको संख्या ५३ पुर्‍याइसकेका छन् । 

यसैगरी, विराट कोहलीले यो वर्ष सचिनको अर्को कीर्तिमान पनि तोडे । विराट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने ब्याट्सम्यान बने । विराटले दुई सय ८७ पालीमा यो उपलब्धि हासिल गरेका हुन् । सचिनले यो उपलब्धि तीन सय ५० खेलमा हासिल गरेका थिए ।

null

पाकिस्तानको नाममा सबैभन्दा बढी जित

पाकिस्तानी सिनियर क्रिकेट टोलीले सन् २०२५ मा कुनै ठूलो प्रतियोगिताको उपाधि जित्न सकेन । तर, पाकिस्तानी टोलीले सबैभन्दा बढी जितको कीर्तिमान भने आफ्नो नाममा पारेको छ । पाकिस्तानी टोलीले टी–२० क्रिकेटमा यो कीर्तिमान बनाएको हो ।

पाकिस्तानी टोलीले सन् २०२५ मा ३४ वटा टी–२० प्रतियोगिता खेल्यो । त्यसमध्ये पाकिस्तानी टोलीले २१ खेलमा जित हासिल गर्‍यो । यो उपलब्धिसँगै पाकिस्तानी टोली टी–२० क्रिकेटमा एकै वर्ष सबैभन्दा बढी जित हासिल गर्ने टोली (टेस्ट मान्यताप्राप्त राष्ट्रमध्ये) बन्न पुग्यो ।

ज्याकब डफीले तोडे ४० वर्ष पुरानो कीर्तिमान

न्युजिल्यान्डका बलर ज्याक डफी आफ्नो देशका लागि एक वर्षमा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन् । उनले रिचर्ड हेड्लीको नाममा रहेको ४० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । ३१ वर्षीय तीब्र गतिका बलर ज्याक डफीले सन् २०२५ मा कुल ८१ अन्तर्राष्ट्रिय विकेट लिए ।

यो वर्ष सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट (तीनवटै ढाँचाको क्रिकेट) लिने विश्वभरका बलरको सूचीमा पनि उनी पहिलो स्थानमा आसिन छन् । उनले ३६ खेलमा ८१ विकेट लिएका हुन् ।

इन्डोनेसियाका बलरको कमाल

अन्तर्राष्ट्रिय क्रिकेटमा निकै कम सुनिने नाम हो, इन्डोनेसिया । तर, सन् २०२५ मा इन्डोनेसियाका एक बलरले गजबको कीर्तिमान बनाए । यस्तो कीर्तिमान बनाउने बलर हुन्, २८ वर्षीय गेदे प्रियान्दाना ।

प्रियान्दानाले कम्बोडियाविरुद्ध खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन् । यसअघि, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि बलरले एकै ओभरमा पाँच विकेट लिन सकेको थिएन ।

‘लिस्ट ए’ क्रिकेटमा इतिहास रच्ने सूर्यवंशी

भारतीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले ‘लिस्ट ए’ क्रिकेटमा इतिहास रचेका छन् । उनले दक्षिण अफ्रिकी स्टार खेलाडी एबी डे भिलियर्सको १० वर्ष पुरानो कीर्तिमान पनि तोडे । भारतको चर्चित घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा बिहारबाट खेलेका बैभवले अरुणाञ्चल प्रदेशविरुद्ध यस्तो कीर्तिमान बनाएका हुन् ।

उक्त खेलमा बिहारका उप–कप्तान सूर्यवंशीले ‘लिस्ट ए’ क्रिकेटकै सर्वाधिक एकल रन बनाए । बायाँहाते ब्याट्सम्यान सूर्यवंशीले केवल ८४ बलमा एक सय ९० रन बनाए । उनले २२६ भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका थिए ।

यसक्रममा सूर्यवंशीले १५ छक्का र १६ चौका पनि हिर्काए । उनी ‘लिस्ट ए’ क्रिकेटमा सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने खेलाडी पनि बन्न पुगे । यो कीर्तिमान यसअघि डे भिलियर्सको नाममा थियो ।

डे भिलियर्सले सन् २०१५ मा खेलिएको पुरुष एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध केवल ६४ बलमा एक सय ५० रन बनाएका थिए । सूर्यवंशीले भने केवल ५४ बलमा एक सय ५० रन पूरा गरे । उनले शतक भने केवल ३६ बलमा पूरा गरेका थिए ।

उनी ‘लिस्ट ए’ क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि बने । शतक बनाउँदा उनको उमेर १४ वर्ष दुई सय ७२ दिन पुगेको थियो । उनी ‘लिस्ट ए’ क्रिकेटमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि बने । पञ्जाबका अनमोलप्रित सिंहले ३५ बलमा शतक बनाएका छन् ।

जो रुटले पछि पारे राहुल द्रविडलाई

इङ्ल्यान्ड क्रिकेट टोलीको बलियो खम्बा हुन्, जो रुट । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । यसका अतिरिक्त, ३४ वर्षीय रुट कमालका फिल्डर पनि हुन् । उनले यो वर्ष टेस्ट क्रिकेटमा एउटा कीर्तिमान बनाएका छन् ।

जो रुट विश्व टेस्ट क्रिकेटमा सबैभन्दा बढी क्याच लिने फिल्डर बनेका छन् । उनी भारतका पूर्वकप्तान राहुल द्रविडलाई पछि पार्दै सर्वाधिक क्याच लिने फिल्डरको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । वर्षको अन्त्यतिर आइपुग्दासम्म रुटले टेस्ट क्रिकेटमा दुई सय १६ क्याच लिइसकेका छन् ।

द्रविडले भने टेस्ट क्रिकेटमा दुई सय १० क्याच लिएका थिए । यही वर्ष द्रविडलाई तेस्रो स्थानमा झार्दै अस्ट्रेलियाका स्टिभ स्मिथ पनि टेस्ट क्रिकेटमा सर्वाधिक क्याच लिने फिल्डरको सूचिमा दोस्रो स्थानमा उक्लिएका छन् । स्मिथले दुई सय १२ क्याच लिएका छन् ।

वसिम अकरमको कीर्तिमान तोडे मिचेल स्टार्कले

अस्ट्रेलियाका प्रभावशाली तीब्र गतिका बलर मिचेल स्टार्कले पनि यो वर्ष एउटा रमाइलो कीर्तिमान आफ्नो नाममा पारेका छन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बायाँहाते तीब्र गतिका बलर बनेका छन् ।

null

यसअघि, यो कीर्तिमान पाकिस्तानका पूर्वखेलाडी वसिम अकरमको नाममा थियो । मिचेल स्टार्कले आफ्नो टेस्ट विकेट सँख्या चार सय २७ पूर्‍याएका छन् । वसिम अकरमले भने आफ्नो सक्रिय खेलजीवनमा टेस्ट क्रिकेटमा चार सय १४ विकेट लिएका थिए ।

इङ्ल्यान्डले जब इतिहास रच्यो

इङ्ल्यान्डको क्रिकेट टोलीले यो वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण कीर्तिमान बनाएको छ । इङ्ल्यान्डको टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा आफ्नो प्रतिद्वन्द्वीलाई सबैभन्दा ठूलो रनअन्तरले हराउने टोली बनेको छ ।

इङ्ल्यान्डले सन् २०२५ को सेप्टेम्बर ७ तारिखमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई तीन सय ४२ रनको विशाल अन्तरले हरायो । उक्त खेलमा इङ्ल्यान्डले चार सय १५ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ७२ रनमात्र बनाउन सक्यो ।

त्यसअघि, यो कीर्तिमान भारतको नाममा रहेको थियो । भारतले सन् २०२३ को जनवरी १५ तारिखमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा श्रीलंकालाई तीन सय १७ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

null

अफगानिस्तानका जदरानले उछिने बेन डकेटलाई

अफगानिस्तानका चर्चित खेलाडी इब्राहिम जदरानले पनि यो वर्ष एउटा कीर्तिमान आफ्नो नाममा पारे । उनी च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यान बने । उनले सन् २०२५ को च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डविरुद्ध एक सय ७७ रन बनाए ।

यसअघि, यो कीर्तिमान इङ्ल्यान्डका ब्याट्सम्यान बेन डकेटको नाममा थियो । बेन डकेटले च्याम्पियन्स ट्रफीमा एक सय ६५ रन बनाएका थिए । अब जदरान आईसीसी च्याम्पियन्स ट्रफीको एउटै खेलमा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

महिला क्रिकेटमा चम्किएकी स्मृति मन्धाना

भारतकी चर्चित खेलाडी स्मृति मन्धानाले पनि यो वर्ष एउटा कीर्तिमान बनाइन् । उनले महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएकी हुन् । उनी महिला एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो पाँच हजार रन पूरा गर्ने खेलाडी बनिन् ।

स्मृति मन्धानाले एकदिवसीय क्रिकेटका एक सय १२ पालीमा पाँच हजार रनको कोशेढुङ्गा पार गरेकी हुन् । यसअघि यो कीर्तिमान स्टेफनी टेलरको नाममा थियो । स्टेफनीले एक सय २९ पालीमा पाँच हजार रन पूरा गरेकी थिइन् ।

वेस्ट इन्डिजको नाममा नचाहेको कीर्तिमान

null

सन् २०२५ मा विश्व क्रिकेटमा केही यस्ता कीर्तिमान पनि बनेका छन्, जुन कीर्तिमान कुनै पनि खेलाडी वा टोलीले आफ्नो नामसँग जोडियोस् भन्ने चाहँदैन । यो वर्षको जुलाई १२ तारिखमा वेस्ट इन्डिज र अस्ट्रेलियाबीच टेस्ट क्रिकेट खेलिएको थियो ।

उक्त टेस्टमा वेस्ट इन्डिजको टोली केवल २७ रनमा अलआउट हुन पुग्यो । विश्व टेस्ट क्रिकेटको इतिहासमै यो दोस्रो कम योगफल हो । यसअघि, सन् १९५५ को मार्च २५ तारिखमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको टोली २६ रनमै अलआउट भएको थियो ।

कमेन्ट गर्नुहोस्